बाजुरा : भीम रावल यतिबेला मातृभूमि जागरण अभियानका साथ गृह प्रदेश सुदूरपश्चिमको दौडधुपमा छन् । पौष १७ गते काठमाडौंमा पत्रकार सम्मेलन गरि रावलले जागरण अभियान घोषणा गरेका थिए । नेकपा एमाले केन्द्रीय कमिटी बैठकले रावललाई पौष १० गते पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो । लगत्तै रावलले आफ्नै अगुवाईमा मातृभूमि जागरण अभियान सुरु गरेका हुन् ।
कारवाहीमा परेपछि रावल माघ ३ गते गृह प्रदेश धनगढी पुगेका थिए । विमानस्थलबाटै उनी अछाम आए । माघ ४ गते विहान गृह जिल्लाको गृह पालिका साँफेबगरमा पहिलो कोणा सभा आयोजना गरे । त्यो पछि करिब महिनादिन रावलले अछाममै बिताए । राजनीतिक भेटघाट गरे । औपचारिक कार्यक्रममा अतिथी बने । साँफेबगर, मेल्लेख र चौरपाटीका वडाहरुमा संगठनका वटा र पालिका कमिटी पनि गठन गरे । यहि काममा रावलको व्यस्तता बढेको छ ।
अछामको महिनालामो बसाइपछि रावलले प्रदेश स्तरीय जागरण भेला पनि माघ २७ गते भनगढीमा आयोजना गरिसकेका छन् । यतिबेला दार्चुला र बैतडी जिल्लाको राजनीतिक भेटघाटमा व्यस्त छन्, रावल । ५१ वर्ष नेकपा एमाले र कम्यूनिष्टविचार सिद्धान्तको ज्ञानलिने र दिने काम गरे रावल अहिले गैर वामपन्थी विचारधारामा आवद्ध हुन्, आह्वान गरिरहेका छन् । गणतन्त्र, धर्मनिरपेक्षता बारे फरक दृष्टीकोण रावलमा देखिन्छ ।
उनको गृहप्रदेशको दौडधुपलाई नेकपा एमाले सहीत नेपाली राजनीतिका बिश्लेषकहरुले नजिकबाट नियाली राखेका छन् । भीमरावलको कारवाही वैकल्पिक शक्ति निर्माणको जग बन्ने र नेकपा एमालेलाई ठूलो नोक्सानी हुने बिश्लेषण एकतिर छ । भने अर्कातिर रावलको रिक्तताले नेकपा एमालेलाई कुनै असर नपर्ने तर्फ अर्कोतिर छ । आफैले बनाएको संगठन, त्यो पनि आधा शताब्दी, कुनै असर नै पर्दैन भन्ने कुरा गलत हुन जान्छ । तर बाहिर भनिए जसरी सबै सकिन्छ, एमाले सुदूरपश्चिममा रहदैन्, भन्ने भाष्य गलत हुने तर्फ एमाले नेताहरुको छ ।
भीम रावल अछाम निर्वाचन क्षेत्र १ बाट ५ पटक चुनाव लडेका छन् । त्यो मध्ये ३ पटक जितेका छन् । २ पटक हारेका छन् । बहुदल आएपछि भएका ७ वटा निर्वाचन मध्ये २ वटामा चुनाव लड्न पाएनन् । २०४८ मा नेपाली काँग्रेसका बलबहादुर कुँवरसँग हारे । २०५१ सालमा नेपाली काँग्रेसका गोविन्द्र शाहलाई हराए । २०५६ मा चुनाव हारे । माले एमाले विभाजित थियो । उनी एमालेबाट उम्मेदवार थिए । गोविन्द्र शाहसँग हारे । रावल विरुद्ध मालेका गोकुल खनालको उम्मेदवारी थियो ।
