गाैमुल खबर डटकम शुक्रबार १३, असार २०८२ ०६:०१

खप्तड छेडेदहको गाउँसभा सम्पन्न, कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन प्राथमिकतामा

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, असार १०, २०८२
खप्तड छेडेदहको गाउँसभा सम्पन्न, कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन प्राथमिकतामा

बाजुरा :जिल्लाको खप्तड छेडेदह गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै १७औं गाउँसभा तथा अधिवेशन सम्पन्न गरेको छ। “कृषि, स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार, वन, पर्यटन, सुशासन, समृद्धि—खप्तड छेडेदहको आधार” भन्ने मूल नारासहित अधिवेशन सञ्चालन गरिएको हो।

गाउँपालिका अध्यक्ष दिलबहादुर रावत  र उपाध्यक्ष बिषु नाथको नेतृत्वमा आयोजित सभामा सातवटै वडाका अध्यक्षहरू, सदस्यहरू, महिला तथा दलित जनप्रतिनिधि, गाउँपालिका कर्मचारी र स्थानीय जनसमुदायको उल्लेखनीय सहभागिता देखिएको थियो। अधिवेशनमा आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न योजनाहरूको प्रगति विवरण प्रस्तुत गरिनुका साथै आगामी वर्षका नीति तथा कार्यक्रमहरू विस्तृत छलफलपछि सार्वजनिक गरिएको हो।

गाउँपालिकाले आगामी वर्षलाई समावेशी विकास, सामाजिक न्याय र समृद्धिको दिशामा अघि बढाउने स्पष्ट प्रतिबद्धता जनाएको छ। अधिवेशनले आठ क्षेत्रलाई विकासका आधारका रूपमा पहिचान गर्दै त्यसअनुसार कार्यक्रम तय गरेको छ। कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै उत्पादनमा वृद्धि, किसानलाई प्राविधिक सहयोग, सिंचाइ विस्तार र स्थानीय स्रोतको उपयोगमा जोड दिइनेछ। स्वास्थ्य क्षेत्रमा गाउँगाउँमा पहुँच विस्तार, सुरक्षित मातृशिशु सेवा, पोषण कार्यक्रम र नियमित खोप सुनिश्चित गरिनेछ भने शिक्षामा गुणस्तर अभिवृद्धि, प्राविधिक शिक्षाको प्रवर्द्धन र डिजिटल प्रविधिको उपयोगलाई प्राथमिकता दिइने जनाइएको छ।

यसैगरी, भौतिक पूर्वाधारतर्फ सडक, खानेपानी, पुल, बिजुली र संचार जस्ता आधारभूत संरचना विस्तार गर्ने नीति तय गरिएको छ। वन तथा वातावरण संरक्षण, जलस्रोतको संरक्षण र वातावरणमैत्री विकास मोडल पनि आगामी योजनामा समावेश गरिएको छ। पर्यटकीय सम्भावनाले भरिएको खप्तड क्षेत्रको प्रचारप्रसार, संरचना निर्माण र होमस्टे कार्यक्रममार्फत आन्तरिक तथा बाह्य पर्यटनलाई आकर्षण गरिने उल्लेख छ।

गाउँपालिकाले सुशासन र पारदर्शिता सुनिश्चित गर्न सूचना प्रवाहको सुदृढीकरण, सामाजिक लेखापरीक्षण, सार्वजनिक सुनुवाइ र अनुगमन प्रणालीलाई बलियो बनाउने घोषणा गरेको छ। समृद्धिको सन्दर्भमा रोजगारी सिर्जना, महिला सशक्तिकरण, सीपमूलक तालिम, लघुवित्तको पहुँच विस्तार र विपन्न वर्गका लागि लक्षित कार्यक्रमसमेत नीति दस्तावेजमा समेटिएका छन्।

गाउँपालिका अध्यक्ष रावतका अनुसार नीति तथा कार्यक्रम निर्माणमा वडास्तरका सरोकार, स्थानीय आवश्यकता र जनताको सुझावलाई समेटिएको छ। उनले गाउँपालिकाले समावेशी, उत्तरदायी र जनमुखी शासनमार्फत दिगो विकासको आधार निर्माण गर्दै अघि बढ्ने दृढता व्यक्त गरे।

गाउँसभा समापनका अवसरमा आयोजित सांस्कृतिक कार्यक्रमले सभालाई झनै रंगीन बनाएको थियो। स्थानीय कलाकारहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक झलकहरूले गाउँपालिकाभित्रको सांस्कृतिक विविधता र एकता झल्काएको थियो। सभाले समृद्ध र स्वावलम्बी खप्तड छेडेदह निर्माणको आधार तय गरेको भन्दै सहभागीहरूले कार्यक्रमको सराहना गरेका छन्।

प्रतिक्रिया