बाजुरा ः विजया दशमीको अवसरमा गौमुल गाउँपालिका-६ सटेडामा रहेको संगम स्मृति युवा क्लबले आयोजना खुला भलिबल प्रतियोगिता दोस्रो दिन पनि उत्साहपूर्वक सम्पन्न भएको छ । संगम स्मृति युवा क्लबको आयोजनामा सञ्चालित प्रतियोगितामा महिला तथा पुरुष तर्फका खेलहरू जारी रहेका छन् ।
दोस्रो दिन सम्पन्न पुरुषतर्फका खेलहरूमध्ये जेनजी युवा क्लब मानाकोटले बसाला युवा क्लबलाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । त्यस्तै, टाँडाकोट युवा क्लबले संगम ‘बी’ क्लबलाई पराजित गरेको छ भने दहकोट युवा क्लबले संगम ‘सी’ लाई हराएको छ ।
खेलमा संगम ‘डी’ क्लबले नवयुग युवा क्लबलाई पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ । मल्लोदुगुनले कौडाकोट युवा क्लबलाई पराजित गर्दा दाजुभाई गर्जेले तल्लोदुगुन माथि जित हासिल गरेको छ । जेनजी र बडीमालिका घाँगरबीच भएको प्रतिस्पर्धामा जेनजी विजयी भएको छ ।
महिलातर्फको खेलमा एसबीए अम्लिसले मैमातोलालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । साईनिङ र एसबीए अम्लिसबीच भएको अर्को खेलमा पनि एसबीए अम्लिस विजयी भएको हो । साईनिङ युवा क्लब बसाला महिलातर्फ तृतीय स्थान हाँसिल गर्न सफल भएको छ ।
फाइनल खेलमा एसबीए अम्लिस र अम्लिस युवा क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ १७ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ । खेलहरू नकआउट प्रणालीमा सञ्चालन गरिएको हो ।
आईतबार फाइनल खेल सहित सांस्कृतिक कार्यक्रम
आयोजकका अनुसार बाँकी खेलहरू आईतबार बिहान ७ बजेदेखि सुरु हुनेछन् । फाइनल खेलहरू सम्पन्न भएपछि विविध सांस्कृतिक कार्यक्रम, डेउडा नाच तथा स्थानीय कलाकारहरूको प्रस्तुति समेत आयोजना गरिने जानकारी क्लबका सचिव सुरेन्द्र कुमार रोकायाले दिएका छन् ।
पुरस्कार राशी
प्रतियोगितामा पुरुषतर्फ प्रथम पुरस्कार नगद रु २१,१२१, दोस्रो पुरस्कार रु ११,१२१ र तृतीय पुरस्कार रु ५,५२१ रहेको छ। महिलातर्फ प्रथम पुरस्कार रु ५,५२१, दोस्रो पुरस्कार रु ३,५२१ र तृतीय पुरस्कार रु २,१२१ राखिएको छ । खेल संयोजक दलबहादुर रोकायाका अनुसार प्रतियोगिता खेल मार्फत स्थानीय खेल प्रतिभाहरूको प्रोत्साहन र आपसी सद्भाव सुदृढ गर्ने उद्देश्य राखिएको छ ।
प्रतिक्रिया