२०६४ मा रावल समानुपाति बसे । शेरबहादुर कुँवरलाई चुनाव लडाए । कुँवरले माओवादी केन्द्रमा झपड साउँदलाई हराए, नेपाली काँग्रेस तेस्रो बन्यो । २०७० मा फेरि रावल उम्मेदवार बने र नेपाली काँग्रेसका मेघराज खड्कासँग चुनाव जिते । २०७४ मा वाम गठबन्धन भयो । रावल पाँचौ पटक उम्मेदवार बने र नेपाली काँग्रेसका भरत स्वारलाई हराए । २०७९ मा जिल्लाबाट एकल नाम गएपनि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली रावललाई टिकट दिन तयार भएनन् ।
यतिबेलासम्म रावल, ओली र एमाले बीचको दुरी टाढाहुदै गइरहेको थियो । जब नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच एकता भयो । त्यो बेला बनेको ९ सदस्यीय सचिवालयमा रावल अटाएनन् । जतिबेला रावल एमालेको सबैभन्दा बढी मत ल्याएर जितेका बहालवाला उपाध्यक्ष थिए । त्यो समयदेखि नै सुरु भएको ओली रावल द्धन्द्ध अन्तिममा आएर पार्टीबाट निष्कासन गर्नेसम्मै पुग्यो ।
रावल सुदूरपश्चिमका ब्राण्ड नै हुन् । त्यसैमा नेकपा एमाले भित्रका सर्वशक्तिशाली नेता नै थिए । रावलको निष्कासनले एमाले नै सकिने अट्कलबाजी हुन थालेको देखिन्छ । रावल कारवाहीको प्रभाव सुदूरपश्चिम बाहेक, कर्णालीमा पनि पर्ने अनुमान छ । भने लुम्बीनी प्रदेशको बाँके बर्दियापनि असरबाट टाढा हुने छैनन् । तर भनेजस्तो र अनुमान आँकलन गरिएको जस्तो हुदैन, भन्नेमा एमाले नेताहरु ढुक्क छन् ।
सुदूरपश्चिमकै रावलको गृह जिल्ला अछाम र अछामबाट तराइ झरेका कैलालीका केही क्षेत्रमा एमाले हराउने भूमिका रावलको हुने निश्चित जस्तै देखिन्छ । त्यो स्थानीय तह र संघ प्रदेशको निर्वाचनले नै देखाइसकेको छ । जति २०७९ को स्थानीय तह, संघ र प्रदेशको चुनावमा असर पुग्यो त्यही हाराहारको असर पर्ने अनुमान एमाले नेताहरुको छ । त्यो बेलापनि रावलको भूमिकामा शंका एमालेजनमा थियो ।
मौन बसेर कोठाबाटै असहयोग गरेको दाबी स्वयम उम्मेदवारको छ । संघ र प्रदेशको उम्मेदवारी दर्ताको दिन नै अछाम क्षेत्र नम्बर १ का उम्मेदवार झपड बोहरा विरुद्ध कालोझण्डा र विरोध प्रर्दशन गरिएको थियो । रावल निकट कार्यकर्ताबाटै ओली र एमाले विरुद्ध नाराबाजी नै गरेका थिए । रावल निकट गोप्य श्रोतका अनुसार एमाले उम्मेदवार झपड बोहरालाई उम्मेदवारी दर्ता नै रोक्ने भित्री योजना थियो । तर सफल हुन सकेन् ।
अछाम र अछामबाट अर्को जिल्ला बसोबास गरिरहेका र नातासम्बन्ध भएका बाहेकले रावलको अभियानलाई साथ दिने अवस्था पछिल्लो घटनाक्रमले देखिएको छैन् । माघ ४ गतेदेखि अछाममा सक्रिय रहँदा पनि आफ्नै भिजानु गोविन्द्र कुँवर बाहेक प्रभावी अनुहार कोही पछि लागेको देखिदैन् । रावलको समर्थनमा रहनेजति सबै समाजवादीमै छन् । समाजवादीले विभाजनपछि एमाले विरुद्ध काम गरिरहेकै छन् । रावलको उपस्थिति पनि त्यसैको निरन्तरता हुने अछाममा बिश्लेषण गर्न थालिएको छ ।
