बाजुरा : बाजुरामा पालिका स्तरको लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य सञ्जालको समीक्षा सम्पन्न भएको छ । हाल सञ्चालित कार्यक्रमहरुको समीक्षा र आगामी योजनाको बारेमा छलफल गरिएको हो ।
युएनएफपीए नबौं देशिय कार्यक्रमको साँझेदारी र पीसविन नेपालद्धारा सञ्चालित लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य कार्यक्रम अन्र्तगत समीक्षा गरिएको शसक्त महिला समृद्ध नेपालका पालिका अधिकृत कृष्ण बोहराले जानकारी दिएका छन् ।
लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिवृद्धि गरी समुदायको सुदृढिकरणमा थप सहयोग पुर्याउन विभिन्न व्यक्तित्वसंग छलफल गरिएको उनले बताए । हानिकारक मुल्य मान्यतालाई अन्त्य गर्न, महिलालाई आर्थिक शसक्तिकरणमा जोड दिन र उनीहरुको नेतृत्व विकासमा थप टेवा पुर्याउने उद्देश्यका साथ जिम्मेवार व्यक्तिसंग छलफल गरिएको पीसविन नेपालका कार्यक्रम प्रवन्धक धर्म बहादुर रोकायाले बताएका छन् ।
समीक्षामा हालसम्म गरिएका गतिविधी सार्वजनिक, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण जेसी सीहाईपी बारे जानकारी र आगामी आर्थिक वर्षको कार्य योजनाको बारेमा समेत छलफल गरिएको उनले बताए । आगामीक आर्थिक वर्षको बजेटमा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिर्काका लागि पालिका र वडाहरुसंग आवश्यक बजेट छुट्याउनका लागि पैरवी गर्ने विषयमा पनि छलफल गरिएको उनले बताएका छन् ।
शसक्त महिला समृद्ध नेपाल कार्यक्रममा युनिसेफ, आईएलो, युएनओमन, युएनएफपीएले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गर्दै आईरहेका छन् । यसमा युएनएफपीएको सहयोगमा पीसविन नेपालद्धारा जिल्लामा लैङ्गिक हिंसा रोकथाम अन्त्य गर्नका लागि विगत केही वर्षदेखि सञ्चालनमा रहेको छ ।
समुदाय स्तरमा पैरवी र क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्य गर्दै हिंसा प्रभावितलाई अवसरहरू प्रदान गरी सुरक्षित र समावेशी वातावरण निर्माण गर्दै आईरहेको छ ।
त्यस्तै लामो समयदेखि बडीमालिका नगरपालिकाका ३ वटा वडा २, ३ र ७ का मावि विद्यालयमा रुपान्तरण कक्ष सञ्चालन, वडाहरुमा विभिन्न पारिवारिक संवाद, अन्तर पुस्ता संवाद, समाजिक अगुवा तथा धामी झाक्रीसंग संवाद, सामुदायिक संस्था र विव्यसंग अनुशिक्षण, शिक्षकलाई क्षमता विकास सीएसई सम्बन्धी तालिम प्रदान लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
पालिका स्तरको लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य सञ्जालका संयोजक कल्पना साउँदको अध्यक्षतामा सञ्चालन भएको समीक्षाको प्रमुख अतिथि बडीमालिका नगरपालिका उप-प्रमुख नन्दा थापा रहनुभएको थियो ।
कार्यक्रममा वडा नं.२ का वडाध्यक्ष डम्बर महत, ३ का डबल बहादुर रोकाया, बडीमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख रंगमल विक, महिला तथा बालबालिका शाखाका केशरी रोकाय, महिला सेलकी पुष्पा गिरी, वडा नं.७ की वडा सचिव सरिता ठकुल्ला लगायत सञ्जालका सदस्य विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधीको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया