बाजुरा : बाजुराका ९ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु रकम बुढीगंगा नगरपालिकामा देखिएको छ । महालेख परीक्षकको ६२ औँ वार्षिक प्रतिवेदन अनुसार बुढीगंगाको ४.०२ प्रतिशत बेरुजु देखिएको छ । रकममा यहाँको बेरुजु ४ करोड १४ लाख ३८ रहेको छ ।
सबैभन्दा कम गौमुल गाउँपालिकाको बेरुजु देखिएको छ । हरि बहादुर रोकाया अध्यक्ष रहेको यस गाउँपालिकामा ०.८१ प्रतिशत बेरुजु देखिएको छ । रकममा यहाँको बेरुजु ६१ लाख १८ हजार रहेको छ । जिल्लाका ४ नगरपालिकाको हकमा त्रिवेणी नगरपालिकाको केही मात्रामा कम बेरुजु देखिएको छ । कर्ण थापा मेयर रहेको त्रिवेणी नगरपालिकामा २ करोड ५५ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
बुढीनन्दा नगरपालिकामा ३ करोड २९ लाख २३ हजार, बडीमालिका नगरपालिकामा २ करोड ८५ लाख ९२ हजार, स्वामीकार्तिक खापर गाउँपालिकामा २ करोड २३ लाख ६६ हजार रुपैयाँ बेरुजु रहेको छ ।
त्यस्तै जगन्नाथ गाउँपालिकामा २ करोड २५ लाख ४ हजार, खप्तड छेडेदह गाउँपालिकामा १ करोड ३४ लाख १४ हजार र हिमाली गाउँपालिकामा ८६ लाख ६५ हजार रुपैयाँ बेरुजु रहेको देखाएको छ ।
उपलब्ध स्रोत र साधनलाई नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यताका आधारमा प्रयोग गर्दै आर्थिक प्रशासनलाई जवाफदेहि र पारदर्शिताको माध्यमबाट आर्थिक प्रशासनमा सुशासन कायम गर्न लेखापरिक्षणको क्रममा देखिएको त्रुटि वा अनियमिततालाई नै बेरुजु मान्ने गरिन्छ ।
प्रतिक्रिया