बाजुरा : गौमुल गाउँपालिकामा बाघको आक्रमणबाट १७ भेडा बाख्रा मरेका छन् । गाउँपालिकाको-३ नम्बर वडा दल्लेरीका स्थानीय मदन बोहराका ५६ मध्ये बाघले ११ वटा भेडा, ६ वटा बाख्रा मारेका हुन् ।
आईतबार राती गाउँ नजिकैको दल्लेरी गोठ छानामा रहेका भेडा, बाख्रा बाघले आक्रमण गरी मारेको अवस्थामा फेला पारेको स्थानीय भरत बोहराले जानकारी दिएका छन् । कोही मारेका, कोही खाएर छोडेका र ५ वटा घाइते अवस्थामा फेला पारेको उनले बताए ।
गोठको छानामा बाधेर राखेका भेडा, बाख्राहरुलाई आक्रमण गर्दा करिब २ लाख ८० हजार बढीको नोक्सान भएको छ । आयस्रोतको रुपमा रहेका भेडा बाघले मारेपछि समस्या भएको पीडित मदन बोहराले बताएका छन् ।
बाघको आतंकबाट स्थानीयका भेडा, बाख्रा मारेर धेरै क्षति गर्न थालेपछि पछिल्लो समय भेडा व्यवसाय संकटमा परेको छ । बेला बेलाको बाघको आक्रमणले स्थानीयले ठुलो क्षति व्यहोर्नु परिरहेको छ ।
प्रतिक्रिया