बाजुरा ःस्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा बाजुरा जिल्लाका नौ वटा स्थानिय तहमध्य बुढिगंगा नगरपालिका प्रथम बनेको छ । जिल्लाका ९ वटा स्थानिय तहमध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन लिजामा बुढीगंगा नगरपालिका पहिलो बनेको हो । संघीय प्रणालीअनुसार संविधानले नै स्थानीय तहलाई असीमित अधिकार दिएको छ ।
स्थानीय तहले अधिकार दुरुपयोग गरी शासकीय प्रणालीलाई नै विकृत तुल्याउन सक्ने अवस्थालाई नियन्त्रण गर्न लिजा प्रणालीलाई कार्यान्वयनमा ल्याईएको हो । जिल्ला स्थित सबै स्थानीय तहहरुको आर्थिक वर्ष ०८०÷०८१ को संस्थागत क्षमता स्वमूल्याङ्कन लिजाको नतिजा सार्वजनिक गरिएकोमा पहिलो बुढीगंगगा नगरपालिका रहेको छ भने अन्तिममा बुढीनन्दा नगरपालिका रहेको छ ।
जसमा बाजुराको बुढीगंगा नगरपालिकाले ९७ अंक सहित प्रथम र जगन्नाथ गाउँपालिका ९३ दशमलव ७५ अंकका साथ द्वितिय भएका छन् । यस्तै हिमाली गाउँपालिकाले ८९ दशमलव ५, बडीमालिका नगरपालिकाले ८७ दशमलव ५ प्रतिशत, स्वामीकार्तिक खापर गाउँपालिकाले पनि ८७ दशमलव ५ अंक सहित बडीमालिका नगरपालिका स्वामीकार्तिक खापर गाउँपालिका बराबरमा रहेका छन ।
खप्तड छेडेदह गाउँपालिकाले ८३ अकं, त्रिवेणी नगरपालिकाले ८१ दशमलव २५ अंक ल्याएको छ । गौमुल गाउँपालिकाले ७८ अकं ल्याएको छ भने बुढीनन्दा नगरपालिकाले ६१ दशमलव ५ अकं ल्याएर सबै भन्दा पछाडी परेको छ । यो नतिजामा बुढीनन्दा र गौमुल गाउँपालिका कमजोर देखिएका छन् ।
बुढीगंगा नगरपालिकाले स्थानीय तहमा संस्थागत संरचना र क्षमता विकासको अवस्था, पारदर्शीता, जवाफदेहिता, बेरुजुको अवस्था र सुशासनको अवस्थाका आधारमा जिल्लामा पहिलो भएको नगर प्रमुख रामबहादुर बाँनियाले बताएका छन् ।
विभिन्न इन्डिकेटर (सूचक) मा निर्धारित समयमा सबै डकुमेन्ट पेश गरेर लिजाले निर्धारण गरिएको डकुमेन्टमा पहिलो नम्मर ल्याउन सफल भएको उनले बताए । शासकीय प्रबन्ध, सङ्गठन र प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह र न्यायिक कार्यसम्पादन छन् ।
यसैगरी भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपत् व्यवस्थापन एवं सहकार्य र समन्वयजस्ता विषयलाई स्वमूल्याङ्कनमा समावेश गरिएको नगर प्रमुख बानियाले बताए । विभिन्न दश वटा विषय क्षेत्रमा विभिन्न एक सयवटा सूचक निर्धारण गरी एक सय नै पूर्णाङ्क रहने गरी प्रत्येक सूचकको निश्चित अङ्कभार समेत निर्धारण हुने गरेको समन्वय समिति बाजुराका कार्यालय प्रमुख दीपेन्द्र पाण्डेले बताएका छन् ।
स्थानीय तहले गरेको स्वमूल्यांकनलाई जाँच गर्ने जिम्मेवारी भने जिल्ला समन्वय समितिलाई दिएको हुन्छ पाण्डेले भने । जिल्ला समन्वय समितिका कार्यालय प्रमुख पाण्डेले कतिपय स्थानीय तहहरुले काम गरे पनि डकुमेन्टेसन राम्रो नभएको र कतिपय स्थानीय तहले अवास्तविक कागजात अपलोड गरेर पनि अंक कम बढी ल्याउने गरेको बताएका छन ।
पाण्डेका अनुसार यो स्वमूल्याङ्न भएकोले तेस्रो पक्षबाट गुणस्तर परीक्षण भए पश्चात प्राप्ताङ्क फरक पर्न सक्छ । यसमा जिल्ला समन्वय समितिको कार्यालयले सहजीकरण एवं पृष्ठपोषण गर्छ, मूल्याङ्कन सूचकका आधारमा स्थानीय तह आफैले गर्ने हो’ उनले भने ।
प्रदेश तथा स्थानीय तहहरुको सबलीकरणका लागि आ.व.२०७६÷०७७ देखि प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गत देशैभरीका स्थानीय तहहरुमा यो कार्यक्रम लागू रहेको छ । स्थानीय तहहरु अधिकार सम्पन्न सरकार भएकोले शासन, विकास र सेवाप्रवाहका सम्बन्धमा आफ्नो क्षमता र अवस्थाको स्वमूल्याङ्कन गर्दै प्रतिस्पर्धी र समयानुकूल रुपान्तरणका लागि यो महत्वपूर्ण छ ।
देशभरका स्थानीय तहमा संस्थागत क्षमता स्वमूल्याङ्कन (एलआईएसए– लिजा) कार्यान्वयनमा यो प्रणालीमा स्थानीय तहले निश्चित सूचकका आधारमा आफ्नो मूल्याङ्कन आफैँ गरी आफैँबाट सुधारको मार्ग प्रशस्त गर्नसक्ने व्यवस्था गरिएको छ ।
स्वमूल्याङ्कन प्रणालीको सही रूपमा कार्यान्वयन हुन सके स्थानीय तहमा देखिएका समस्याको समाधानका लागि मार्ग प्रशस्त भई सेवाप्रवाह थप प्रभावकारी बन्नुका साथै जवाफदेहिता, पारदर्शिता र प्रतिस्पर्धात्मक सुधारमार्फत स्थानीय तहमा सुशासन कायम गर्न कोसेढुङ्गा सावित हुनसक्ने देखिन्छ ।
स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधिले लिजाको कार्यान्वयनमार्फत स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धिका बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षको पहिचान गर्न सघाउँछ ।
विकास तथा सुशासनका सन्दर्भमा रहेका कमीकमजोरी पहिल्याउन, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न र स्थानीय तहका बीचमा तुलनायोग्य सूचकहरू तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउने अभीष्ट राखेको छ । कार्यविधिमा स्थानीय तहमा स्वमूल्याङ्कनका लागि दसवटा विषय क्षेत्रमा विभिन्न सूचक निर्धारण गरिएका छन् ।
प्रतिक्रिया