धनगढी ः नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावल माथि प्रधानमन्त्री तथा पार्टी अध्यक्षको नाममा हैकम चलाएको र सार्वजनिक कार्यक्रममा उपद्रो मच्चाउन खोजेको आरोप लागेको छ । अध्यक्षको आडमा उनले पार्टी अनुशासन तोडेर जथाभावी गर्दै हिँडेको बताइन्छ । पार्टीका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टसँग पनि रावलले लफडा गरेको दाबी गरिएको छ ।
केन्द्रीय सदस्य नारदमुनि राना र प्रदेशका पूर्व उद्योग,पर्यटन,वनमन्त्री लक्ष्मणकिशोर चौधरीसँगको 'घुसकाण्ड' मा नाम जोडिएको विषयलाई लिएर सम्झाउन खोज्दा उनले माओवादी पृष्ठभूमिका लेखराजको कठालो समात्न खोजेको चर्चा चलाइएको छ । एमाले स्रोतका अनुसार नारदमुनिलाई काण्डमा बचाउन नहुने भन्दै रावलले लेखराजलाई हप्कीदप्कीसमेत गर्न भ्याइसकेका छन् ।
माओवादीहरुले सच्चा एमालेसँग धेरै निहुँ नखोज्नसमेत चेतावनी दिने गरेको दाबी छ । यो सब उनले अध्यक्ष ओलीको नाम भजाएर गरिरहेको नेताहरु बताउँछन् । प्रदेश कमिटीका एक नेता भन्छन्, 'रावलसँग न प्रदेश सभामा एक जना सांसद छन्,न त कार्यकर्ता नै सन्तुष्ट । तर पनि ओलीको नाममा उनको हैकम चलिरहेको छ ।'
अरुको काण्ड खोतलेर बाहिर ल्याएको बात लागेका रावलमाथि सरकारी सुविधा दुरुपयोग गरेको आरोप छ । बालकोटसँग नजिक हुन नसकेका कमरेडहरुको भनाई पत्याउने हो भने प्रदेशका कानून मन्त्री आफ्नै पार्टीका समानुपातिक सांसद हिरा सार्कीलाई फस्ल्याङ्गफुस्लुङ्ग पारेर मन्त्रालयको कार चढ्ने गरेका छन् ।
जबकि सत्तापक्षीय संसदीय दलको नेतालाई प्रदेश सभा सचिवालयले गाडी उपलब्ध गराउने कानूनी व्यवस्था छ । तर,रावलले भने भिआइपीहरुको सवारीको लागि कानुन मन्त्रालयले राखेको महँगो गाडीमा आँखा लगाएका हुन् । कानुनत: सरकारी गाडी त्यसरी दिन नमिल्ने अडान राख्दा सार्कीलाई पदबाट खुस्काइदिने धम्की दिएर बाध्य पारिएको भन्नेहरु पनि नभएका होइनन् ।
तर, रावलका सहयोद्धा कन्चनपुरका एक कमरेड भने मन्त्रीलाई थर्काएर गाडी लिएको कुरा विश्वास गर्न नसकिने बताउँछन् । यता,एउटा सरकारी कार्यक्रममा अतिथि बनेर गएका बेला बवण्डर मच्चाएको आरोप पनि रावलकै थाप्लोमा खनिएको छ । भनिए अनुसार मुख्यमन्त्री कार्यालय मातहतको अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बजेट तयारीका सन्दर्भमा सांसदहरुलाई प्रशिक्षण कार्यक्रम राखेको थियो ।
कैलालीको गोदावरीस्थित बाटिका होटलमा आयोजित कार्यक्रममा ५३ जना माननीय,नीति आयोगका प्रतिनिधि र विभिन्न क्षेत्रका विज्ञहरु उपस्थित थिए । आयोजकले गोपी मैनालीलगायतको प्रस्तुतिकरण रहेको कार्यक्रममा रावल अराजक शैलीमा प्रस्तुत भए । त्यहाँ सहभागी एक संसदले उक्त दिनको लफडा यसरी सुनाए- कार्यक्रममा रावललाई पूर्व मुख्यमन्त्रीको हैसियतमा मन्तव्यका लागि निम्त्याइएको थियो ।
टिप्पणीकर्ताको रुपमा मञ्चमा बोलाइएका उनी आफूलाई बोल्ने समय कम छुट्याएर आयोजकले अपमान गरेको भन्दै बम्किन थाले । लामो भाषण गरेका उनलाई आयोजकले छिटो गर्न भने पनि नमानेपछि सहभागी अधिकांश हल छोडर बाहिर गए । तर, पनि रावलले माइक छोडेनन् । र आफू बोलिरहँदा किन सबैजना बाहिर गएको भन्दै निहुँ खोजेर हलभित्र हङ्गामा मच्चए ।
एमालेका केही मन्त्री र मुख्यमन्त्रीले पहिलो दिन थामथुम पारे पनि भोलिपल्ट फेरि हलभित्र भाँडभैलो मच्चाएको उनै सांसद बताउँछन् । एमाले पोलिटब्युरो सदस्यसमेत रहेका रावलमाथि पार्टीको विधान र देशको कानुन मिचेर विदेश भ्रमण गरेको आरोप पनि लागेको थियो । भारतका विभिन्न कार्यक्रममा उनी त्यसरी सामेल भएको दृष्टान्त सुनाउँदै एमालेकै नेताहरु असन्तुष्टि जनाउँछन् ।
भ्रमणकै विषयलाई लिएर एकचोटि त सांसदहरुले प्रदेश सभा बैठक नै अवरुद्ध पारेका थिए । रावललको 'श्री एअरलाइन्स काण्ड' पनि एकथरीले निकै महत्वका साथ यस्तैबेला चर्चामा ल्याउने गरेका छन् । बताइएअनुसार केपी बालाई भेट्न धनगढीबाट काठमाडौँ उडेका उनले जहाजको अघिल्लो सिटमा बस्न नपाएको भन्दै हल्लाखल्ला गरेका थिए, जसलाई पार्टीभित्रै विरोधीहरुले श्री एअरलाइन्स काण्ड भन्ने गरेका छन् ।
स्रोतका अनुसार रावलले जहाजभित्र गरेको 'उध्दण्ड हर्कत' को भिडियो 'बा' लाई पनि देखाइएको थियो । प्रत्यक्ष निर्वाचित सांसदहरुलाई पाखा लगाएर संसदीय दलको नेता भएका रावल एमाले बझाङको इञ्चार्ज पनि हुन् । अध्यक्ष ओलीको खास पात्र उनको अर्को परिचय हो ।
एकपटक महेन्द्रनगरको आमसभामा ओलीले भीम रावलप्रति लक्षित गर्दै 'सुदूरपश्चिममा अरु रावल पनि छन्' भनेर भाषण गरेदेखि राजेन्द्र रावल फुर्किएको एमाले सुदूरपश्चिमका एक नेताको ठहर छ । उनलाई एमालेकै कार्यकर्ताले अहिले अर्को दुर्गा प्रसाईंको संज्ञा दिएको पाइन्छ । साभार ः जनआस्था डटकम
प्रतिक्रिया