गाैमुल खबर डटकम मङ्गलबार १८, कार्तिक २०८२ ०१:२६

मुग्लिन-नारायणगढ सडक नखुल्ने

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
शनिबार, असोज ०४, २०८२
मुग्लिन-नारायणगढ सडक नखुल्ने

काठमाडौं : चितवनको इच्छाकामना गाउँपालिकाको तुइन खोलामा ठूलो पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडकखण्डमा दुई तर्फी आवागमन अवरुद्ध भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ इच्छाकामना गाउँपालिकाको तुइन खोला भन्ने स्थानमा माथिबाट ठूलो पहिरो खसेको हो ।

दिउँसो देखिनै लगातार हल्का वर्षा भएको त्यस क्षेत्रमा साँझ भीर नै सडकमा खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । ठूलो पहिरो खसेकाले तत्काल पन्छाउन नसकिने देखिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले बताए ।

उनका अनुसार शुक्रबार साँझ सवा ७ बजेतिर तुइनखोलामा पहिरो खसेपछि राजमार्गको दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा सडक अवरुद्ध हुँदा यात्रुको सडकमा बिचल्ली भएको देखिन्छ ।

‘राति पहिरो हटाएर सडक सुचारु गर्न सक्ने सम्भावना छैन, बिहान मात्रै सम्भव होला, आजलाई राजमार्ग दुईतर्फी नै अवरुद्ध छ,’ उनले भने । रातिमा काम थाल्दा माथिबाट खसेको ढुङ्गा सहितको पहिरो नदेखिने हुनाले बिहानपख मात्रै पहिरो पन्छाउने काम थाल्ने प्रहरी निरीक्षक सिंहले बताए ।

पहिरो पन्छाउन आएका जेसीबीसहितका मेसिन रात छिप्पिन थालेसँगै फर्किएका छन् । उनका अनुसार शनिबार बिहान ४ बजेपछि मात्रै पहिरो पन्छाउने कार्य थालिनेछ । अहिले राजमार्गमा प्रहरीले माइकिङ गरेर यथास्थानमा सुरक्षित बस्न सवारी चालक र यात्रुहरूलाई आग्रह गरिरहेको उनले बताए ।

काठमाडौं र पोखराबाट चितवनतर्फ जाने सवारी साधन रोकिँदा तुइनखोलाभन्दा केही वरदेखि मुग्लिन बजारसम्मै सवारी साधनको जाम लागेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले नारायणगढतिरबाट मुग्लिनतिर आउन लागेका र काठमाडौं तथा पोखरातिरबाट नारायणगढतर्फ जान लागेका सवारी साधनलाई सुरक्षित स्थानमा रोकिन आग्रह गरेको छ ।

प्रतिक्रिया