२०७८ को पौषमा नेकपा एमाले अछामको अधिवेशन भएको थियो । अधिवेशनमा सहमति हुन सकेन् । सिंगो कमिटीका लागि चुनाव भयो । १ सय ५ सदस्यीय जिल्ला कमिटी बन्यो । त्यसमा भीम रावल पक्षबाट ४६ जना निर्वाचित भए । उपाध्यक्ष, सचिव र एक उपसचिव पनि रावल पक्षबाटै जिते । त्यो निर्वाचित कमिटी अहिलेपनि जारी छ । ती १ सय ५ जना मध्ये १० जना मात्रै रावलको पक्षमा देखिएका छन् ।
जिल्ला कमिटी अछामको विश्वस्त श्रोतका अनुसार १० जना मध्येपनि ९ साँफेबगर नगरपालिका भित्रका छन् । जो रावलको गृह पालिका हो । १ जना बाहिरका छन् । बाहिरको पालिकाका जिल्ला सदस्यले केहीदिनमै फर्किने बचन समेत दिइसकेको एमाले श्रोतको दाबी छ । पदाधिकारी कोही पनि रावलको पक्षमा उभिएनन् । भेटघाट गरे, समर्थन मागे । घरमै बोलाए, तर टसमस कोही भएको देखिदैन् ।
बाहिर हल्ला गरिएजस्तो मावल नभएको नेताहरुको दाबी छ । रावलको प्रभाव छैन् भन्ने होइन्, ५१ वर्षको राजनीतिक विरासत छ । तर जसरी सबै सकियो, एमाले नरहने भयो, भन्ने कुरा बेकार हो, वाइयात हो, एमाले र काँग्रेसको विकल्प रावल होइन्, पूर्व पत्रकार समेत रहेका नेपाली काँग्रेसका नेता राम कुँवरले बताए ।
एमाले हार्न सक्छ । त्यो पनि गृह पालिका अछामको अवस्था हेरेर मात्रै हो । केही काँग्रेस र माओवादीले साथ दिएजस्तो गरेको देखिन्छ, पछि फर्किने गरी मावलमा मिसिएका मात्रै हुन्, रावलको अभियान एमाले माथि हुने कुनै आधार र विश्वास छैन्, कुँवरले भने । आफ्नो राजनीतिक भविष्य बर्बादीमा कोही तयार नहुने र एमाले कमजोर हुने कुरा सही नभएको कुँवरले थपे ।
अहिलेको अवस्था हेर्दा समग्र अछाममा १० देखि १५ प्रतिशत र रावलको गृह पालिकामा ४० प्रतिशत एमाले भित्र समर्थन रावलको पक्षमा देखिन्छ । त्योपनि सुरुमा जस्तो अहिले छैन् । कारवाहीपछि धेरै जना रिसाए, गाली गरे, एमाले छोड्ने घोषणा गरे, तर पछि शान्त भइसके । विचार र आस्थालाई छोडेर व्यक्ति रोज्ने कुरामा कमैले मात्रै साथ दिने भन्छन्, अछामका अनुभवी पत्रकार शिवराज खत्री ।
नेकपा एमाले अछाम जिल्ला सचिव भीम रावल कालोटोपीले पनि रावलको पक्षमा पुरै मावल भन्ने कुरा गलत भएको बताए । रावल एमाले र सुदूरपश्चिमको ब्राण्ड हुन् । पार्टीमै काम गर्ने वातावरण मिलाउन सके राम्रो हुन्थ्यो, अब सकिएन्, नेतृत्वतहबाटै व्यवस्थापन भएन्, भने तल सोचेर केही हुदैन्, एमाले जुन गतिमा छ, त्यसरी नै अघि बढ्छ, कमजोर हुदैन्, बलियो नै बनाउन अछामको पार्टी नेतृत्व सक्षम छ, रावलले भने ।
