काठमाडौं : नेपाल शिक्षक महासंघको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका नेकपा एकीकृत समाजवादीका नेताहरूलाई शिक्षकहरूले फर्काइदिएका छन् । शिक्षकहरूको आन्दोलनमा पुगेका समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, राजेन्द्र पाण्डेलगायतका नेताहरूलाई शिक्षकहरूले फर्काइदिएका हुन् ।
शिक्षकहरूले उल्टै नेताहरुविरुद्ध नाराबाजी गरेपछि उनीहरू मन्तव्य नै नराखी फर्किनुपरेको थियो । उनीहरूले आफूहरूको आन्दोलनलाई राजनीतिकरण हुन नदिने भन्दै नेताहरूलाई फर्किन सुझाव दिएका थिए ।
आफूहरूलाई समर्थन गर्न बानेश्वर आउनुभन्दा संसदबाट ऐन पारितका लागि पहल गर्न आग्रह गरेका छन् । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने शिक्षकहरूले सोमबार २७ आँै दिन पनि आन्दोलनलाई जारी राखेका हुन् ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अग्रगामी शिक्षा ऐन जारी हुने परिस्थिति नबनेसम्म आन्दोलन नरोकिने स्पष्ट पारे । मन्त्रीस्तरीय निर्णय, मन्त्रिपरिषद् निर्णय र ऐन कानुनबाट पुरा हुने गरी आफूहरूको माग सरकारलाई बुझाइएको उनले बताए । उनले आफूहरूको मागमा सरकार गम्भीर नभएकाले आन्दोलन लम्बिएको आरोप लगाए ।
अध्यक्ष सुवेदीले विद्यालय शिक्षाप्रति सरकारको उदासीनता देखिएको उल्लेख गरे । यसअघि शिक्षकहरूको प्रदर्शनका क्रममा आइतबार झडप भएको थियो ।
प्रतिक्रिया