गाैमुल खबर डटकम बिहीबार २९, जेठ २०८२ ०२:३७

मुद्दा मिलाउन गएका पूर्वमन्त्रीविरुद्ध नै मुद्दा

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, जेठ २७, २०८२
मुद्दा मिलाउन गएका पूर्वमन्त्रीविरुद्ध नै मुद्दा

विराटनगर : सम्बन्धबिच्छेदको मुद्दा मिलाउन भन्दै खटिएका नेपाल सरकारका पूर्वमन्त्री तथा राप्रपा नेता रामकुमार सुब्बाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । पूर्व भूमिसुधार मन्त्रीसमेत रहेका सुब्बाविरुद्ध एक महिलाले आफ्नो ‘गोप्य अंगको खानतलासी गर्ने भनी गैरकानुनी व्यवहार गरेको’ भन्दै मुद्दा दायर गरेकी हुन् ।

घटना गत फागुन २२ गतेको हो । इटहरी उपमहानगर ९ बस्ने गोपाल शाहका छोरा दिपेशसँग मोरङको डायनिया घर भएकी २६ वर्षीय महिलाले २०७९ जेठ ३० गते विवाह गरेकी थिइन् । उनीहरूको सम्बन्ध राम्रो भएन । त्यसपछि उनी माइत गएर बसिन् ।

उनले पतिविरुद्ध सम्बन्धबिच्छेद र अंश मुद्दा दायर गरिन् । यो मुद्दा दायर भएपछि मिलाउन भन्दै गोपाल, रामकुमार सुब्बा र सुनिता घिमिरे गत फागुन २२ गते पुगेका थिए । घरमा पुगेका बेला पूर्वमन्त्री सुब्बाले ‘तिम्रो लिंग हेर्नका लागि हामीले आफ्नै महिला कर्मचारी लिएर आएका हौं’ भनेका थिए ।

‘प्रतिवादी रामकुमार सुब्बाले तिम्रो लिंग हेर्नको लागि हामीले आफ्नै महिला (सुनिता घिमिरे) कर्मचारी ल्याएका छौं । तिमीले आफू केटी मानिस हो भन्ने कुराको पुष्टि गर्नुपर्छ भन्दै दबाब दिए,’ जाहेरीमा पीडितले भनेकी छन्, ‘मैले इन्कार गरेँ । मेरो परिवारले पनि उक्त कुराको इन्कार गर्नुभयो । तर, प्रतिवादी रामकुमार सुब्बाले आफू पूर्वमन्त्री रहेको तथा प्रहरी प्रशासन सबैमा प्रभाव रहेकोले सार्वजनिक रूपमा नांगेझार पार्छौं भन्दै ममाथि र मेरो परिवारमाथि मानसिक र शारीरिक रूपमा दबाब सिर्सना गर्दै जान थाल्नुभयो ।’

श्रीमान् र परिवारका सदस्यलाई समेत हेलाहोचो गरेको भन्दै उनले पूर्वमन्त्री रामकुमार सुब्बासँगै, ससुराबुबा गोपाल शाह र सँगै गएकी सुनिता घिमिरेलाई प्रतिवादी बनाएर ‘गैरकानुनी शरिर खानतलासी तथा बेइज्जती’ मुद्दा दायर गरेकी हुन् ।

यो मुद्दा गत चैत १२ गते जिल्ला अदालत मोरङमा दायर भएको थियो । ती महिलाले दायर गरेको फिरादमा श्रीमान् र ससुराको बारम्बारको यातनाको कारण मुद्दा दायर गरेर मोरङको डायनियाँस्थित माइतीमा बस्दै आएकी उल्लेख गरेकी छन् । 

दिपेशका बुबा सुब्बाको नजिक छन् । आफ्ना नजिकका मान्छेको परिवार बिग्रन लागेपछि मिलाउन भन्दै गएको उनले बताउने गरेका छन् ।

प्रतिक्रिया