अछाममा १० वटा स्थानीय तह छन् । स्थानीय तहको हकमा २०७४ र २०७९ दुबै चुनावमा माओवादी, काँग्रेस बीच अघोषीत आपसी तालमेल भएर नै चुनाव लडेका हुन् । त्यो बेलाको अवस्था हेर्दा १ अध्यक्ष २ मेयर र २ उपमेयर जितेको थियो । भने २०७९ को चुनावमा समाजवादी टुक्रिएर जाँदा पनि १ मेयर, २ उपमेयर, १ अध्यक्ष र २ उपाध्यक्ष जितेको छ । मतसंख्या हेर्दापनि एमाले झन बलियो भएको देखिन्छ । अछाममा ९१ वटा वडा छन् । २०७४ मा ३६ जितेको एमालेले २०७९ मा ३८ वटा वडा जितेको छ ।
२०७९ मा समाजवादीले साथ छोड्दा, काँग्रेस, माओवादी र समाजवादी मिलेर चुनाव लड्का र भीम रावल मौन बस्दा पनि अछामका १४ वटा वडा मध्ये एमालेले ३ वटा वडा जितेको छ । तीनै जना हालपनि एमालेमा नै छन् । २०७४ मा १४ मध्ये साँफेबगर नगरपालिकामा मेयर उपमेयर सहीत ८ वटा वडा जितेको थियो । त्योबेलाका मेयर उपमेयर सहीत अधिकांश जनप्रतिनिधी समाजवादीमा छन् ।
एमालेमा भएपनि २०७९ को संघ प्रदेश र स्थानीय तह चुनावमा रावल मौन बसे, सक्रिय भएनन् । २ वटा कार्यक्रम बाहेक स्थानीय तहको चुनावमा मतहाल्न मात्रै आएको आरोप एमालेबाट जनप्रतिनिधी उठेकाहरुकै छ । उनीहरु असर परेपनि सहने तर रावलले जता भन्यो उतै नजाने भन्नेमा छन् ।
२०७४ सालको चुनावमा भीम रावलले २४ हजार ८ सय ९३ मत ल्याएर जिते । भरतबहादुर स्वारले १७ हजार ६ सय ८९ मत ल्याएका थिए । २०७९ मा एमाले टुक्रिएर अलग बनेको नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवरले जिते ।
काँग्रेस माओवादी सहीतको समर्थनमा कुँवरले १९ हजार ५ सय ३४ ल्याएर । नेकपा एमालेका झपड बोहराले १५ हजार ४५ मत ल्याए । रावल पक्षधरको मौनता, पार्टी विभाजन, बलियो गठबन्धनका बीच ल्याएको मतमा नेकपा एमाले केन्द्रीय सदस्य एवं अछाम जिल्ला इन्चार्ज समेत रहेका झपड बोहरा सन्तुष्ट छन् । उनी अछाममा एमाले अहिलेको अवस्थाभन्दा बलियो हुनेमा ढुक्क छन् । २ नम्बर क्षेत्रमा झनै रावलको प्रभाव नपर्नेमा काँग्रेस माओवादी नै सहमत छन् ।
तर भीम रावल पक्षधरहरु हौसियको अवस्था छ । उनीहरुले साँफेबगर, चौरपाटी र मेल्लेखमा वडा र पालिका कमिटी गठन गरेका छन् । करिब २ हजार बढीले लिखित निवेदन सहीत एमाले छोडेर मातृभूमि जागरण अभियानमा सक्रिय भएको भीम रावल निकट रतन रावलले जानकारी दिए । नाम राखिएकामध्ये धेरैले नसोधेर राखियो भनेर सामाजिक सञ्जालमा लेखेको पनि देखियो खास के हो भन्ने प्रश्नमा उनले अपवादमा केही भएपनि सबैले रावल सरलाई नै सहयोग गर्ने र देशभक्त पार्टी निर्माणको अभियानमा सक्रिय रहने बचनका साथ आएको रावलको दाबी छ ।
रावलका संस्थापक सारथी नै छैनन् साथमा
