बाजुरा ः पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप बाजुरामा ९७ प्रतिशत किशोरीले लगाएका छन् । गत माघ २२ देखि २९ गतेसम्म महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपीभी) खोप जिल्लाका ९ वटै स्थानीय तहमा लगाईएको छ ।
जिल्लामा बडीमालिकामा ९३७, बुढीगंगामा १ हजार १ सय ४१, बुढीनन्दामा ९६५ र त्रिवेणी नगरपालिकामा १ हजार १ सय ८९ जना किशारीलाई खोप लगाएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताएका छन् ।
त्यस्तै गौमुल गाउँपालिकामा ५३०, खप्तड छेडेदहमा १ हजार १ सय ३०, जगन्नाथ ४५८, स्वामीकार्तिक खापरमा ७१९ र हिमाली गाउँपालिकामा ५८० जना गरी कुल जम्मा ७ हजार ६ सय ४९ जनालाई खोप प्रदान गरिएको चन्दले बताएका छन् ।
विश्व स्वास्थ्य संगठनले समेत पाठेघरको क्यान्सर निको पार्न खोप प्रभावकारी र सुरक्षित मानिएको गार्डसिल भनिने एचपीभी खोप पाइलटका रुपमा दिन सुरु गरेको थियो । सरकारले सातवटा प्रदेशमा सहज तवरबाट खोप वितरण गरेको थियो ।
चिकित्सकका अनुसार पाठेघरको मुखका कोषिकाको असामान्य वा अस्वभाविक वृद्धि हुनु पाठेघरको मुखको क्यान्सर हो । यो ह्युमन प्यापिलोमा’ भाइरसको सङ्क्रमणका कारण हुने गर्दछ । (एचपीभी) ले महिलाहरुको पाठेघरको मुखको क्यान्सरको साथै यौनाङ्गमा आउने मुसा तथा यौनाङ्गको क्यान्सर समेत गराउन सक्छ ।
नेशनल लाईबेरी अफ मेडिसिनले सार्वजनिक गरेको अनुसन्धान अनुसार ९९.७ प्रतिशत पाठेघरको मुखको क्यान्सर ‘ह्युमन प्यापिलोमा भाइरस’को सङ्क्रमणले गर्दा हुने उल्लेख छ । ग्लोबल क्यान्सर अब्जर्भेटरीको पछिल्लो विवरण अनुसार फोक्सो क्यान्सरपछि दोस्रो स्थानमा पाठेघरको मुखको क्यान्सर रहेको उल्लेख छ ।
पाठेघरको मुखको क्यान्सर भएका प्रत्येक तीन जनामध्ये दुईको मृत्यु हुने अध्ययनको दाबी छ । कलिलै उमेरमा यौन सम्पर्क तथा भाईरस संक्रमण यसको मुख्य कारक मानिन्छ ।
कम उमेरमा विवाह, यौन सम्पर्क, बढी सन्तान जन्माउने, एक भन्दा बढी पुरुषसँग यौन सम्पर्क भएमा खानपीनमा ध्यान नदिने र कुपोषण भएका महिलाहरु यसको जोखिममा पर्ने गर्छन् ।
जनचेतनाको अभाव स्वास्थ्य सेवामा नहुँदा नेपालमा महिलाहरुमा देखिने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख रहँदै आएको छ । ह्युमन प्यापिलोमा भाइरस एचपीभीका सयभन्दा बढी प्रकार छन । (एचपीभी) अर्थात गार्डसिल खोपले नौ प्रकारका एचपीभीबाट बचाउने चिकित्सकहरुको भनाई छ ।
यसले (एचपीभी) खोपले संक्रमणबाट ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गरिने विश्वास लिइएको छ । सरकारले पाइलट प्रोजेक्टको रुपमा पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान सुरू गरेको छ ।
१४ वर्ष उमेर पूरा भएका र १५ वर्ष ननाघेका करिव १० हजार किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिएको हो । तत्कालका लागि सीमित स्रोत र साधन भएपनि छिट्टै खोप सबै किशोरीहरुले पाउने गरी सरकारले आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता सरकारको छ ।
विश्व स्वास्थ्य सङ्गठनले सुरुवाती चरणमा ९ देखि १५ वर्ष उमेर समूहका ९० प्रतिशत किशोरीलाई अनिवार्य खोप लगाउन भनेको थियो ।
प्रतिक्रिया