गाैमुल खबर डटकम शनिबार ०३, साउन २०८२ १०:५७

ठुलीसाँघुमा पक्की पुल अलपत्र, बडीमालिकाद्धारा काठेपुल निर्माण

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, साउन ०१, २०८२
ठुलीसाँघुमा पक्की पुल अलपत्र, बडीमालिकाद्धारा काठेपुल निर्माण

बाजुरा ः सदरमुकाम मार्तडी पुग्न बाउली खोली पार गरेरै आउनु पर्छ । कोल्टी क्षेत्रका चार वटा स्थानीय तहले होस्, की बडीमालिका नगरपालिकाका १, २ र ३ सहीत गौमुल र खप्तड छेडेदह गाउँपालिकाबाट आउनेहरुले पनि बाउली खोला पार गर्नैपर्छ । तर दुबै तिरबाट आउनेका लागि वर्षादमा पुलहोस् कि साँघु त्यो बाहेक अर्को विकल्प छैन् ।

बाउलीमा पनि पुल निर्माणको ठेक्का परेको चार वर्ष बितिसक्यो भने, ठूलीसाँघु स्थित बाउली खोलामा पनि तीनवर्ष बितिसकेको छ । तर दुबै तिरका ठेकेदार निर्माण कार्य अलपत्र पारेर फरार छन् । कोल्टी क्षेत्रबाट आउनेहरुका लागि पुरानै पुल छँदैछ । आउन जान सहज नै भइरहेको छ ।

तर ठुलीसाँघुको पुल भत्काएर नयाँ निर्माणको जिम्मा लिएको ठेकेदार फरार भएपछि आवत जावत नै ठप्प बन्यो । आउने जाने यात्रुहरुका लागि समेत बाउली खोलाको जोखिमपूर्ण यात्रा बाहेक अर्को विकल्प रहेन् । प्रहरी प्रशासनदेखि राजनीति दल सबै ठेकेदार खोज्न र निर्माण गर्न दबाबमै लागे, तर ३ महिनादेखि ठेकेदार सम्पर्कमा आएका छैनन् ।

असारसम्म वारपारका लागि काठेपुल नै भएपनि निर्माण गर्ने र पक्की पुल आगामी वर्षभित्र बनाइसक्ने वचन सहित भएको पुल भत्काएर डिकोवल बिल्डर्स प्रा.लि.टंगालका प्रमुखसहित कोही प्रतिनिधि पनि सम्पर्कमा छैनन् । कम्पनीले नै अलपत्र अवस्थामा छोडेर गएको पुलमा काठेसाँघु निर्माण गरिएको छ ।

बडीमालिका नगरपालिकाले आफ्नै पहलमा काठेसाँघु निर्माण गरेको हो । आउन जानै मुस्कील भएको र गौमुल गाउँपालिका सिंगो सदरमुकामसँग सम्पर्क बाहिर हुने अवस्था आएपछि पक्की पुल नबनेसम्मका लागि काठेसाँघु निर्माण गरिएको नगर प्रमुख अमर खड्काले बताएका छन् ।

पछि निर्माण कम्पनीबाटै असुल्ने वा अर्को कुनै योजना मार्फत खर्च जुटाउने शर्तमा पालिकाले आफ्नै लागतमा साँघु निर्माण गरेको हो । पुल भत्काएर थालेको निर्माण गति देखेर स्थानीय खुसी भएका थिए । तर अन्तिममा आएर ठेकेदार नै फरार भएपछि त्यो खुसी निराशामा परिणत भएको छ ।

गौमुलको सिंगो पालिका, बडीमालिकाकै १, २ र ३ नम्बर वडा र खप्तड छेडेदह गाउँपालिकाका केही वडाको प्रमुख सम्पर्क बाटो हो, ठुलीसाँघु पुल । त्यसैमा बडीमालिका नगरपालिका ९ सदरमुकाम रहेकै वडाको उखाडी, चौराटा टोलका स्थानीय पनि त्यहीँ पुलको प्रयोग गरी आवत जावत गर्ने गरेका छन् ।

बाउली खोलामा असोजसम्म सहज वारपार गर्न सक्ने अवस्था हुदैन् । पुल निर्माणका लागि १६ करोड २१ लाखमा सम्झौता गरिएको थियो । महाकाली पुल योजना कार्यालयका अनुसार ठेकेदारलाई ६ पटक पत्राचार गर्दा पनि बेवास्ता गरेको छ ।

प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या सहित नगर प्रमुख र दलका नेताहरुले समेत ठेकेदारलाई सम्पर्क गरेका थिए । पुल निर्माणका लागि २०७७ फाुगन १० गते भ्याटसहित डिकोवल बिल्डर्स प्रा.लि.का प्रमुख होमनाथ कोइरालाले सम्झौता गरेका थिए । पुल ३० मिटर लम्बाई र ११ मिटर चौडाइमा निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

उक्त पुल निर्माण पछि तीन वटा स्थानीय तह र छिमेकी जिल्ला बझाङ्गसँग सडक सञ्जालमा जोडिने छ । वर्षेनी वर्षाद्को समयमा सास्ती खेप्दै आएका नागरिकहरु यो वर्ष थप समस्यामा परेका थिए । नागरिकलाई सास्ती भएपछि नगरपालिकामाथि आलोचना बढेको थियो । स्थानीयले काठेपुल समेत निर्माण गर्न नसकेको आक्रोश पोखेका थिए ।

पालिकाले हप्तादिन लगाएर काठेसाँघु तयार पारेर तत्कालका लागि सहज बनाएको छ । मोटरसाइकललाई समेत काठेसाँघु निर्माणपछि सहज भएको छ । महाकाली पुल योजना महेन्द्रनगरले ३ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी २०७७ फागुन १० गते सम्झौता गरेको थियो । सम्झौता अनुसार २०८१ फागुन ९ गते निर्माण सम्पन्न गर्ने रहेको थियो । तर तीन वर्ष समय सक्दा पनि थोरै काम बाहेक केही काम हुन सकेको छैन् ।

प्रतिक्रिया