बाजुरा ः संगम स्मृति युवा क्लबको आयोजनामा सम्पन्न महिला तथा पुरुष खुला भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि दाजुभाइ युवा क्लब गर्जेले जितेको छ । गौमुल गाउँपालिका-६ सटेडामा गठित क्लबले साविकको वडा स्तरीय भलिबल प्रतियोगीता आयोजना गरेको थियो ।
दहकोट युवा क्लबलाई ४ अंकको अन्तरले पराजित गर्दै उपाधि आफ्नो पोल्टोमा पारेको हो । कडा प्रतिस्पर्धामा सम्पन्न फाइनल खेलमा दहकोट युवा क्लब उपविजेता बन्न पुगेको हो । पुरुषतर्फको तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा आयोजक संगम युवा क्लबले अम्लिस युवा क्लबलाई हराउँदै तेस्रो स्थानमा चित्त बुझाएको छ ।
महिला समूहको प्रतियोगितामा एसबीए युवा क्लब अम्लिसले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको छ । उपविजेता स्थानमा सोही क्षेत्रको अम्लिस युवा क्लब रहँदा, तेस्रो स्थान साईनिङ युवा क्लब बसालाले प्राप्त गरेको छ । प्रतियोगितामा पुरुषतर्फ १७ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको थियो ।
सम्पूर्ण खेलहरू नकआउट प्रणालीमा सञ्चालन गरिएका थियो । प्रतियोगितामा पुरुषतर्फ प्रथम पुरस्कार नगद रु २१,१२१, दोस्रो पुरस्कार रु ११,१२१ र तृतीय पुरस्कार रु ५,५२१ रहेको छ । महिलातर्फ प्रथम पुरस्कार रु ५,५२१, दोस्रो पुरस्कार रु ३,५२१ र तृतीय पुरस्कार रु २,१२१ राखिएको छ ।
खेल संयोजक दलबहादुर रोकायाका अनुसार प्रतियोगिताको उद्देश्य स्थानीय खेल प्रतिभाहरूको पहिचान, प्रोत्साहन तथा आपसी सद्भाव सुदृढ गर्नु रहेको बताएका छन् । प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद विकासमा सकारात्मक योगदान पु¥याउने विश्वास आयोजकको रहेको क्लबका सचिव सुरेन्द्र कुमार रोकायाले बताएका छन् ।
प्रतिक्रिया