अछाममा नेकपा एमालेको पार्टी संगठन विस्तारमा रावलको भन्दा अरुको भूमिका बढी छ । विद्यार्थी राजनीतिमा स्थापित भएपनि जिल्लामा अरुले नै संगठन विस्तारमा सुरुवादी भूमिका खेलेका थिए । तर सुरुवाद गरिएको संगठनको कामलाई मलजल गर्ने भूमिकामा फेरि रावलकै पुस्ता सक्रिय बन्यो । भीम केसी सहीत जगत बोगटी, भैरव बोहरा, रेवन्त कुँवर, प्रेम कुँवर, भीम खडायत, गोकुल खनाल, झंकर रावल भीम रावलका सारथी थिए ।
अछामका चोक चौतारा, गाउँ बेशी, गोठछाना सबैतिर संगठन निर्माणको अभियानमा उनीहरु सुरुमा एकसाथ देखिन्थ्ये । पछि विस्तार रावल बाहेक सबैजना साइड लागे । मुलधारमा देखिन छोडे कतिले राजनीति छोडे त केहीले पार्टी । अर्को पार्टीमा आवद्ध भए । रावलकै पेलानबाट उनीहरुले एमालेको विकल्पमा लागेको र कोही निस्क्रीय भएको आरोप अहिलेपनि लाग्ने गरेको छ ।
यी पहिलो पुस्ताका सारथी बाहकेकाहरुले पनि साथ छोडेका छन् । रावल धनगढी विमानस्थल पुग्दा होस् की अछाम आउँदा होस्, काठमाडौंमा हुँदा होस् की अन्य कुनै कार्यक्रममा साथ नछोड्नेहरुले पनि अहिले समर्थन गरेका छैनन् । केही जना पेलानबाट टाढिए केही राजनीतिबाट विराक्तिए ।
उसोत उनीहरुलाई पाखा लगाएर काखी च्याएकाहरु पनि साथमा रहेनन् । भीम रावलले आफू पछि शेबहादुर कुँवर, कुल कुँवर, शिलोज कुँवर, हिक्मत कुँवरलाई सबैभन्दा धेरै साथ दिए । नजिक राखे । तर उनीहरु पनि रावलसँग टिकेनन् । रावल १० बुँदे सहीत एमालेमै बस्दा उनीहरु नेकपा एसतिर लागे । हाल उनी रावलसँगको सम्पर्क सम्बन्धमा छैनन् । उनीहरुका कार्यकर्ताले भने मातृभूमि अभियानमा साथ दिइरहेको देखिन्छ ।
पार्टी विभाजनसँगै रावलको कमजोर मावल
करिब तीन दशकसम्म रावल शक्तिशाली र प्रभावशाली एमाले नेताको रुपमा स्थापित थिए । जे भन्यो त्यही चल्थ्यो । एमाले हुँदा होस्, की माओवादीसँग एकता गरेपछिको नेकपा हुँदा होस् । रावल शक्तिशाली र प्रभावी भइरहे । नेकपामा विभाजन आयो । ओली एकतिर र प्रचण्ड र माधव अर्कोतिर लागेर समूह बनाए । त्योपनि पनि रावल सुदूरपश्चिममा एकल शक्तिमा देखिए ।
लेखराज भट्ट र कर्णबहादुर थापा ओलीको पक्षमा लागेपछि सुदूरपश्चिम प्रदेश सभामा तत्कालीन सभामुखसहित एमालेका २५ जना सांसदमध्ये १८ जना ओलीको विरुद्धमा उभिए । ओली समूहमा ७ जना मात्रै थिए । संसदीय दलका नेता प्रकाश शाहसहित १८ जना सांसद रावल पक्षमा थिए ।
ओली पक्षले तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिँदा रावल पक्षका १७ ले विश्वासको मत दिएका थिए । जब १० बुँदे सहमति गरेर रावल एमालेमै रहे अनि उनीमाथि ग्रहदशा लाग्यो । उनका निकटस्थ भनिएकाहरुले नै माधव कुमार नेपालले नेतृत्वमा दर्ता गरिएको नेकपा एकीकृत समाजवादी रोजे । २५ मध्ये १४ सांसद नेकपा एसमै रहे ।
