बाजुरा : बाजुराको गौमुल गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरको छ । गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले “आत्मनिर्भर जनता गौमुल समृद्धिको आधार, शिक्षा स्वास्थ्यमा सुधार, जडिबुटी पर्यटन प्रवद्र्धन र सहकारी मार्फत कृषिजन्य व्यपार” भन्ने नारासहित नीति सार्वजनिक गरेका हुन् ।
गाउँपालिकाकाे दाेस्राे गाउसभाकाे ७ औँ अधिवेशन मार्फत प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, सडक, पर्यटन, पूर्वधार लगायतका क्षेत्रमा सुधार ल्याउने योजनामा समेटिएको छ । नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, सडक, खानेपानीलाइ पहिलाे प्राथमिकतामा राखिएकाे छ ।
रैथाने बाली उत्पादनका लागि कृषकहरुलाई व्यवसायिककरणमा लागत साझेदारी अनुदान उपलब्ध गर्ने, वडा नं.१, २ र ३ मा आलु सिमी पकेट विकास कार्यक्रम सञ्चालन गर्ने, ६ वटै वडामा जडीबुटी विकास कार्यक्रम अन्तरगत आर्थिक वर्षमा व्यवसायिक जडीबुटि उत्पादक कृषक विस्तार कार्यक्रम सञ्चालन गर्न, मसला बाली खेती विस्तारका लागि कृषकहरुलाई सहयोग गर्न, बेसार खेती गर्ने कृषकलाई अनुदान उपलब्ध गराईने नीति लिएको छ ।
प्राङगारिक खेती विस्तारका लागि कृषक पाठशाला कार्यक्रम स्थानीय स्तरमा कृषकहरुको बारीमा प्राविधिक नीति तथा अबलम्बन गरी कृषक पाठशाला सञ्चालन गरिने भएको छ । स्थानी भेडा च्याङ्ग्रा पालक कृषकहरुलाई व्यवसायिक बनाउँन अनुदान कार्यक्रम सञ्चालन गरिने, गाउँपालिका स्तरीय कृषि उपज बस्तुको संकलन गरी बजारिकण गर्न संकलन केन्द्र स्तरोन्नति गर्ने नीति लिईएको छ ।
त्यस्तै वडा नं.६ को दडीपाटामा लिफ्ट सिचाई योजना निर्माण गरी खेतीयोग्य जमिनमा सिचाई योजना पुर्याईने, हरेक वडामा आवश्यक अनुसार हेलीप्याड निर्माण गरिने, अल्लो खेती विस्तारका लागि कृषक सहयोग कार्यक्रम सञ्चालन गरिने छ । भने आवश्यकताका आधारमा हरेक वडाका टोलहरुमा कुटानी पिसानी मिल स्थापन तथा मर्मत गर्ने कार्यलाई तिरन्तरता दिईने भएको छ ।
अध्यक्ष उद्यमशिलता स्वरोजगार कार्यक्रम लागु गरिने, गाउँपालिकाले तयार गरेको रोजगार रणनीतिले लिएको रणनीतिक स्तम्भहरुको आधारमा प्रस्तावित कार्यक्रमहरु कार्यन्वय गर्ने लक्ष्य लिएको अध्यक्ष हरि बहादुर रोकायाले बताएका छन् ।
बाजुरा क्याम्पसमा अध्ययनरत गौमुल गाउँपालिकाका विद्यार्थीलाई छात्रवृत्ति र निशुल्क लोकसेवा आयोग कक्षा सञ्चालन गरिने भएको छ । गौमुलकी छोरी माध्यमिक शिक्षा पश्च्यात रोजगारी कार्यक्रम सञ्चालन गरिने, स्थानीय स्वरोजगारीको सुनिश्चिता अभियान सञ्चालन गरिने, दश शैया अस्पतालमा विद्युत जडान गरी स्वास्थ्य सेवा सञ्चालन गरिने, एक वडा एक प्रस्तुति गृह सञ्चालनका लागि पूर्वधार निर्माण गरिने भएको छ ।
खानेपानी निर्माण तथा स्तरोन्नति गरिने, हरेक विद्यालयमा अपाङ्गमैत्री शौचालय निमार्ण गरिने, बालमैत्री वडा घोषण कार्यक्रम सञ्चालन गरिने, पालिका तथा वडास्तरी खेलमैदान निर्माण तथा मर्मत गरिने, गाउँपालिकामा खानेपानीको पहुँच पुर्याउन एक घर एक धाराको अवधारणालाई अबलम्ब गर्ने, प्रत्येक स्वास्थ्य तथा विद्यालयसम्म सडकका नयाँ ट्रयाक खोल्ने तथा मर्मत गरिने, घट्मुना गौमुल सडक निर्माणलाई पालिका गौरवको योजन अन्र्तगत पहिला प्राथमिकतामा राखि निर्माण गरिने भएको छ ।
त्यसैगरी गाउँपालिकाको एकीकृत पालिका प्रोफाइल तयार गरी सबै शाखाको छुट्टा छुट्टै तथ्याङ्क संकल तथा व्यवस्थापन अद्यावधिक गर्ने प्रणालीको विकास गरिने नीति लिईएको छ । अधिवेशनमा आर्थिक वर्ष २०८२/८३ का लागि ३९ करोड ५८ लाख ६२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
बजेटमध्ये २९ करोड ५१ लाख ८८ हजार रुपैयाँ चालू खर्चतर्फ र १० करोड ३३ लाख ७४ हजार रुपैयाँ पुँजीगत खर्चतर्फ विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष सीता थापाले बताएकी छन् ।
गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाको अध्यक्षतामा सञ्चालन भएको सभामा उपाध्यक्ष सीता थापाले आर्थिक वर्ष २०८२/८३ का लागि बिनियोजित बजेट प्रस्तुत गर्नुभएको थियो । अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रसाद भट्ट, ६ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, पालिका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।





प्रतिक्रिया