बाजुरा ः बाजुराका स्थानीय तहले संघीय सरकारबाट आर्थिक वर्ष ०८२/८३ का लागि २ अर्ब बढी अनुदान पाएका छन् । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको प्रदेश तथा स्थानीय तहमा जाने वित्तीय हस्तान्तरणको विवरण अनुसार उक्त बजेट अनुदान पाएका हुन् ।
संघीय सरकारबाट समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान, समपूरक अनुदान बापत जाने विवरण सार्वजनिक गरेको मन्त्रालयले जनाएको छ । ५ वटा गाउँपालिका र ४ वटा नगरपालिका रहेको बाजुरामा संघीय सरकारले २ अर्ब ७० करोड ४३ लाख पठाएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार नगरपालिकातर्फ सबैभन्दा बढी अनुदान बुढीगंगा नगरपालिकाले पाएको छ, भने गाउँपालिका तर्फ सबैभन्दा बढी खप्तड छेडेदह गाउँपालिकाले पाएको छ ।
बुढीगंगाले ३८ करोड ७७ लाख पाएको छ भने खप्तड छेडेदहले ३५ करोड ६७ लाख बजेट अनुदान पाएको छ । त्यस्तै नगरपालिकातर्फ सबैभन्दा कम बडीमालिकाले ३० करोड ६९ लाख र गाउँपालिकातर्फ सबैभन्दा कम जगन्नाथले १९ करोड ७९ लाख पाएको छ ।
त्यस्तै त्रिवेणी नगरपालिकाले ३४ करोड २३ लाख, बुढीनन्दा नगरपालिकाले ३२ करोड ७५ लाख अनुदान पाएको छ । त्यस्तै स्वामीकार्तिक खापर गाउँपालिकाले २७ करोड ४३ लाख, गौमुल गाउँपालिकाले २६ करोड ५० लाख र हिमाली गाउँपालिकाले २४ करोड ६० हजार अनुदान पाएको छ ।
यो अनुदान रकमका आधारमा आफ्नो स्रोत समेत जोडेर प्रदेश तथा स्थानीय तहले बजेट सार्वजनिक गर्ने गरेका छन् ।
अर्थ मन्त्रालयले यहीँ जेठ १९ गते सार्वजनिक गरेको अन्तरसरकारी वित्तीय हस्तान्तरण विवरण अनुसार आगामी आर्थिक वर्षका लागि ४ शीर्षकमा गरी सो रकम स्थानीय तहमा पठाउने भएको हो ।
सरकारले हरेक वर्ष प्रदेश र स्थानीय तहका लागि समानीकरण अनुदान, शसर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान दिदैं आएको छ ।
प्रतिक्रिया