काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले नेपालको लोकतन्त्र, गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा युवाको काँधमै अडिएको बताएका छन् ।
भक्तपुरको गुण्डुस्थित निवासमा भेट्न पुगेका युवा तथा विद्यार्थीलाई सम्बोधन गर्दै उनले नेपाल अरू देशले भिसासमेत नदिने बदनाम स्थितिमा पुगिसकेको बताए ।
उनले भने, ‘नेपालीलाई अहिले भिसा नदिने भइसके, काम नदिने अवस्था भइसक्यो । नेपाल बदनाम अवस्थामा छ ।’ उनले नेपाल इमानदार र कर्मठ मानिसहरूको देश रहेको भन्ने बनाउनुपर्ने बताए ।
युवाहरूले निराश नभई सक्रिय र सकारात्मक सोचसहित अघि बढ्नुपर्ने ओलीको भनाइ थियो । ‘यो देश हाम्रो हो हामीले बनाउनुपर्छ । अहिले कसले जलायो थाहा छैन ।
देश र इतिहासलाई माया गर्ने मान्छेले पक्कै सिंहदरबार जलाएन । अरू नै कुनै घुसपैठ गर्ने तत्त्वहरूले जलाएका हुन्’ उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गर्दै भने, ‘जो पहिल्यैदेखि भन्दै थिए सिंहदरबार जलाउँछु भनेर । योजनाबद्ध काम हो यो ।
यस्तो कुरा हामीले बुझ्नुपर्छ ।’ कठिन परिस्थितिमा पनि हरेस नखाई संघर्षमा अघि बढ्न र बाह्य हस्तक्षेप र षड्यन्त्रलाई बुझेर, दृढतापूर्वक राष्ट्रिय हितमा अडिन उनको निर्देशन थियो ।
प्रतिक्रिया