बाजुरा : गौमुल गाउँपालिका अन्य पालिका भन्दा दुर्गम र भौगोलिक रुपमा विकट मानिन्छ । भूबनावटका कारण गाउँहरु धेरै टाढा छन् । पालिकामा पछिल्लो समय भएको विकासले दुर्गमलाई नजिक बनाईदिएको महसुस जनताले गरेका छन् ।
गाउँमै स्वास्थ्य संस्था, विजुली बत्ती, घर घरमा खानेपानीका धारा, केही वडा तथा गाउँ बाहेक सडक पुगेपछि भौतिक विकासप्रति जनता खुशी छन् । गाउँपालिकाले अघिल्ला वर्षहरुमा पालिकाभित्रका सबै विद्यालयमा पक्की भवन निर्माण, पुलपुलेसा, गोरेटा बाटाहरु निर्माण गरिसकेपछि अहिले जनताले सडकमा बढी चासो र चिन्ता देखाएका छन् ।
गौमुल गाउँपालिकाको विहीबार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सबै वडा तथा गाउँहरुमा छिटो सडक पुर्याउनु पर्ने धारणा राखेका छन् । गाउँपालिकाका ६ वटा वडा मध्ये १ नम्बर वडामा मात्र सडक पुग्न बाकी छ । उक्त वडा जोड्ने सडक निर्माण कार्य भने जारी छ ।
भौतिक विकासप्रति सन्तुष्टि जनाउँदै अब गाउँ गाउँलाई सडक सञ्चालनमा जोड्नु पर्ने उनीहरुले माग गरेका छन् । सार्वजनिक सुनुवाई कार्यक्रममा वडा नं.१ का स्थानीयले सडक विस्तारमा किन ढिला सुस्ती भन्ने प्रश्न गरेका थिए । भने वडा नं.६ का स्थानीयले पनि घट्मुना हुँदै मल्लेख जोड्ने सडक कहिले विस्तार हुन्छ भन्ने प्रश्न गरेका थिए ।
प्रश्नको जवाफ दिँदै सार्वजनिक सुनुवाईका प्रमुख वक्ता तथा गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले १ नम्बर वडालाई जोड्ने सडक निर्माण कार्य जारी रहेको जानकारी गराउँदै चट्टानै चट्टानलाई छिचल्नु पर्ने भएकाले सडक पुर्याउन केही ढिलाई भएको प्रतिक्रिया दिए ।
उनले भने सडक निर्माण कार्यलाई तिब्रता दिन पटक पटक ठेकदारलाई ताकेता गयौंँ, तर ठेकेदारले मानेन्, छिटो सडक निर्माण नहुनु ठेकेदार नै बाधक बनेको स्पष्ट पारे । वडा नं.१ मा यो वर्षभित्र जसरी पनि सडक पुर्याउँने लक्ष्य रहेको बताए ।
पहिलो प्राथमिकरण सबै वडा कार्यालय सम्म सडक पुर्याउनु रहेकाले १ नम्बर वडामा सडक पुगेपछि शाखा सडक विस्तार कार्यलाई अगाडी बढाईने जानकारी गराएका छन् । भौगोलिक विकटताका कारण सबै काम एकै चोटी नसकिने स्पष्ट पार्दै प्राथमिकीरणका आधारमा विकास गर्दै जाने उनले बताए ।
विकासमा नागरिकको अपनत्व आवश्यक रहेको बताउँन्छन् । यो वर्षको नीति तथा कार्यक्रममा नयाँ कार्यक्रम ल्याएको जानकारी गराउँदै विशेष गरी युवाहरुलाई स्वरोजगार बनाउँने नीतिलाई अघि सारेको बताएका छन् ।
गाउँमै गुणस्तरीय र विषेशज्ञ सेवा उपलब्ध गर्न सियाङ्गामा दश शैयाको अस्पताल निर्माण कार्य सम्पन्न भएर अस्पताल सञ्चालनका लागि आवश्यक उपकरणको व्यवस्थापनसंगै गाउँको विद्युतले नधान्ने भएकाले गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न पहल भईरहेको उनको भनाइ छ ।
गाउँपालिकालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न बढाउँन वडा नं.४ मा फन पार्क निर्माणधिन अवस्थामा रहेको उनले बताए । विभिन्न गैरसरकारी संस्थासंग सहकार्य गरी खानेपानी मर्मत तथा निर्माण, आवश्यकता अनुसार झोलुङ्गे पुल निर्माण, बाटोघाटा निर्माण तथा स्तरोन्नतिको कार्यलाई निरन्तरलाई दिईदै आएको उपाध्यक्ष सीता थापाले बताएकी छन् ।
जवाफदेहिता, पारर्दशिता, जनसहभागिता, सेवाको गुणस्तरीयता, शुसासन, र विधिको शासनलाई स्थापना गर्ने उद्देश्यसहित सञ्चालन गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा आर्थिक वर्ष २०८१/२०८२ को बजेट कार्यक्रम खर्च र सेवा प्रवाहका बारेमा जानकारी गरिएको थियो ।
गाउँपालिकामा वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको प्रतिबेदन प्रस्तुत प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रसाद भट्टले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य गाउँपालिका उपाध्यक्ष सीता थापाले राख्नु भएको थियो ।
सार्वजनिक सुनुवाईको सहजीकरण भने नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका उपाध्यक्ष संगिता तिमिल्सेना र पत्रका प्रमित वि.कले गरेका थियो । वार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदनका आधारमा एवं गाउँपालिकाको सेवाको विषयमा सवाल जवाफ भएको थियो ।
गाउँपालिकाले आ.व वर्ष २०८१/८२ मा अनुमानित ३६ करोड ५६ लाख २७ हजार बजेट ल्याएको थियो । जसमध्ये कुल बजेटमा ६७ प्रतिश खर्च भएको छ । चालुतर्फ ८१ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रसाद भट्टले बताएका छन् ।
पुँजीगततर्फ ३० प्रतिशत खर्च भएको वार्षिक सार्वजनिक सुनुवाईमा उनले बताए । गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा आन्तरिक स्रोतबाट १ करोड ९० लाख राजश्व सङ्कलन गरेको जनाएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनिधी, नागरिक, राजनीतिका दलका प्रमुख तथा प्रतिनिधी, शिक्षक, पालिका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया