बाजुरा : गौमुल गाउँपालिका–१ को माडीमा खानेपानीको हाहाकार भएको छ । २०७६ सालमा निर्माण गरेको खानेपानीको ट्याङ्की पहिरोले बगाएपछि १ वर्षदेखि स्थानीय सास्ती भोग्दै आइरहेका छन् ।
२०८१ साउन ९ गते पिसानीमा आएको पहिरोले खानेपानीको मुहान सहीत ट्याङ्की बगाउँदा खानेपानीको समस्या भएको स्थानीय तुला रोकायाले बताएका छन् । खानेपानीको हाहाकार भएपछि माडीस्थित ओखलडाँडा गाउँका करिब ८ परिवार प्रभावित भएका छन् ।
एक गाग्री पानीका लागि आधा घण्टा हिडेर नजिकैको कुवा तथा खोलाहरुमा धाउनु पर्ने बाध्यता रहेको छ । गाउँमा खानेपानी नहुँदा घण्टौँ हिँडेर कुवा अथवा अर्को गाउँबाट पानी बोक्नुपर्ने रोकायाको भनाइ छ । उनले भने घर घरमा धारा छन्, तर पानी छैन् । पहिरोले बगाएको खानेपानीको ट्याङ्की निर्माणका लागि धेरै ठाउँमा पहल गरेपनि हालसम्म कसैले वास्ता गरेन् ।
२०७६ सालमा भूसंरक्षणले खानेपानी निर्माण गरेको थियो । मुहान नजिक रहेको ट्याङ्की निशाना नै नरहने गरी बगाएको छ । स्थानीय कल्पना बोहराले वर्षायाम बाहेक अन्य समयमा खानेपानीको जोहो गर्न विभिन्न सास्ती भोग्दै आएको बताएकी छन् ।
उनका अनुसार खानेपानी समस्याकै कारण पशुपालन गर्न पनि समस्या छ, भने सरसफाई गर्न माडी खोलामा जानुपर्ने बाध्यता रहेको छ । पानीको समस्या भएपछि आफूलाई खानका लागि लगाईने तरकारी फलाउन समेत छोडेको स्थानीय बोहराको भनाइ ।
केही वर्षअघि घर नजिकका धाराहरुबाट पानी खाईरहेका स्थानीय अहिले कुवा र खोलाको पानी खाने गरेका छन् । खानेपानी मर्मतका लागि स्थानीयले सरकार र गैरसरकारी संस्थाहरुसंग अपिल समेत गरेका छन् ।
पिसपानीको पहिरोले बस्तीहरु समेत पहिरोको उच्च जोखिममा परेका छन् । माथिबाट पहिरो बगेपछि माडीस्थित तल्लो टोला, खडीखाना, छडा, पानी नाउँला गाउँका मानिसहरु पहिराको उच्च जाखिममा रहेका छन् ।
प्रतिक्रिया