सुनसरी : लगातारको वर्षापछि सप्तकोसी नदीको जलसतह जोखिमपूर्ण स्तरमा पुगेको छ । आइतबार बिहानसम्म सप्तकोसी ब्यारेजका सबै ढोका ५६ वटै खोलिएका छन् । नदीमा प्रतिसेकेन्ड ४ लाख ३१ हजार ५२५ क्युसेक पानीको बहाव पुगेको सुनसरीका प्रहरी प्रमुख एसपी केशवकुमार थेबेले जानकारी दिए ।
उच्च बहावका कारण कोशी ब्यारेज क्षेत्र आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । ब्यारेजमा सवारी साधन सञ्चालनमा समेत विशेष सावधानी अपनाइएको प्रहरीले जनाएको छ ।
एसपी थेबेका अनुसार हाल ब्यारेजमा एकपटकमा एउटा मात्र सवारी साधन आवतजावत गर्न अनुमति दिइएको छ । कोशी नदीको जलसतह बढ्दै जाँदा तटीय क्षेत्रमा बाढीको जोखिम उच्च बनेको छ । प्रशासनले स्थानीय बासिन्दालाई आवश्यक सावधानी अपनाउन र सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया