बाजुरा : दशैँ–तिहार नजिकिएसंगै रोजगारीका लागि भारत लगायतका देश तथा शहरमा गएका बाजुराका स्थानीय गाउँ फर्किन थालेका छन् । रोजगारी खोज्दै बाहिरिएका उनीहरु चाँडपर्व नजिकिएपछि घर फर्किन थालेका हुन् ।
विशेष गरी अन्य चाँडपर्वमा घर नफर्किनेहरु समेत दशैँ मनाउँनका लागि घर फर्किने गर्छन् । बाजुराका अधिकांश स्थानीय सिजनल खेती लगाएर पैसा कमाउन काम खोज्दै नेपाल र छिमेकी देश भारतका विभिन्न शहरमा जाने गर्छन् ।
रोजगारीको अभावका कारण बर्खे खेति लगाएर भारत जाने र असार मंसिरमा खेती लगाउँने समयमा तथा चाँ डपर्वका बेला गाउँ फर्किने परम्परा यहाँ पुराना पुस्तादेखि चलिआएको हो ।
रोजगारीका लागि भारत र पढाईको सिलसिलामा काठमाण्डौं, धनगढी, मार्तडी लगायतका शहरहरुबाट धमाधम गाउँ फर्किन थालेपछि यतिबेला गाउँमा चहल पहल पनि बढ्दै गएको छ । गौमुल गाउँपालिका–६ का हर्क विकले गाउँमा रोजागरीको अभावका कारण भारतमा जानुपर्ने बाध्यता रहेको बताएका छन् ।
आर्थिक अभावकै कारण पछिल्ला वर्षहरुमा गाउँबस्ती खाली हुँदै गएका उनको भनाई छ । बाजुरा जिल्लाका ९ वटै स्थानीय तहका धेरै स्थानीय रोजगारीकै कारण बारिरिनु पर्ने बाध्य छन् ।
यतिबेला चाँडपर्व मनाउँन घर फर्किएका बाजुराबासी चाडपर्व सकिएपछि रोजगारीकै लागि फेरी भारत लगायतका देश तथा शहरमा जाने गर्छन् । भने दशैँतिहारमा भरिएका गाउँहरु उही पुरानो अवस्थामा फर्किन्छन् । यसको मुख्य कारण भनेकै आर्थिक अभाव र रोजगारी नहुनु हो ।
सुदूरपश्चिम तथा भेरी यातायात व्यवसाय समितिका प्रतिनिधी धन बहादुर रोकायाका अनुसार यसअघि खाली आउने बस सदरमुकाम मार्तडीमा, हिजो आज १० देखि ११ बसमा भरिभराउ यात्रु आउने गरेका छन् ।
जिल्लामा कति मानिस भित्रिन्छन् र कतिको संख्यामा बाहिरिन्छन् भन्ने एकीन विवरण भने अहिलेसम्म कुनैपनि निकायले संकलन गरी राख्न सकेको छैन् । यता बाजुराका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलले जिल्ला आगमन हुने सिमा नाका धेरै ठाउँमा रहेकाले जिल्ला भित्रिनेको तथ्याङ्क राख्न नसकिएको बताएका छन् ।
प्रतिक्रिया