गाैमुल खबर डटकम शुक्रबार ३०, जेठ २०८२ ०३:५७

शान्ता चौधरीको संघर्ष, अचार र गुन्द्रक तालिम दिन पुगिन् बाजुरा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, जेठ २८, २०८२
शान्ता चौधरीको संघर्ष, अचार र गुन्द्रक तालिम दिन पुगिन् बाजुरा

बाजुरा ः शान्ता चौधरी पेशाले राजनीतिक कर्मी हुन् । १० वर्षे कमलरी जीवनबाट पाएको मुक्ति उनको जीवनको नयाँ अध्याय हो । संविधान सभाको सदस्यदेखि सदनमा प्रमुख सचेतक सम्मको जिम्मेवारीले उनी सदा चर्चामा आइरहीन् ।

उनी जति राजनीतिक भूमिका र जिम्मेवारीले चर्चामा छिन्, त्यो भन्दा बढी संघर्षको जीवन र व्यक्तिगत कामले पनि चर्चित बनाइ राखेको छ । सुरुमा कमलरी जीवन कथाले शान्तालाई चर्चामा ल्यायो ।

त्यो पछि प्राप्त राजनीतिक जिम्मेवारी र सामाजिक जीवनको भूमिकाले सबैलाई चिनायो । र अहिले शान्ताको अचारको चर्चा झन चुलिँदो छ । आफ्नै नामको अचार ब्राण्ड बनाएकी छन्, शान्ताले । उनलाई राजनीतिक जीवन जत्तीकै व्यस्तता अचार उद्योगमा पनि देखिन्छ ।

उनले उद्योगलाई उत्पादन, विक्री र नाफासँग मात्रै जोडेकी छैनन् । सीप हस्तान्त्रण गर्ने र सिकाई आदान प्रदान गर्ने स्कुलका रुपमा शान्ताको अचार उद्योगलाई विकास गर्न चाहिन्छन् । उनको देश दौडाह राजनीतिक कामसँगै महिला उद्यमी बढाउने उदेश्य राखेर हुने गरेको छ ।

त्यही शिलशिलमा शान्ता यतिबेला बाजुरामा छिन् । उनको पार्टीको काम र भेटघाट केही छैन् । राजनीतिक भूगोल दाङ हो । उनी नेकपा एमालेकी पोलिटव्यूरो सदस्य हुन् । तर बाजुरा बसाइ उत्पादनको राजनीति केन्द्रीत छ । उद्यम विकास र महिला उद्यमी बढाउन बाजुरा आएकी हुन् ।

त्यो पनि १० दिनको तालिमको प्रशिक्षक बनेर । तालिम बडीमालिका नगरपालिकाले आयोजना गरेको हो । जहाँ ६० जना महिला उद्यमी सहभागि छन् । सहभागी मध्ये ४० जना बडीमालिकाका र बाँकी २० जना खप्तड छेडेदह गाउँपालिका, गौमुल र बुढीनन्दा नगरपालिकाका छन् ।

तालिकाका लागि पालिकाले १० लाख बराबरको लगानी खर्च हुने उद्यमविकास शाखा प्रमुख रञ्जीता शाहीले बताइन् । तालिममा अचार तथा गुन्द्रक मसेउरा बनाउन सिकाइने प्रमुख प्रशिक्षक शान्ता चौधरीले बनाइन् । उनी बिहान देखि साँझसम्म दिनभर तालिम दिइरहेकी छन् ।

कच्चा पदार्थ खोज्ने, काट्ने, मसला मिलाउने र आधारभूत ज्ञान दिने त्यसैमा दिन जान्छ, उनी भन्छिन् । फोन समेत उठाउन पाइदैन्, महिलादिदीबहिनीहरुसँगै हुन्छु । सबैजना योग्य बनाएर फर्किने चाहना अनुसार नै खटनपटन बेसी गर्नु परेको हो, उनले भनिन् ।

राजनीतिक कामको शिलशिलामा बाजुरा आउँदा अचारको कच्चा बस्तु धेरै उत्पादन भएको देखेँ, र लगत्तै नगर प्रमुख अमर खड्का जीसँग सहकार्य गर्न प्रस्ताव गरेको दुई महिनामै तालिम सञ्चालन गरिएको शान्ताले बताइन् । बाजुरामा मुला, चोतो, टिमुर, पीडालु, खुर्सानी, लसुन, अदुवा, तामा, निगाला लगायत दर्जन बढी प्रकारको अचार उत्पादनको संभावना देखिन्छ ।

बजारमा बस्ने अधिकांश महिलाहरु खाली नै देखिनु हुन्छ । रोजगार नभएकाहरुलाई लक्षित गरेर उद्यमी महिला बढाउने र उनीहरुलाई आयआर्जनमा सहभागि गराउने उदेश्य सहीत तालिम आयोजना गरिएको नगर उपप्रमुख नन्दा कुमारी थापाले बताइन् ।

कम श्रम, थोरै लगानीबाट पनि राम्रो आम्दानी गर्न सकिने पेशामा महिलाहरुले गर्न सके राम्रो हुने विश्वास थापाको छ । अचार ब्राण्डले नै विश्व बजारमा चर्चा पाएको शान्ताको अचार उद्योगसँग बाजुरालाई जोड्न तालिम आयोजना गरिएको नगर प्रमुख अमर खड्काले बताए । कच्चा पदार्थ धेरै छ ।

