बाजुरा ः जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले विद्यालयहरु मानिसको जीवन निर्माण गर्ने भट्टी भएको बताएका छन् । गौमुल गाउँपालिका-६ बसालामा रहेको घटाल आधारभूत विद्यालयले आयोजना गरेको विजया दशमी तथा शुभदीपावलीको पावन अवसरमा शुभकामना आदान प्रदान तथा बृहत् साँस्कृतिक कार्यक्रमको सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
विद्यालय मानवरुपी योद्धाहरु तयार गर्न सकिने भट्टी भएको बताउदै कलाकार, उद्योगी, समाजको नेतृत्व गर्ने नेता, समाजलाई काँधमा राख्ने कर्मचारी, शिक्षक, खेलाडी उत्पादन गर्न सकिने भएकोले राप, ताप र तिखो बनाउन सकेको खण्डमा बलियो औजार तथा शस्त्रको रुपमा प्रयोग हुन सक्ने उल्लेख गरेका छन् ।
शिक्षाबिना मानव पशुतुल्य हुने भएकोले शैक्षिक गुणस्तर सुधार गर्नका लागि प्रशासकले लिएको लक्ष्य र उद्देश्य अनुरुपमा अरु शिक्षक तल्लीन हुन् जरुरी रहेको जिकिर गरेका छन् । कार्यक्रममा बोल्दै गौमुल गाउँपालिका ६ का वडा अध्यक्ष प्रकाश रोकायाले विद्यालय तथा शिक्षा क्षेत्र ज्ञानको भण्डार मात्र होईन, संस्कार र अनुशासन, सिर्जनशीलताको आधार समेत भएको बताएका छन् ।
शैक्षिक गुणस्तर सुधारका लागि बढी भूमिका अभिभावकको रहनेमा जोड दिदै विद्यालय केवल पाठ्यक्रम पढाउने थलो नभई व्यक्तित्व विकासको शिलशिला पनि भएको धारणा राखेका छन् ।
उक्त कार्यक्रममा रेडियो गौमुलका स्टेशन प्रबन्धक रमित विक, सूर्येदय बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष श्याम रोकाया, सिमधारा लघुजविद्युत आयोजना उपभोक्ता समितिका अध्यक्ष कलक रोकाया लगायतले शुभकामना मन्तव्य राखेका थिए ।





प्रतिक्रिया