रावलको शक्ति त्यही दिनदेखि कमजोर हुँदै गयो । रावल एमालेमा रहँदा पनि सुदूरपश्चिममा नेकपा एस सबैभन्दा ठुलो दल बनेको थियो । त्यसको नेतृत्व कुनै समय रावलका सबैभन्दा प्रियपात्र मानिने दीर्घ सोडारीले गरेका थिए । रावलले खल्तीबाटै छानेर बनाएर र पद दिएकाहरुले नै रावलको साथ छोडे । जुन हालको अवस्थाको पहिलो कारण त्यही हो । त्यसपछि प्रदेशमा पनि कमजोर हुँदै गए रावल ।
१० बुँदे सहमति गरेर नेकपा एस जान रोकिए पनि सुदुरपश्चिममा रावलको हैकम समाप्त भयो । पार्टीलाई २०७५ जेठ २ अघिको अवस्थामा फर्काउन सहमति जनाएका ओली सुदूरपश्चिमको इन्चार्ज भने रावललाई दिन तयार भएनन् । २०७८ भदौ २७ गते ओली निवास बालकोटमा बोलाएर अध्यक्ष ओलीले भीम रावललाई उपाध्यक्षको हैसियतमा समन्वय गर्ने र लेखराज भट्टले इन्चार्जको रुपमा काम गर्ने बताएका थिए ।
२०७७ साल फागुन २३ सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि ओली बलियो हुँदै गए र रावल कमजोर पर्दै गए । माधव नेपालसँग समेत सम्बन्ध चिस्सिएपछि रावल ओली र माधव दुबैबाट किनारामा परे । पार्टी एकताको लागि नेपाल पक्षबाट रावलको नेतृत्वमा कार्यदल तयार गरिएको थियो । तर, कार्यदलले तयार गरेको सहमतिमा माधव नेपालले असन्तुष्टि व्यक्त गरेपछि रावल र नेपालबीच दूरी बढेको थियो ।
रावललाई लागेको महाधिवेशनको झट्का
२०७८ मङ्सिरमा सम्पन्न एमालेको दशौं महाधिवेशनमा रावलले ओलीसँग अध्यक्ष पदमै प्रतिस्पर्धा गरे । रावलको त्यो निर्णयले निर्विरोध अध्यक्ष हुने ओलीको चाहनामा ठेस लाग्यो । तर रावलले २ सय २३ मत पाउँदा १ हजार ८ सय ३७ मत पाएर ओली नै एमाले अध्यक्ष दोहोरिए । त्यस्तो नतिजा स्वाभाविक थियो । रावलले जिद्दी र जवाफका लागि अभ्यासमा भाग लिएको रिस ओलीमा अहिलेसम्मै छ ।
किनकि ओलीले पढेर सुनाएको सूचीमा नपर्नेहरू पदाधिकारीदेखि केन्द्रीय सदस्य समेत जित्ने अवस्था त्यो महाधिवेशनमा थिएन । चुनाव नजित्ने निश्चित रहेको महाधिवेशनमा रावल, घनश्याम भुसाल, भीम आचार्य र टंक कार्कीले पदाधिकारीमै उम्मेदवारी दिएर हारे । उपाध्यक्ष बस्न आग्रह गर्दापनि रावलले मानेनन् ।
महाधिवेशनपछि त रावलले केन्द्रीय सदस्यको शपथ नै लिएनन् । पदाधिकारीमा उम्मेदवारी दिनेको प्रतिस्पर्धा केन्द्रीय सदस्यमा पनि हुने व्यवस्था एमाले विधानमा छ । तर रावलले त्यस्तो व्यवस्थाकै विपक्षमा अडान लिए । त्यसपछि रावललाई गत चुनावमा अछाम–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भयो ।
