बाजुरा ः बडीमालिका नगरपालिका-७ मा रहेको धार्मिक तथा पर्यटकीय स्थल कालाजग्रामा देवीको मुर्ति राखिएको छ । टाइगर हिलका नामले चिनिने बाजुराको धार्मिक तथा पर्यटकीय स्थल कालाजग्रामा बडीमालिका नगरपालिका-७ को आर्थिक सहयोग र स्थानीयको सक्रियतामा आइतबार मुर्ति स्थापना गरिएको हो ।
कालाजग्राको थप पर्यटन, प्रबद्र्धन गर्न तथा दर्शन गर्ने दर्शनार्थीलाई पूजाआजा गर्न सजिलो होस् भन्ने उदेश्यका साथ देवीको मुर्ति स्थापना गरिएको वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् । उनले वडाको करिब ३ लाख ५० हजारको लागतमा धनगढीबाट खरिद गरेर मुर्ति स्थापना गरेको बताए ।
ढम्कने पदमार्ग हुँदै कालाजग्रासम्म सन्देश लेख्ने कार्य सम्पन्न गरे पश्चात् देवीको समेत मुर्ति स्थापना गरिएको हो । स्थापना गरिएको मुर्ति करिब ७५ देखि ८० किलोको रहेको छ ।
धार्मिक तथा पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको कालाजग्रामा बडीमालिका ७ नम्बर वडा तथा बडीमालिका नगरपालिकाको समन्वय, सहकार्य तथा सहयोगमा पदमार्ग, (भ्युटावर) पूर्वाधार निर्माण, कालाजग्रा पर्यटन पर्बद्धन, वातावरण संरक्षण लगायत विभिन्न जानकारी प्रदान गर्ने सन्देश लेख्ने कार्य गरी पर्यटन प्रबद्र्धनमा टेवा पुर्याईएको अध्यक्ष पाध्यायको भनाई रहेको छ ।
प्रतिक्रिया