गाैमुल खबर डटकम मङ्गलबार १७, असार २०८२ ०१:१८

स्थानीय सरकार, वन कार्यालय र वन समूहबीच अन्तरक्रिया

गाैमुल खबर गाैमुल खबर
सोमबार, असार १६, २०८२
स्थानीय सरकार, वन कार्यालय र वन समूहबीच अन्तरक्रिया

बाजुरा : बाजुरामा स्थानीय सरकार, वन कार्यालय र वन समूहबीच अन्तक्रिया गरिएको छ । वन कार्यालयको आयोजनामा त्रिवेणी नगरपालिकामा सरोकारवाला निकाय परिचय तथा वन क्षेत्रबारे प्राविधिक ज्ञान प्रदान गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा स्थानीय जन प्रतिनिधिलाई संघीय वन ऐन, प्रादेशिक वन ऐन, स्थानीय सरकार सञ्चालन ऐनमा भएका वनसंग सम्बन्धित व्यवस्था, जिम्मेवारी र अधिकारहरुको बारेमा जानकारी गराएको वरिष्ठ वन अधिकृत सन्तोष ढुंगानाले बताएका छन् । 

सामुददायिक वनका उपभोक्तालाई आफ्नो वनबारे स्थानीय सरकारलाई जानकारी गारउँने,   जनप्रतिनिधि र सामुदायिक वन उपभोक्ता समितिलाई एक अर्कासंग समन्वय, सहकार्य गर्ने, नियमन तथा अनुगमन विषयमा समेत छलफल गरिएको उनले बताए ।  

वन क्षेत्रको सम्वद्र्धन तथा व्यवस्थापनमा अपनत्व जगाई उपभोक्ताहरुलाई वन व्यवस्थापन, जडिबुटी खेती तथा दिगो उपयोग गर्ने तथा स्थानिय सरकारबाट समेत वन तथा वातावरण शिर्षकमा बजेट विनियोजन गर्न प्ररित गर्ने उद्देश्य सहीत स्थानीय सरकार, वन समूह लगायत सरोकारवाला निकायसंग अन्तरक्रिया गरिएको वन अधिकृत सन्तोष ढुंगानाले बताएका छन् ।

कार्यक्रममा सहभागिहरुले वृक्षारोपण र तारबारका लागि बजेट आवश्यक रहेका बताएका छन् । कतिपय सामुदायिक वन उपभोक्ता समितिहरुले कार्ययोजना, नवीकरण, लेखा परीक्षण नगरेका र समिति समेत पूर्ण नभएकाले यसलाई सुधार गर्दै लैजानु पर्ने वडाध्यक्षहरुले बताएका थिए ।

त्रिवेणी नगरपालिकका नगर प्रमुख कर्णबहादुर थापाले सामुदायिक वन उपभोक्ता समितिको हालको अवस्था तथ्याङ्क सहीत पहिचान गरी नियमन गर्न सबैले भूमिका खेल्नुपर्ने बताएका छन् । राष्ट्रिय वनबाट संकलन हुने जडीबुटी तथा वन पैदावारको नियमन गर्न र राजश्वमा स्थानीय तहलाई जिम्मेवार बनाउँन नीति, नियम निर्माण गर्न आवश्यक समन्वय तथा बजेट निनियोजन गर्नुपर्ने उनले बताए 

अन्तरक्रिया कार्यक्रममा डिभिजन वन कार्यालय बाजुराका वरिष्ठ वन अधिकृत श्री सन्तोष ढुंगानाले वन क्षेत्रको जि.डी.पी मा योगदान पुर्याउन तथा स्थानीय तहको राजश्य वृद्धि गर्न, वन सक्षम बनाउँन सबैको सहकार्य आवश्यक रहेको बताएका छन् ।  

सामुदायिक वनलाई सक्षम बनाउन तथा दिगो रुपमा वनको संरक्षण, सम्वर्धन, व्यवस्थापन तथा सदुपयोग गर्नका लागि स्थानीय सरकार, सामुदायिक वन उपभोक्ता समिति र वन कार्यालयको समन्वय र सहकार्य अपरिहार्य बताए । 

बाजुरामा बडीमालिका, नाटयश्वरी लगायतका प्रसिद्ध क्षेत्र रहेकाले पर्यटन, जडिबुटी खेती विस्तार, वन पैदावारको  ब्रान्डिङ्ग तथा मूल्य शृखला अभिवृद्धि गर्दै प्रशस्त आम्दानीको लयमा जान सके आत्मनिर्भर बन्न सकिने उनले बताएका छन् ।

वरिष्ठ वन अधिकृत सन्तोष ढुंगानाको अध्यक्षतामा सञ्चालन भएको अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथिमा त्रिवेणी नगरपालिकका नगर प्रमुख कर्णबहादुर थापा रहनु भएको थियो । भने विशिष्ट अतिथिमा नगर उप प्रमुख कमला जैशी न्यौपाने रहेकी थिइन् ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि  प्रसाद शाह, वडाध्यक्षहरु अतिथिमा रहेका थिए । कार्यक्रममा प्रत्येक वडाबाट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तथा प्रतिनिधी, बार्जुकोट सव डिभिजन वन कार्यालयका कर्मचारीहरु लागयत २८ बढीको सहभागिता रहेको थियो ।     

प्रतिक्रिया