बाजुरा ः बाजुराको बडीमालिका नगरपालिका-८ र ६ को सिमामा अवस्थित वीरेखोला झरनाको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धनका लागि विशेष लाइभ डेउडा कार्यक्रम आयोजना हुने भएको छ।
स्थानीय लोकसंस्कृति संरक्षण र आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी साउन १ गते बिहीबार, डेउडीया विष्णा विष्ट र पुनी दानीबीच झरनामा लाइभ देउडा हुने कार्यक्रम तय गरिएको हो। कार्यक्रमको जानकारी बडीमालिका नगरपालिकाका उप-प्रमुख नन्दा कुमारी थापाले दिएकी हुन्।
उनका अनुसार, देउडा कार्यक्रम बडीमालिका नगरपालिका, सामुदायिक विकास कार्यालय बाजुरा तथा वडा नं. ६ र ८ को समन्वयमा आयोजना गरिँदैछ। कार्यक्रममा स्थानीय मौलिक पहिरनमा सजिएर सहभागीता जनाउने व्यवस्था गरिएको छ।
पुरुषहरूले दाउरा-सुरुवा, कोट र महिलाहरूले मखमली रातो चोली, कटन धोती र सेतो पटुकीमा सजिएर डेउडामा नाचगान प्रस्तुत गर्नेछन्। डेउडा भाग लिने सबैलाई मौलिक पहिरनमा उपस्थित हुन आयोजकले अनुरोध गरेको छ।
बाजुरा सदरमुकाम मार्तडीबाट ६ किलोमिटरको दूरीमा अवस्थित वीरेखोला झरना पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटकहरूको गन्तव्य बन्दै आएको छ। विशेषगरी असारदेखि कात्तिकसम्म यो झरनामा घुम्न आउनेहरूको सङ्ख्या बढ्दो छ। कार्यक्रमले झरनाको थप प्रवर्द्धन हुने आयोजकहरूको विश्वास छ।
प्रतिक्रिया