प्रदेश, जिल्ला हुँदै प्रदेश कमिटीले समेत रावललाई उम्मेदवार बनाउने निर्णय गरे पनि ओलीले टिकट दिएनन् । रावलको साटो झपट बोहरालाई ओलीले एमालेको टिकट दिए । टिकट खोसिँदा रावलको संसदीय बाटो बन्द भयो । रावलले बोहरालाई हराउन पनि भूमिका खेलेको आरोप लाग्ने गरेको छ । रावल भने यो स्वीकार गर्न तयार छैनन् ।
ओली र रावल अन्तरद्धन्द्धको असर
२०४६ सालमा नेता झलनाथ खनालको स्वकीय हुँदै ०५२ सालमा पर्यटन राज्यमन्त्री, २०५५ मा पर्यटनमन्त्री बनेका रावललाई २०६२ मा पार्टीले शिक्षामन्त्रीमा सिफारिस गरेको थियो । तर चाहेको मन्त्रालय नपाएपछि सरकारमै सहभागी भएनन् । २०६४ सालमा समानुपातिक सभासद्, २०६६ मा गृहमन्त्री र २०७२ मा उपप्रधानसहित रक्षामन्त्री बनेका थिए ।
२०६५ सालको आठौँ महाधिवेशनमा एउटै गुटबाट अध्यक्ष र उपाध्यक्षको उम्मेदवार भएर ओली र रावलले चुनाव लडे । झलनाथ खनालविरुद्ध प्यानल बनाएर चुनाव लड्दा ओलीले रावललाई उपाध्यक्षको उम्मेदवार बनाएका थिए । तर ओली र रावल दुवै हारे ।
उपाध्यक्ष हारेपछि रावल गृहमन्त्री भए । २०६६ सालमा माधव नेपाल प्रधानमन्त्री र रावल गृहमन्त्री थिए । ३ असोज २०७२ मा संविधान जारी भएपछि रावललाई ओलीले उपप्रधान एवं रक्षामन्त्री बनाए । २०७४ सालको चुनावपछि भने ओली र रावलबीच खटपट देखिन थाल्यो । भीम रावल छोडेर केपी ओलीले बिना मगरलाई मन्त्री बनाएपछि समस्या आउन थालेको हो ।
२०७४ सालको चुनावमा सुदूरपश्चिमको दुई सिट (शेरबहादुर देउवा र रेशम चौधरी) बाहेक सबै क्षेत्र वाम गठबन्धनले जितेको थियो । यसको स्वाभाविक हकदार भीम रावलले आफूलाई ठान्थे । तर, सरकारमा ओलीले ल्याएनन् । जसको असर तत्कालीन नेकपाभित्र खटपट हुँदा देखियो । एमसीसीको चर्को आलोचक भएर रावलले सरकारको नेतृत्व गरिरहेका ओलीविरुद्ध सार्वजनिक दबाब सिर्जना गरे ।
एमालेको ग्रास रुट अभियानअन्तर्गत अछामको साँफेबगरमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उपस्थित रहेको कार्यक्रम भीम रावलको विषय उठान भएपछि उनका समर्थकहरूले विवाद गरेका थिए । त्यसलगत्तै रावलसँग संवाद गर्न तीन सदस्यीय टोली गठन गरिएको थियो ।
उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा प्रदेश इन्चार्ज लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको समिति गठन भयो । छलफल गरियो । पछि रावलले ओलीसँगै कुरा राख्ने बताएका थिए । साउन ३० गते अध्यक्ष ओली र नेता रावलबीच भेटघाट भएको भयो । सम्भवत् औपचारिक रुपमा दुई जनाको त्यही भेट नै अन्तिम भेट थियो । ओलीले भेटपछि अर्काे निम्तो दिएनन्, रावल फेरि भेट्न गएनन् ।