त्यसैलाई प्रसोधन सहीत बाजुरामै पनि उत्पादन सहीत प्याक गरेर पठाउन सकियो, नभए शान्ताको अचार उद्योगसँग सहकार्य गरेर कच्चा पदार्थ विक्री बजारको लिंक गर्न शान्ता चौधरीलाई नै ल्याएर तालिम सञ्चालन गरिएको हो, राम्रो हुने विश्वास लिएका छौं, नगर प्रमुख खड्काले भने ।

कमलरी बसेका मान्छे राज्यको नीति बनाउने ठाउँ पुग्न सक्छन् । राम्रो उत्पादनले विश्व बजारमा आफु विक्न सक्छन्, भन्ने सिकाइका लागि पनि शान्ता जीको उपस्थिति अनुकरणीय हुने विश्वास खड्काको छ । कच्चा पदार्थ उत्पादन किसान गर्छन्, बजार र विक्री ग्यारेन्टीको ग्यारेन्टी पालिकाले नै गरेर खाली बस्ने महिलाहरुलाई उद्यमी बनाउने पालिकाको उदेश्य पुरा हुन्छ,उनले भने ।

शान्ताको अचार उद्योगसँग जोडिन सके बाजुराको उत्पादनको बजारिकरणमा सहज हुने विश्वास बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम माझीको छ । जिरोबाट हिरो भएको नाम हो, शान्ता चौधरी । उनका कर्म र काम, साधना र संघर्ष अरुका लागि सिक्न लायक छन् । त्यो यहाँका महिलाले पनि सिकुन भन्ने चाहनाले तालिम आयोजना गरेको उनले बताए । सहभागि पनि उत्साहीत छन् ।

टेलिभिजनमा देखेको मान्छेलाई भेटाएकोमा मख्ख देखिएका उनीहरुले सांसद, माननीय पनि काम गर्ने रहेछन् । सबै सीप जानेका हुने रैछन् । भन्ने प्रेरणा पाएकोमा खुसी देखिन्छन् । बडीमालिका पनि तालिमलाई बहुउपयोगी बनाउने योजनामा छ । कम्तिमा पाँच प्रकारको अचार र मसेउरा सहीतको गुन्द्रक बाजुरामै उत्पादन गर्ने लक्ष्यमा पालिका छ ।

दिनभर टिकटक र मोबाइलमा बस्न हुनेहरुका लागि सुनौलो अवसर पनि हो, यसलाई उत्पादनसँग जोड्नु पर्ने सुझाव शान्ताको अचार उद्योगको छ । तालिम दिन शान्ता सहीत थप तीन जना प्राविधिक पनि साथमा छन् । २ सिफ्टमा तालिम सञ्चालन भइरहेको छ ।

उत्पादन मात्रै गर्न सके प्रचार र बजारीकरण सामाजिक सञ्जालबाटै हुने विश्वास प्रशिक्षकको छ । शान्ताले पनि सुरुमा घरमा बनाएको आचारको फोटो भिडियो सामाजिक सञ्जालमा राखेकी थिइन् । त्यहीबाट एकपछि अर्को माग आयो । र उनले त्यही मागलाई सवोधन गर्न अचार उद्योग खोलिन् ।

उद्योगको नाम हो, ‘शान्ताको अचार’  उद्योग खोलेको पनि २ वर्ष मात्रै भयो । ३५ जना कामदार छन् । करोड बढीको लगानी छ । अझै नाम र दामले उद्योगको क्षेत्र विस्तारको योजना शान्तासँग छ । उनको उद्योगको अचार अमेरिका देखि अष्टे«लिया, युरोपदेखि चीनसम्म पनि पुगेको छ ।

त्यसमा पनि सबैभन्दा बढी अमेरिकामा जान्छ, उनी भन्छिन् । विश्वका सबै बजारमा हाम्रो ब्राण्ड पुर्याउने लक्ष्य छ । हामी त्यही अभियानमा छौं । सहभागि ६० जना मध्ये १० जना जतिले मात्रै व्यवसायीक उद्यम सुरु गरे ठूलो सफलता हुने शान्ता बताउँछिन् ।

उनले हालसम्म हजारको संख्यालाई तालिम दिइसकेकी छन् । सबैभन्दा बढी दाङ, बाँके बर्दीयाका महिलाहरुलाई दिएकी हुन् । ती मध्ये पनि ५० बढीले व्यवसायीक अचार उद्योग नै खोलिसकेको र केही त्यो काममा निरन्तर लागि परेको उनको भनाई छ ।

पालिकाको प्रयास र शान्ता चौधरीको सिकाइले महिलाहरुमा केही गर्ने जोश आउने विश्वास गरिएको छ । सानै लगानीमा उद्यम क्षेत्रका लागि ठुलो जनशक्ति उत्पादन गर्न सकिने उदारण यो तालिम बन्ने देखिन्छ । तालिम बडीमालिका नगरपालिकाको सभा हल मार्तडीमा सञ्चालन भइरहेको छ । 

प्रतिक्रिया