गाैमुल खबर डटकम बिहीबार २९, फागुन २०८१ ०६:५०

सुदूरपश्चिमका ११ क्याम्पसमा निर्विरोध नेतृत्व चयन, ६ क्याम्पसमा अनेरास्ववियु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, फागुन २८, २०८१
सुदूरपश्चिमका ११ क्याम्पसमा निर्विरोध नेतृत्व चयन, ६ क्याम्पसमा अनेरास्ववियु

बाजुरा : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन अन्तर्गत सुदूरपश्चिमका ११ क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको छ । कतै विभिन्न विद्यार्थी संगठनबीच पद बाँडफाँट गरेर त कतै एकल उम्मेदवारी परेकाले प्रतिस्पर्धा बिना नै नेतृत्व चयन भएको हो ।

सुदूरपश्चिमका निर्विरोध बनेका ११ क्याम्पस मध्ये ६ मा अनेरास्ववियु, ३ मा नेपाल विद्यार्थी संघ (नेविसंघ) र २ मा अखिल (क्रान्तिकारी) का उम्मेदवार निर्विरोध सभापति चुनिएका छन् । त्रिभुवन विश्वविद्यालय अन्र्तगतका क्याम्पसहरुमा चैत्र ५ गते स्ववियु निर्वाचन हुने हुदैछ । 

निर्विरोध सभापतिमा चयन हुनेमा बझाङको सेती क्याम्पसमा अनेरास्ववियुका दीपेन्द्र दौल्याल, बैतडीको नवप्रभात संयुक्त क्याम्पसमा अनेरास्ववियुकै सपना चन्द, बैतडीकै शिक्षा क्याम्पसमा अनेरास्ववियुकै अक्बर चन्द, र बाजुराको बुदीनन्दा क्याम्पसमा अनेरास्ववियुकै लविन्द्र शाही (भाष्कर) छन् । 

अछामको साँफेबगरस्थित त्रिपुरा बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका कमल कुँवर निर्विरोध सभापति चुनिएका छन् । कुँवर यसअघि पनि सभापति थिए । बझाङको शान्ति आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियू (क्रान्तिकारी) का बम धामी निर्विरोध निर्वाचित भएका छन् ।

दार्चुलामा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै पाँच क्याम्पसमा विद्यार्थी संगठनहरूबीचको सहमति अनुसार स्ववियू समिति निर्विरोध चयन गरिएको छ । अनेरास्ववियु, नेविसंघ र अखिल (क्रान्तिकारी) बीच भएको सहमति अनुसार नेविसंघले दुई, अनेरास्ववियुले दुई, र अखिल (क्रान्तिकारी) ले एक क्याम्पसको नेतृत्व लिएका छन् ।

अनेरास्ववियु दार्चुलाका जिल्ला अध्यक्ष नरेन्द्र जोशीका अनुसार लटीनाथ क्याम्पस, मार्मामा रुकेश बिष्ट र कृष्ण स्नातक क्याम्पस, लालीमा ओमकार पाल अनेरास्ववियु बाट निर्विरोध सभापति चयन भएका छन् ।  

त्यस्तै अपिनम्पा क्याम्पस, हुतीमा शेरबहादुर बम र राष्ट्रिय क्याम्पस, दत्तुमा लिलु भट्ट नेविसंघबाट निर्विरोध सभापति चयन भएका छन् । भने शंकरपुर क्याम्पस, दार्चुलामा अखिल (क्रान्तिकारी) की जानकी टमटा सभापति चयन भएकी छन् ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत सुदूरपश्चिमममा ७६ वटा कलेज भए पनि ५३ वटामा मात्र संगठन दर्ता भएकाले निर्वाचन प्रक्रिया सञ्चालन गरिएको हो । यस पटकको स्ववियू निर्वाचनमा धेरै क्याम्पसमा प्रतिस्पर्धा नहुँदा चुनावी प्रक्रिया तुलनात्मक रूपमा सहज बनेको छ ।

प्रतिक्रिया