बाजुरा ः बाजुराको कोल्टीमा जारी बुढीनन्दा कृषि पर्यटन तथा साँस्कृतिक महोत्सवको आयोजनालाई लिएर आलोचना भइरहेको छ । निजी व्यक्तिको नाममा रहेको प्रा.लि.बाट सञ्चालन गरिएको कार्यक्रमको संयोजक नै पालिकाबाट गरिएको र अध्यक्षता समेत नगर प्रमुखले नै गरेपछि आलोचनाको विषय बनेको हो ।
महोत्सव बुढीनन्दा नगरपालिकाको कोल्टीमा भइरहेको छ । भने आयोजना मालाश्री स्टुडियो प्रालिले गरेको हो । प्रा.लि.का सञ्चालक संगीत एरेन्जर बिनोद बाजुराली हुन् । उनकै आयोजनाको महोत्सवको अध्यक्षता बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले गरेका छन् । रहर लाग्दो छाँटकाँट सहित नगर प्रमुख बोहराले आफ्नै कार्यक्रम जस्तो शैलीमा अध्यक्षताको आशन ग्रहण मात्रै गरेनन् ।
सबै संयोजन नै पालिकाको जस्तो गरी हर्ताकर्ताकै भूमिकामा देखिएका थिए । निजी कम्पनीको कार्यक्रममा स्थानीय सरकारका प्रमुख नै हर्ताकर्ता बनेपछि आलोचना सुरु भएको हो । उक्त महोत्सवको मालाश्री स्टुडियो आयोजक र बुढीनन्दा नगरपालिका सह–आयोजक र जगनाथ, स्वामीकार्तिक खापर र हिमाली गाउँपालिका सहप्रवद्र्वक रहेको कुरा व्यानरमा उल्लेख छ ।
महोत्सव आयोजक रहेको मालश्री स्टुडियो कलाकार बिनोद बाजुरालीको एकल स्वामीत्वको कम्पनी हो । उक्त प्रा.लि. कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको एक विशुद्ध नाफामूलक कम्पनी हो । पालिका एक तहको सरकार हो । जसले जनताका काम गर्दछ । जनताको हितमा रहेर विकास निर्माण, प्रशासन सञ्चालन, न्याय निरूपण तथा जनतालाई शान्ति सुरक्षा प्रदान कार्य राज्य सरकारले गर्दछ ।
तर उक्त महोत्सव विशुद्ध नाफा कमाउने उद्देश्य अनुसार आयोजना भएको । जसमा जनताले टिकट काटेर महोत्सव स्थल प्रवेश गर्नुपर्ने छ । महोत्सव संयोजक महेश कार्कीका अनुसार कलाकार हेरेर टिकटको दर समेत फरक फरक हुने बताईनुले पनि महोत्सव पैसा आर्जन गर्ने उद्देश्यले आयोजना गरेको प्रष्ट देखिन्छ ।
व्यक्तिले नाफामूलक कार्यक्रमको आयोजना गरेपनि उक्त कार्यक्रममा एक व्यक्तिको नाफा आर्जन गर्ने कार्यमा राज्य सहआयोजक, सहप्रवर्धक भई सहभागी हुनु हुदैन । कुनै एक व्यक्तिलाई नाफा हुने कार्यक्रममा पालिका सहआयोजक र सहप्रवर्धक हुनु पनि गैरकानूनी कार्य हो । साथै नगर प्रमुख उक्त कम्पनीसँग कुनै पनि ढंगले जोडिनु हुन्न । नत उहाँ मालश्री स्टुडियो प्रा.लि.को सेयर सदस्य नै हो ।
कम्पनीमा सेयर सदस्य नभएको व्यक्ति सञ्चालक समितिमा बस्न सक्दैन् । त्यसैले नगर प्रमुख जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले एउटा प्रा.लि.को नाफामूलक कार्यक्रममा अध्यक्षता गर्नु पदको दुरूपयोग भएको विज्ञहरूले बताएका छन् । वैशाख ५ गतेबाट सञ्चालन भएको महोत्सव वैशाख १५ गतेसम्म विभिन्न कलाकारहरूका सांगीतिक प्रस्तुतीका साथ चल्ने भएको छ ।
साथै महोत्सव स्थलमा विभिन्न खेलकुदका गतिविधिहरू समेत राखिएको छ । दर्शकले महोत्सव स्थलमा प्रवेश शुल्कको अलवा भित्र राखिएका खेलहरू खेलेर मनोरञ्जन लिन थप अलग अलग टिकट काट्नु पर्नेछ । कार्यक्रमको उद्घाटनमा पूर्वमन्त्री पदम गिरी, प्रदेश सभाका पूर्व सदस्य बल्देव रेग्मी पनि सहभागी बनेका थिए । अतिथि हुने कुरा भन्दा पनि अध्यक्षता गर्ने कुराले नैतिकताको प्रश्न उठाएको छ ।
पछिल्लो समय सस्तो लोकप्रियताका लागि भिडियो लाइभ र भिडियोहरु आफै रेकर्ड गरेर सोसल मिडियामा राख्छन् भन्ने आरोप लागेका बोहराले शुक्रबारबाट सुरु भएको महोत्सवको समेत आफैले अध्यक्षता ग्रहण गर्नु लज्जाको विषय बनेको छ । महोत्सव वैशाख १५ गतेसम्म चल्नेछ ।
कृषिको नाम दिएर बाहिरबाट व्यापारी ल्याएर विक्री गर्ने महोत्सवको रुपमा चलाउने गरिएको छ । प्रा.लि.को कार्यक्रममा मुख्य हर्ताकर्ताकाे रुपमा नगरपालिकाका कर्मचारी महेश कार्की भने हप्ता दिनदेखि सक्रिय रहेका छन् । राज्यको नुन खाएर कार्की महोत्सवमा छन् । “कृषि, जडीबुटी, उद्योग, पर्यटन र व्यापार, बुढीनन्दाको समृद्धिका लागि विकासको आधार” भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको थियो ।
प्रतिक्रिया