गाैमुल खबर डटकम आइतबार ०७, बैशाख २०८२ ०४:२३

बाजुराले कर्णाली सहरको सुविधा पाउनुपर्ने माग

सेती लोक मार्गलाई बजेटमा प्राथमिकता दिन अर्थमन्त्रीलाई लिखित पत्र
बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, बैशाख ०७, २०८२
बाजुराले कर्णाली सहरको सुविधा पाउनुपर्ने माग

बाजुरा : जब सरकारले आर्थिक वर्षको बजेट निर्माण गर्न सुरु गर्छ, नेताहरु एकपछि अर्को लिखित पत्र सहीत मन्त्रालय पुग्न थाल्छन् । एक्लो पनि होइन्, दलबल सहीत । त्यो पनि जिल्लाका सांसद देखि, पार्टी नेता कार्यकर्तासम्म सबै पुग्छन् । मन्त्रीलाई भेटेको, पत्र बुझाएको, लिखित पेश गरेको प्रमाण सहीत मन्त्रीसँगका फोटोहरु सामाजिक सञ्जालमा हाल्न प्रतिस्पर्धा नै देखिन्छ ।

योजना परोस् की नपरोस्, पहल मेरो, मन्त्रालयमा म अगाडि भन्ने प्रतिस्पर्धा जस्तै देखिन्छ । जब बजेट भाषण हुन्छ, रातो किताब निस्कीन्छ, त्यहाँ अनुकुल र कमिसन अनि शहर केन्द्रीत पुहँचवाला योजनाले मात्रै ठाउँ पाएको देखिन्छ । पुगेका मध्ये पहुँच हुनेहरुले बजेट माग अनुसार नै पाउँछन्, पहुँच नपुग्ने र प्राय दुर्गम पहाडी जिल्लाहरुको माग कागजमा सीमित हुन्छ ।

मन्त्रीको आश्वासनमै सकिन्छ । तरपनि नेताहरु माग गर्न कुनै वर्ष बाँकी राख्दैनन् । त्यो जनप्रतिनिधी र पार्टीका नेताहरुको जिम्मेवारी पनि हो । योजना उही हुन्छ । कागज र भूमिकामा रहेका मन्त्री मात्रै फेरिएका हुन्छन् । तर माग संवोधन हुदैन् । जति कराएपनि, आक्रोश पोखेपनि, आवश्यकता महसुश गराएर योजना माग गरेपनि सुदूरप्रति सिंहदरबारको नजर विभेदकारी नै छ ।

नेकपा (एमाले) केन्द्रीय सदस्य एवं प्रतिनिधी सभाको पूर्व सदस्य लालबहादुर थापाले रघुवीर महासेठलाई रातो किताब नै संसदमा बुझाए । बाजुराको विकटता र आवश्यकतालाई संवोधन नगरिएको आक्रोश समेत व्यक्त गरे । दुनियाँलाई देखिने गरि बाजुरा र सुदूरपश्चिम प्रति बजेटमा विभेद गरिएको कुरा सुनाए । तर संसद र तत्कालिन सरकारले सुनेन । तरपनि नेता थापा अझै थाकेका छैनन् ।

आफ्नो कर्तव्य पालना र जिम्मेवारी निर्वाह गरेकै छन् । यो पटक उनी सांसद छैनन् । बाजुराबाट बद्री प्रसाद पाण्डे सरकारको बाहलवाला मन्त्री छन् । तरपनि थापाले अगुवाई गर्दै जिल्लाको प्रमुख आवश्यकतालाई संवोधन गर्न अर्थमन्त्रीलाई लिखित पत्र बुझाएका छन् । विगत जस्तो विभेद नहोस् भन्ने चेतावनी भाषा सहीत जिल्लाका नेता कार्यकर्ता लिएर थापा अर्थमन्त्री विष्णु पौडेलकहाँ पुगेका थिए ।

थापा र पौडेल एउटै पार्टीका नेता हुन् । पार्टी सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष कालीबहादुर शाही, पार्टी जिल्ला अध्यक्ष लालबहादुर ओली, सचिव काशी विक, बडीमालिकाका नगरप्रमुख अमर खड्का सहीत नेताहरु लिखित माग सहीत पत्र यो पटक पनि बुझाएका छन् । पत्रमा पाँच वटा योजना सहीतका बुदा समेटिएका छन् ।

यो आउने बजेटमा जसरी पनि संवोधन हुन र बिशेष प्राथमिकता दिन लिखित मत दर्ज गरिएको र अर्थमन्त्रीले आश्वासन दिएको एमाले नेता लालबहादुर थापाले जानकारी दिए । उनी नेतृत्वको टिमले सेती लोकमार्गलाई बिशेष प्राथमिकतामा राख्न माग गरेका छन् । वर्षौ देखि सपनाको मार्ग सेतीलोकमार्गलाई अब राज्यले बेवास्ता गर्न नहुने पत्रमा उल्लेख छ ।

०३४ सालबाटै अवधारणा सुरु गरिएको सेती लोकमार्ग २०६७।६७ बाट निर्माण सुचारु गरिएको थियो । डेढ दशक बितेपनि अझै आधाबढी क्षेत्रको सडक निर्माण बाँकी छ । सेती लोकमार्ग बने बाजुरा, अछाम, डोटीको कैलालीसँगको सम्पर्क हाललाई भन्दा करिब २ सय किलोमिटर छोटो हुने छ । टोलीले बाजुरालाई कर्णालीका जिल्लाकै सुविधामा बाजुरालाई राख्न माग गरेको छ ।

कर्णाली बाजुराका चार पालिका भएर बग्छ, तर यहाँका नागरिक कर्णालीको सुविधा पाउँदैनन् । कर्णालीको साइनो भएका जिल्लाले सुविधा पाउने र बाजुराले नपाउने कुरा अन्यायपूर्ण देखिएकोले राज्यले निर्णय सच्याउनु पर्ने माग उनीहरुको छ । यसैगरी बाजुरालाई जैतुन जोन बनाएर उपलब्धी नदेखिएकोले त्यो रकमलाई सिमी, स्याउ र आलु उत्पादनको जोनका रुपमा विकास गर्न माग गरेका छन् ।

स्थानीय तहका योजनामा काँटछाँट नगर्न र विचौलियालाई हाबी हुने अवस्थामुक्त गर्न पनि ध्यानाकर्षण गराएका छन् । बाजुराको गौमुल, जगन्नाथ र बडीमालिका जहाँ १० शैयाका अस्पताल बनिसकेका छन् । त्यहाँ दरबन्दी कायम गर्नपनि माग गरिएको छ । बाजुरालाई विकासको मुलधारमा ल्याउने गरि वर्तमान सरकार जिम्मेवार र जानकार रहेको उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेलले आश्वासन दिएका छन् ।

प्रतिक्रिया