बाजुरा : बडीमालिकालाई छाउगोठ मुक्त नगर घोषणा गर्ने तयारी थालिएको छ । सामाजिक कुमान्यताका रुपमा रहेको कुप्रथालाई जरैबाट हटाउने उदेश्य सहीत पालिकाले छाउगोठ मुक्त नगर घोषणा गर्न लागेको हो । अभियान थालिएको दशक पुग्न लागेको छ ।
यस भन्दा अघिल्लो कार्यकालमा पनि ३ वटा वडालाई छाउगोठ मुक्त घोषणा गरिएको थियो । बडीमालिका नगरपालिका-३ रजालीलाई पहिलो वडाका रुपमा नगर प्रमुख पदम बडुवाल र उपप्रमुख कविता विष्ट हुँदा घोषणा गरिएको थियो । अमर खड्का र नन्दा थापाकाे नेतृत्वको टीमले सिंगो पालिकालाई घोषणा गर्ने अभियान थालेका छन् ।
हालसम्म पालिका भित्रका २, ३, ४, ५, ६ र ९ गरी ६ वटा वडालाई छाउगोठ मुक्त घोषणा गरिसकिएको छ । भने बाँकी रहेका १, ७ र ८ लाई पनि यो बर्षभित्रै घोषणाको तयारी थालिएको उपप्रमुख नन्दा थापाले जानकारी दिएकी छन् । थापाले यतिबेला छाउ कुप्रथाको वडा स्तरमा रहेको प्रभाव र गोठको अवस्था बारे जानकारी लिने अभियान थालेकी छन् ।
पालिका भित्रका ९ वटा वडा मध्ये पनि १ र ७ नम्बर वडामा बढी छाउकुप्रथाको प्रभाव देखिन्छ । गोठहरुपनि तीनै वडाहरुमा बढी भेटिएका छन् । बडीमालिका ८ सदरमुकाम मार्तडी रहेको वडा हो । तरपनि केही प्रभाव गोठछाना र गाउँबस्तीमा अझै रहिरहेको अवस्था छ । ८ नम्बर उपप्रमुख नन्दा थापाको आफ्नै गृह वडा हो ।
छाउगोठ मुक्त वडा घोषणा गरेर अर्को बर्षसम्म नगरपालिकालाई नै छाउगोठ मुक्त नगर घोषणा गर्ने गरी तयारी थालिएको बडिमालिका नगरपालिका उपप्रमुख नन्दा थापाले बताएकी छन् । थापा बिशेष गरि अनुगमन गर्ने, गोठ भए भत्काउने र सचेतना दिने काम गरिरहेकी छन् ।
छाउगोठ मुक्त नगर घोषणाका लागि जिल्ला प्रहरी कार्यालय सहीत गैर सरकारी संस्था र नगरपालिकाबीच लामो सहकार्य चलिरहेको छ । अझै बडीमालिका ७ र १ मा छाउगोठहरु प्रयोगमै रहेको पाइएको अनुगमनका क्रममा भेटिएका छन् । ती गोठहरुलाई भत्काएर सबैलाई घरमै बस्ने वातावरण गर्ने र लगत्तै घोषणा प्रक्रिया थाल्ने तयारी नगरपालिकाले गरेको नगर प्रमुख अमर खड्काले बताएका छन् ।
छाउ कुप्रथा बाजुराको प्रमुख समस्या जस्तै बनेको छ । बुढीनन्दा, हिमाली, स्वामीकार्तिक सहितका पालिकामा पनि प्रभाव रहेको देखिन्छ । गैरसरकारी संस्थाहरुले पनि छाउकुप्रथा विरुद्धको अभियान लामो समयदेखि सञ्चालन गर्दै आएका छन् ।
प्रतिक्रिया