गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:४०
Dho

बडीमालिका नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

कुल बजेटको ७५.४ प्रतिशत बजेट खर्च
बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, साउन ३२, २०८०
बडीमालिका नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

बाजुरा : बडीमालिका नगरपालिकाले बार्षिक सार्वजनिक सुनुवाइ गरेको छ । पालिकाले एक वर्षको अवधीमा गरेका कामको समीक्षा, उपलब्धी र जनसरोकारका विषयमा हुने गरेका टिकाटिप्पोणी सहीतको बार्षिक प्रगति सार्वजनिक गर्न सार्वजनिक सुनुवाइ गरेको हो ।

बडीमालिका नगरपालिकाले सुशासनको सूचकको रुपमा अनिवार्य गर्नु पर्ने सार्वजनिक सुनुवाइ रहेक वर्ष गर्दै आएको छ । जिल्लाका अधिकांश पालिकाले बर्षौ देखि पनि कुनै समीक्षा र सार्वजनिक सुनुवाइ गर्ने गरेका छैनन् ।

बडीमालिकाले हरेक वर्ष र चौमासिक रुपमा गर्ने सार्वजनिक सुनुवाइले सुशासनको सूचना सुधार गर्न र जनतालाई पालिकाको काम कारवाही बारे सविस्तार जानकारी दिन महत्वपूर्ण भूमिका खेलेको नागरिकको बुझाइ छ । 

प्रश्न गर्ने, जिज्ञासा राख्ने र राम्रो कुराको जानकारी लिने दिने माध्यमका रुपमा गरिएको सार्वजनिक सुनुवाइ निकै प्रभावकारी र फलदायी हुने गरेको स्थानीय सन्तोष विकले बताएका छन् । राम्रो नराम्रो जे भएपनि जनताको सामु प्रस्तुत गर्ने र जनसरोकारको विषयमा समीक्षा तथा सवाल जवाफ गर्ने कुरा नै सूशासनको अवस्था सुधारको प्रमुख माध्यम हुने सुशासनका पक्षधर समेत रहेका विकको भनाई छ ।

सार्वजनिक सुनुवाइमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल विकले बार्षिक कार्यक्रम, बजेट र आगामी योजना तथा उपलब्धी बारे जानकारी गराएका थिए । एमडी आभाष मल्टिमिडीयाका सञ्चालक मदनराज जैशीले सहजिकरण गरेको कार्यक्रम बडीमालिका नगरपालिकाको सभा हलमा आयोजना गरिएको थियो ।

जनप्रतिनिधी, कर्मचारी बाहेक सेवाग्राही र निर्माण समितिका उपभोक्ता, सरोकारवाला निकाय, सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधीहरुको उल्लेख्य सहभागिता रहेको थियो । नागरिक अभिमत प्रतिवेदन समेत सार्वजनिक गरिएको कार्यक्रममा सहभागिले सेवा प्रवाहलाई सहज र सेवाग्राही मैत्री बनाउन सुझाव दिएका छन् ।

बडीमालिका नगरपालिकामा आर्थिक वर्ष २०७९÷८० मा कुल ६४ करोड ५६ लाख २९ हजार ०५९ रुmपैया बजेट विनियोजन भएको थियो । जसमा ५२ करोड १९ लाख ७८ हजार २३ रुपैया अर्थात कुल बजेटको ७८.३ प्रतिशत निकाशा भएको छ । भने ४८ करोड ७१ लाख ९३ हजार ४० रुपैयाँ कुल बजेटको ७५.४ प्रतिशत बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत रंगमल विकले बताएका छन् ।

४ नम्बर वडामा कर्मचारीको अभाव रहेको वडा अध्यक्ष स्वयम वडा कार्यालयमा उपस्तिथ नहुने गरेको गुनासाहरु सुनाएका थिए । बडीमालिका नगरपालिका ८ को आलु पकेट क्षेत्रको रकम हिनामिना भएको आरोपमा प्रश्न गरिएको थियो । 

नगरपालिकाले काम सम्पन्न भैसकेका योजनाको पनि भुक्तानी नदिएको, नागरिकलाई गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा उपलब्ध गराउने चुनावी नारा लिएको भएपनि प्रदान गर्न नसकेको, कृषी, पर्यटन क्षेत्रमा उपलब्धि मुलक काम हुनु पर्ने जति नभएको, डम्पिङ साइड निर्माण गर्न नसकेको लगायतका जनगुनासाहरु आएका थिए । सेवा प्रवाह सहज बनाउन प्रविधी मैत्री बडीमालिका भनिएपनि सबै वडामा विस्तार नभएकोले तत्काल सुधार गर्न सुझाव दिएका थिए ।

सहभागिले अव्यवस्थित बंगुर फर्म र पोल्ट्री फर्मले मार्तडी बजार दुर्गन्धीत बनेको, लम्की स्कीन रोग नियन्त्रणमा नगर सरकारको ध्यान नगएको, मार्तडीको खानेपानी नियमित हुन नसकेको विद्यालयमा दरबन्दी रिक्त देखिएकोले समाधानका लागि सुझाव दिएका छन् ,

जवाफमा नगर उपप्रमुख नन्दा कुमारी थापाले सुशासनयुक्त पालिकाको चिनारी देखाउने गरि काम भइरहेको र त्यसका लागि सबैले आ आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने बताएकी छन् । 

काम गर्दै जाँदा कतिपय कमजोरी हुन्छन्, नै, कति काम चाहेर पनि गर्न नसकिएको होला, तर ती सबैलाई सुधार गरेरै लैजाने प्रतिवद्धता उपप्रमुख थापाले गरेकी छन् । जनताको अपेक्षा पुरा गर्नु, बडीमालिकाको विकास र समृद्धि हासिल गर्नु नै आफूहरुको प्रमुख लक्ष्य भएकोले त्यसै अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

सहभागिका प्रश्नका जवाफ उपप्रमुख नन्दा कुमारी थापा सहीत प्रमुख प्रशासकीय अधिृकत रंगमल विक, नगर प्रवक्ता धर्मराज पाध्याय, वडा अध्यक्ष र सम्बन्धीत शाखाका प्रमुख प्रतिनिधीले दिएका थिए । 

पालिकाका प्रमुख प्रशाशकीय अधिकृत रंगमल विकले नगरपालिकाका नीति, योजना तथा कार्यक्रमको कार्यान्वयन प्रकृया, प्राप्त उपलब्धीहरुको बारेमा नगरबासी तथा सरोकारवाला निकायलाई जानकारी गराएर मात्रै गरेकोले धेरै विषयमा अन्योल हुने र आशंका गर्ने ठाउँ नै नरहेको प्रष्ट पारेका छन् । 

नगर प्रवक्ता धर्मराज पाध्यायले सामाजिक सञ्जालमा लेखिएका, प्रचार गरिएका र आरोप लगाइएका विषयमा कुनै सत्यता र प्रमाणित नभएकोे हल्लाका पछि नलाग्न आग्रह गर्दै, बडीमालिकाको विकास र सुशासन अनि समृद्धिको यात्रामा सबैको हातेमालो र सहकार्य आवश्यक रहेको बताएका छन् । बडीमालिकाको सार्वजनिक सुनुवाई सामाजिक सञ्जाल फेसबुक लाइभ मार्फत सार्वजनिक समेत गरिएको थियो । 

प्रतिक्रिया