बाजुरा : गौमुल गाउँपालिकाको केन्द्र घट्मुनामा आधारभूत अस्पतालमा कार्यरत सिनियर अनमी रमा थापा रोकाया सहित स्वास्थ्यकर्मीको टोली गर्भवती महिलाहरुको चेकजाँच गर्न शुक्रबार वडा नम्बर-३ को माझपाली आधारभूत स्वास्थ्य केन्द्र गएको थियो ।
भिडियो एक्सरे र अन्य चेकजाँच गर्ने स्वास्थ्यकर्मीहरुको टिम गाउँकै स्वास्थ्य संस्थामा गएपछि सोही वडा गर्जेकी २२ वर्षीया सिर्जना बाेहरा गर्भ जाँच गर्न स्वास्थ्य संस्थामा गएकी थिइन् । गर्भजाँच गराएर घर फर्किने क्रममा बीच बाटोमै बच्चा जन्माइँन ।
गर्भजाँच गराएर घर जादै गर्दा करिब आधा घण्टाको बाटो हिडेपछि पेट दुखेको संकेत भयो । स्वास्थ्य संस्थाबाट बाेहरासंग गर्भजाँच गराएर आएकी अन्य गर्भवती महिला समेत थिइन् । चसक्क पेट दुखेको केही समयपछि भेरेटो बाटो थली भन्ने ठाउँमा बाेहराले बच्चा जन्माएको साथमा भएकी महिलाले बताएकी छन् ।
सिर्जनाले बाटोमै ३ किलो १५० ग्राम छोराको जन्म दिएकी हुन् । सिर्जनाको सुत्केरी हुने मिति भने माघ २० गतेको थियो । सीअनमी रमा थापा रोकायाका अनुसार भिडियो एक्सरे र अन्य चेकजाँच गर्दा सामान्य थियो, उनलाई सोध्दा समेत स्वास्थ्यमा कुनै समस्या नरहेको भनेकी थिइन् ।
अनि परामर्श दिएर घर पठाएको र केही समयपछि बीच बाटोमा सुत्केरी भएकी भन्ने खबर गरेको बताएकी छन् । बाटोमै बच्चा जन्माएको खबर पाए लगत्तै माझपाली आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरु स्टेचर बोकेर सुत्केरी भएको ठाउँमा पुगेको थिए ।
उनले भनिन् हामी पुग्नुभन्दा पहिला नै बच्चा जन्मिसकेको थियो, आमा र बच्चाको चेकजाँच गर्यौं, आमा र बच्चा दुबैको अवस्था सामान्य रहेकाले सुत्केरी सामाग्रीको प्रयोग गरी बच्चाको नाभी काटेर स्वास्थ्यकर्मीहरुले स्टेचरमा बोकेर माझपाली स्वास्थ्य संस्था ल्याएर अन्य सेवा दिईएको हो ।
अहिले आमा र बच्चाको अवस्था भने सामान्य रहेको छ । २४ घण्टा स्वास्थ्य संस्थामा राखेर आज डिस्चार्ज गरिएको छ । भौगोलिक विकटता जहाँ अहिले पनि सडक पहुँचमा छैन् । जसका कारण बिरामीलाई स्टेचरमै बोकेर अस्पताल तथा स्वास्थ्य संस्थासम्म पुर्याउनु पर्ने बाध्यता रहेको छ ।
शुक्रबार एच.पी.भी. खोपको रिपोर्ट तयार पार्न तथा गर्भवती महिलाको चेकजाँच गर्न गाउँमा पुगेकी सिनियर अनमी रमा थापा, स्टाफनर्स सीता खड्का र माझपाली आधारभूत स्वास्थ्य संस्थामा कार्यरत पुष्पा रोकाया सहितको स्वास्थ्यकर्मीको टोलीले सुत्केरी महिला सिर्जनाको उद्धार गरेका हुन् ।
स्वास्थ्यकर्मी र गर्जे टोलकी महिलाको सहयोगमा सिर्जनालाई स्टेचरमा बोकेर स्वास्थ्य संस्था पुर्याएको स्टाफनर्स सीता खड्काले बताएकी छन् । सुत्केरी भएको ठाउँबाट घर जान १ घण्टा र स्वास्थ्य चौकी जान आधा घण्टा लाग्ने गर्दछ ।
भीरको बाटो, हिडडुल गर्न त्यति सजिलो छैन्, साथमा महिला भएर सुत्केरी सिर्जनालाई सहज भएको हो । दुर्गम जिल्लाका कतिपय ठाउँहरु अझैपनि सडक सञ्चालनसंग जोडिएका छैन्, जसले गर्दा बीच बाटामै जोखिमका साथ बच्चा जन्माउनु परेको छ । भने समयमै उपचार नपाउँदा अकाल्मै कयौं आमाले ज्यान गुमाउने गरेका छन् ।
सिर्जना सहित १७ जना गर्भवती महिलाको चेकजाँच
गौमुल गाउँपालिका-३ मा गर्भवती महिलाहरुको चेकजाँच गरिएको छ । माझपाली आधारभूत स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीको टोलीले सिर्जना सहित १७ जना महिलाको गर्भ जाँच गरेको हो ।
गौमुल गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत सिनियर रमा थापा र स्टाफ नर्स सीता खड्काले स्वास्थ्य संस्थामा पुगेर चेक जाँच गरेको हो । बिच बाटोमै बच्चा जन्माएकी सिर्जना बाेहरा सहित १७ जना गर्भवती महिलाको अल्टसाउण्ड गरिएको सिनियर अनमी रमा थापा रोकायाले बताएका छन् ।
प्रत्येक महिनामा वडामा रहेका स्वास्थ्य संस्थामा गर्भवतीको चेकजाँच गर्ने गरेको उनले बताईन् । वडामा रहेका स्वास्थ्य संस्थाहरुमा नियमित गर्भजाँचको सेवा प्रदान गर्न थालेपछि गर्भवती महिलालाई पछिल्लो समय सहजता भएको छ ।
प्रतिक्रिया