बाजुरा ः गरिबीमा जन्मनु दोष होइन तर गरिब भईरहनु दोषको रूपमा हेरिएको हुन्छ । आधारभूत आवश्यकता बास, गाँस, कपास सहित स्वास्थ्य र शिक्षाको पहुँच नहुनु गरिबी हुनु हो । जीवन जिउन व्यवसाय र सीपको अभाव हुनु वा पहुँचबाट टाढा रहनु पनि गरिबी हुनुको कारण मानिन्छ ।
राजनीतिक सचेतना नभएको र अरूको भोट बैंकको रूपमा रहेका, आर्थिक रूपमा जनजीविका र व्यवसायिक अवसर लिन नसकेका, भौगोलिक रूपमा दुर्गम विकट, शारीरिक रूपमा खाना नपुग्ने र स्वास्थ्यको सुविधाबाट बञ्चित वा फरक क्षमता भएका हुन्छन् ।
सामाजिक रूपमा पुरातन सोचमा विश्वास गर्ने जातीय र वर्गीय रूपमा अपहेलित, भौतिक रूपमा आवास र आवश्यक सुविधा बिहीन मानवीय अवस्थाले गरिबीको चित्रण गरेको हुन्छ । गरिबी र अभावले कतिपय व्यक्तिको सिर्जनशीलता, कला, गला र कौशल गुम्सिएर रहेका हुन्छन् ।
सोही कारण प्रताडित थिए मार्तडीका मनबहादुर नेपाली । सदरमुकाम मार्तडीमा सिलाई व्यवसाय गरेर लामो समय जीविकोपार्जेन गरेका उनको लत भने गीत संगीतमा बसेको थियो ।
सोही अनुसार पछिल्लो समय नेपालको ठूलो फ्रेन्चाइच ’रियालिटी शो’ द भ्वाइस अफ नेपालमा बाजुराका मनबहादुर नेपालीले आफ्नो प्रस्तुतीले सबैको मन जितेका छन् ।
पहिलो चोटी द भ्वाइस अफ नेपालमा दुर्गम जिल्लाबाट चारैजना कोचलाई प्रभावित गर्दै घुमाउन सफल भएका छन् । दोहोरी र केही समयदेखि गायन क्षेत्रमा रहेका नेपालीले चारैजना कोचहरुको एकैचोटी मन जितेका हुन् ।
टिम खेम सञ्चुरी रोजेका नेपालीले केही समय पहिले राजधानी काठमाण्डौंमा रहेको नैना रेशम दोहोरी साँझ नयाँ बसपार्क मित्र नगरबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका हुन् ।
बडीमालिका नगरपालिका-९ मार्तडी तल्लोबाँडा स्थायी घर भएका नेपाली कक्षा-२ पढ्दा बाल्यकालदेखि गीत संगीतमा गुनगुनाउने गर्ने गरेका थिए । नेपाली सानैदेखि गायन क्षेत्रमा सक्रिय रहेका थिए ।
गायन टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को सिजन–६ प्रसारण यतिबेला भईरहेको छ । नयाँ सिजनसँगै शोले नेपालमा धेरै प्रसारण हुने म्युजिकल रियालिटी शोको कीर्तिमान रचेको छ ।
छैटौं श्रृंखलासम्म आउँदासम्म द भ्वाइसले नेपाली टेलिभिजनको रियालिटी शोमा यस्तो पद्चाप छाडेको छ जसलाई संगीतमा करिअर बनाउन चाहने नयाँ पुस्ताले पछ्याई रहेका छन् ।
देशभरका दूरदराजका आवाज समेटेर द भ्वाइसले नयाँ गायन प्रतिभा जन्माएको छ । छैटौं सिजनसम्म आईपुग्दा शोको प्रविधि र विषयवस्तुको गुणस्तरमा परिवर्तन स्पष्ट भएको देखिन्छ ।
प्रतिक्रिया