बाजुरा : जिल्ला अस्पताल बाजुरामा ओ.पी.डी. सेवा बन्द गरिएको छ। अस्पताल प्रशासनले एक सूचना जारी गर्दै नेपाल चिकित्सक संघको निर्णय अनुसार सोमबारदेखि ओ.पी.डी. सेवा बन्द गरिएको जानकारी दिएको छ।
जिल्ला अस्पतालका बाजुराका प्रमुख डा.चन्द्रशेखर यादवका अनुसार, उपभोक्ता अदालतले चिकित्सकीय अभ्यास सम्बन्धी पछिल्ला मुद्दामा सुनाएको फैसलाले नेपाल मेडीकल काउन्सिलको अधिकार क्षेत्रमाथि हस्तक्षेप भएको भन्दै संघले देशव्यापी आन्दोलन सुरु गरेको हाे।
सोही कारणले अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गरिएको हो। नेपाल चिकित्सक संघले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेको थियो।
आज भने आकस्मिक बाहेकका सबै सेवा स्थगित गरिएको छ। केही साता यता उपभोक्ता अदालतले उपचारमा लापरवाही भएको ठहर गर्दै विभिन्न अस्पताल र चिकित्सकमाथि क्षतिपूर्तिको फैसला गर्दै आएको छ।
अदालतले ओम अस्पताललाई ५० लाख ७० हजार, हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख, तथा ग्राण्डी सिटी अस्पताल र त्यहाँका चिकित्सकलाई ५७ लाख रुपैयाँ क्षतिपूर्ति बिरामी परिवारलाई दिनुपर्ने फैसला सुनाएको थियो।
प्रतिक्रिया