काठमाडौं : पत्रकार दिलभूषण पाठकले समाचार सामग्री प्रशारण गरेकै आधारमा सरकारले जबरजस्ती गर्न खोजेको बताएका छन् । त्यसलाई रोक्न आवश्यक कदम चाल्न सञ्चारसम्बद्ध निकायलाई उनले अनुरोध पनि गरेका छन् ।
पाठकले प्रेस काउन्सिल र पत्रकार महासंघलाई ‘जानकारी तथा सहयोगको अपेक्षा सहित’ इमेलबाट पत्र पठाएका हुन् । प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा उनीविरुद्ध उजुरीका परेको आधारमा प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएको थियो ।
त्यसबारेमा सम्बन्धित निकायले आफूलाई खबर नगरेको पाठकले पत्रमा लेखेका छन् । प्रशारित सामग्रीमा असहमति, गुनासो वा फरक मत भएमा सबैभन्दा पहिला आफूसँग, यसमा पनि चित्त नबुझेमा प्रेस काउन्सिलमा उजुरी गर्नुपर्ने गर्ने वैधानिक बाटो रहेको पाठकले पत्रमा लेखेका छन् ।
प्रेस काउन्सिलले अनुसन्धान तथा छानबिन गर्नुपर्ने कानुनी व्यवस्था रहँदा रहँदै विद्युतीय अपराध ऐन आकर्षित गर्न खोजिएको भन्दै पाठकले आपत्ति जनाएका छन् । ‘फौजदारी कानुन मार्फत कारबाही गर्न खोजियो भन्ने कुराले गम्भीर आशंका उब्जाएको छ ।
त्यसमाथि सम्बन्धित अधिकारीहरूले उजुरी र आरोपका बारेमा कुनै जानकारी नदिने एकैचोटी बलपूर्वक पक्राउ गर्न खोजिनुले आशंकासँगै अनेकन प्रश्न उब्जाएको छ,’ पाठकले पठाएको पत्रमा लेखिएको छ ।
प्रतिक्रिया