बाजुरा ः आज र भोलि (शनिबार र आइतबार) देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ। ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ। बालबालिकामा कुपोषण अझै पनि ठुलो समस्याका रूपमा छ।
बालबालिकाको शारीरिक, बौद्धिक, मानसिक विकासमा पनि यसले प्रभाव पार्ने हुन्छ। बाल्यावस्थामा पोषणको अवस्था राम्रो भएन भने दीर्घकालीन असरहरू देखा पर्ने भएकाले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने गरिन्छ।
स्वास्थ्य सेवा विभागका अनुसार यस पटक ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै छ। सोही दिन एक वर्षदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ। बालबालिकालाई बालभिटा खुवाइने छ। सोही दिन बालबालिकामा कुपोषणको परीक्षण पनि गरिने छ।
‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’मा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ। सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारको लागि २०५० सालमा आठ जिल्लाबाट सुरु भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ देखि देशभरि नै लागु गरिएको हो। जुका नियन्त्रण तथा रोकथामको लागि २०५६ सालदेखि १३ जिल्लाबाट सुरु गरिएको जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ देखि सबै जिल्लामा लागु गरिएको छ।
यस्तै २०६४ सालदेखि बालभिटा खुवाइने गरेको छ। प्रत्येक वर्ष कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने व्यवस्था सरकारले गर्दै आएको छ। आँखाको देख्ने शक्तिलाई सधैँ स्वस्थ र तन्दुरुस्त राख्न र शरीरलाई विभिन्न प्रकारका सङ्क्रामक रोगहरूबाट बचाइराख्न भिटामिन ए आवश्यक पर्दछ। यो मानिसको शारीरिक र मानसिक विकासका लागि नभई नहुने तत्त्व हो । भिटामिन ‘ए’ को कमीले गर्दा नेपालमा प्रतिदिन एक जना बालबालिका अन्धो हुने गरेको सरकारी तथ्याङ्क छ।
प्रतिक्रिया