बाजुरा : गौमुल गाउँपालिका २ मा रहेको चन्द्र सूर्य युवा सञ्जालले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदान-प्रदान गरेको छ । युवा सञ्जालले वडाको आर्थिक सहयोग तथा एच.आर.सी बाजुराको समन्वयमा शुभकामना आदान प्रदान कार्यक्रम सञ्चालन गरेको हो ।
सो अवसरमा युवाहरुले एक आपसमा शुभकामना आदान-प्रदान गदैै नयाँ वर्षमा केही नौला अभ्यासको सुरुवात गर्ने बताईएको छ । वडा कार्यालयमा सञ्चालन गरिएको शुभकामना आदान-प्रदान कार्यक्रममा महत्वपूर्ण कार्यलाई अगाडी बढाउने युवाहरुबीच सहमती भएको चन्द्र सूर्य युवा सञ्जालका अध्यक्ष दिपक रोकायाले बताएका छन् ।
आपसी सद्भाव कायम राख्न सञ्चालन गरिएको कार्यक्रममा युवाको बाक्लो सहभागिता रहेको थियो । कार्यक्रममा युवालाई एकत्र पार्न विभिन्न क्षमता विकासका कार्यक्रम सञ्चाल गर्ने, महिलालाई सशक्त बनाउने खालका कार्यक्रम सञ्चालन गर्ने र हालसम्म हरेक समस्याका कारण विद्यालय नगएको बालबालिकाको पहिचान गरी विद्यालयमा भर्ना गराउने वातावरण सिर्जना गर्ने अध्यक्ष रोकायाले बताए ।
समाजलाई शिक्षित र एकरुपता बनाउँन युवा सञ्जाल अबदेखि महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । कार्यक्रममा शुभकामना दिने सबैले युवाले नयाँ कामहरुको थालनी गर्नुपर्नेमा जोड दिएका छन् । रोकायकाकै अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि वडा सदस्य प्रेम बहादुर रोकाया रहनुभएको थियो ।
त्यस्तै कार्यक्रमको विशिष्ट अतिथिमा वडा सदस्य देव बोहरा, गिता रोकाया, एच.आर.सीका सामाजिक परिचालक दिनेश सार्की लगायत रहेका थिए । सहकर्मी समाज संस्थाका सामाजिक परिचालक कृष्ण सार्कीले सञ्चालन गरेको कार्यक्रममा युवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
प्रतिक्रिया