प्रभावकारी नबनेको प्रदेश स्तरीय धनगढी जागरण भेला
भीम रावलको प्रदेश स्तरीय मातृभूमि जागरण भेला नै उत्साह जनक हुन सकेन् । अभियानको औचित्य बारे जानकारी दिने र देशभक्तहरुलाई एकतावद्ध गराउने उदेश्य भेलाको थियो । होटल पौवामा आयोजित भेलालाई आफ्नो शक्ति प्रदर्शनका रुपमै लिएका थिए, भीम रावलले । जागरण भेलालाई बिशेष गरि नेकपा एमालेले पनि रावलको शक्ति देखाउने कार्यक्रम र प्रभाव देखिने मञ्चका रुपमा लिएको थियो । तर पहिलो प्रदेश स्तरीय भेलालाई खासै अर्थपूर्ण र प्रभावी बनाउन सकेनन् ।
न पार्टी छोड्नेहरुको भीड लगाउने सके, न आफ्नो पक्षमा बाक्लो उपस्थिति नै गराउन सके । हलमा भरिभराउ जस्तो संख्या देखिएपनि त्यो अनुमानभन्दा धेरै कम संख्या र समर्थन देखियो । मञ्चमा बस्ने कृष्ण सुवेदी र गोविन्द्र कुँवर बाहेक विकाउ अनुहार पाएनन् ।
बरु भीम रावलले जागरण भेलालाई नेकपा एमाले र पार्टी अध्यक्ष केपीशर्मा ओली माथि रिस र आक्रोश पोख्ने थलोका रुपमा रावलले प्रयोग गरेको देखियो । मञ्चमा बस्ने प्रभावी अनुहार नदेखेपछि बाक्लो संख्यामा उपस्थितहरु नै उत्साहीत भएनन् । भेलामा सहभागि अनुहार हेर्दा एकीकृत समाजवादी पार्टी नेता कार्यकर्ताहरु नै बढी देखिए ।
नेकपा एमाले र नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुको सहभागि कम देखियो । सहभागि भएका मध्येपनि अधिकांश अनुहार अछाम जिल्ला घर भई धनगढीमा बसोबास गर्नेहरु नै थिए । त्यसमा पनि रावलकै गृहपालिका साँफेबगरका थिए । आफन्तहरुलाई अनिवार्य जस्तै गरिएको थियो ।
रावल कुनै बेला नेकपा एमाले भित्र सिंगो सुदूरपश्चिमका ब्राण्ड र एकल नेतृत्व हुन् । उनी पछि लाग्नेहरुको बाक्लै लाम र रौनक हुन्थ्यो । माला खादा सहीत विमान स्तर पुग्ने अधिकांश नेता कार्यकर्ता जागरण भेलामा देखिएनन् । साथमा रहेर लामो समय सहकार्य गरेर साथ दिएका र फाइदा लिएकाहरु पनि कार्यक्रममा रावलको भाषण सुन्नकै लागि भएपनि पुग्न आँट गरेनन् ।
जुन सन्देश अनुमान गरिएभन्दा धेरै भिन्न भयो । काठमाडौंले जे जस्तो अनुमान आँकलन गरेपनि सुदूरपश्चिम एमाले एकतावद्ध र एक ठाउँमा रहेको दाबी प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशीको छ । उनले मातृभूमि जागरण अभियानको रहरमा एमालेजनले साथ नदिने बताए । सुरुमा एमालेले साथमा हिँड्नेहरुलाई कारवाही नै गर्यो । एकपछि अर्कोलाई विज्ञप्ती मार्फत कारवाहीको जानकारी गरायो । पछि तीनीहरुले पार्टीमा रहेको दाबी गर्न थालेपछि प्रदेश कमिटीपनि रावलको अभियान प्रति सचेत देखिन्छ । त्रासमा छैन् ।
प्रतिक्रिया