गाैमुल खबर डटकम शनिबार १३, बैशाख २०८२ ०५:०३

बुढीगंगा नगरपालिका-१० का युवाले भने : बेरोजगार युवालाई रोजगारी सिर्जना गरौं

वडामा सार्वजनिक सुनुवाइ सम्पन्न
बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, बैशाख १३, २०८२
बुढीगंगा नगरपालिका-१० का युवाले भने : बेरोजगार युवालाई रोजगारी सिर्जना गरौं

बाजुरा ः बुढीगंगा नगरपालिका-१० का स्थानीय युवाहरुले बेरोगारीका कारण बहकिएर हिड्ने युवाहरुलाई रोजगारी सिर्जना गर्न नगर र वडा सरकारलाई आग्रह गरेका छन् ।

वडा कार्यालयको केन्द्र सिगाडामा आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगर भौतिक विकासमा विस्तारै लयमा गएकोले अब मानवीय विकासमा जोड दिनुपर्ने धारणा राखेका छन् ।

स्थानीयका अधारभूत आवश्यकतालाई ध्यानमा राखेर बुढीगंगा सीप विकास केन्द्रले थप बेरोजगार युवाहरुलाई रोजगार सिर्जना गरी काममा लगाउन माग राखेका छन् ।

वडा अध्यक्षदेखि जनप्रतिनिधि वडा कार्यालयमा कम हाजिर हुने भएका कारण सच्चिन समेत स्थानीय नागरिकले अनुरोध गरेका छन् । अघिल्लो कार्यकालका जनप्रतिनिधि भन्दा यो कार्यकालमा नगरले विकास निर्माणका गतिविधिमा अहम भूमिका खेलेको प्रति धन्यवाद दिएका छन् ।

शिक्षा, स्वास्थ्य, सडक र कृषिलाई थप ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । बुढीगंगा नगरपालिकाले यतिबेला वडा स्तरका सार्वजनिक सुनुवाई कार्यक्रममा व्यस्त रहेको छ ।

पालिकाले सम्पादन गर्ने कामको समीक्षा र आगामी योजना बारे जानकारी लिने गरी कार्यक्रम आयोजना गर्ने गरिएको नगर प्रमुख रामबहादुर बाँनियाले बताएका छन् ।

१० वटै वडामा कार्यक्रम गर्ने, जनताका धारणा बुझ्ने, सुझाव लिने र पालिकाको योजना सुनाउने गरी कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम १० वटै वडामा आयोजना गरिएको हो ।

कार्यबाहक वडा गंग विकको अध्यक्षतामा आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रमको नेपाल पत्रकार महासंघ बाजुराका तर्फबाट सहजीकरण गरिएको हो ।

सहभागीहरुले टोल र बस्ती स्तरका समस्यालाई विशेष ध्यान दिन आग्रह गर्दै खानेपानी, सिँचाई, शिक्षा र स्वास्थ्य सुधारमा जोड दिएका छन् । “शिक्षा स्वास्थ्य,  कृषि पर्यटन र पूर्वाधार सुरक्षित र समृद्ध विकास” भन्ने मुल नारा सहित कार्यक्रम आयोजना गरिएको हो ।

गएको आर्थिक वर्षदेखि चैत्र ३१ सम्मका योजना, कार्यक्रम बारे छलफल तथा समीक्षा गरिएको छ । वडामा आधारभूत समस्या सबै भन्दा बढी रहेको भन्दै स्थानीयले वडा र नगर सरकारलाई गम्भीर भएर व्यवस्थापन गर्नुपर्ने व्यापक माग राखेका छन् ।

नगर प्रमुख रामबहादुर बाँनिया प्रमुख अतिथि र माया खड्का कुवँर विशेष वक्ता रहेको कार्यक्रमको सहजीरण नेपाल पत्रकार महासंघ जिल्ला, शाखा बाजुराका उपाध्यक्ष रमित विकले गरेका हुन् ।

वडा कार्यालयमा आयोजना गरिएको कार्यक्रममा बुढीगंगा नगरपालिका-९ का वडा अध्यक्ष मीनबहादुर सिंह, वडा सदस्य, राजनीतिक दल, स्थानीय युवाहरु लगायत अन्य स्थानीयको सहभागीता रहेको थियो ।

प्रतिक्रिया