बाजुरा : गौमुल गाउँपालिकामा फर्निचर सम्बन्धी युवाहरुलाई तालिम दिन थालिएको छ । सीप सिकाएर स्वरोजगार बनाउँने उद्देश्यसहित तालिम सञ्चालन गरिएको हो । गाउँपालिकाको आयोजनामा मध्यम अवधिको व्यवसायीक फर्निचर तालिम १ र २ नम्बर वडामा सञ्चालन गरिएको गाउँपालिका उद्यम विकास शाखाका प्रमुख अमृत साउँदले बताएका छन् ।
गाउँकै दक्ष सहजकर्ता मार्फत काठका विभिन्न समाग्री बनाउँने तालिम सञ्चालन गरिएको उनले बताए । चालु आर्थिक वर्षको सिप विकास कार्यक्रम अन्र्तगत बेरोजगार युवालाई वडा नं.२ का १६ जनालाई मध्यम अवधिको र वडा नं.१ का १० जनालाई पुर्नताजकीय फर्निचर सम्बन्धी तालिम दिन थालिएको साँउदले बताएका छन् ।
तालिम १ महिनासम्म सञ्चालन हुनेछ । तालिम अवधिभर सहभागिहरुलाई टेबल, बेन्च, खाट, दराज, झ्याल तथा ढोका लगायतका सामाग्री निर्माण गर्न सिकाईने भएको छ । उनीहरुलाई रन्दा, आरी, छिना, ह्याम्मर, स्केल लगायत निर्माण गर्न आवश्यक पर्ने सामाग्री समेत प्रदान गरिएको छ ।
सामानको माग पनि गाउँमा बढिरहेको छ । तर प्रशस्त मात्रामा काठ पाईने भएपनि गाउँमै गुणस्तरीय फर्निचर निर्माण गर्ने सक्ने दक्ष मान्छे नहुँदा बाहिर निर्माण गर्ने गरेका छन् ।
सबै प्रकारका फर्निचरका सामाग्री निर्माण गर्न सक्ने व्यक्ति उत्पादन गर्न तालिम सञ्चालन गरिएको वडा नं.२ का वडाध्यक्ष देव बहादु रोकयाले बताएका छन् । आत्मनिर्भरसंगै व्यवसायीक बनाउन तालिमले सञ्चालन गरिएको वडा नं.१ का वडाध्यक्ष देबेन्द्र बहादुर रोकायाले बताएका छन् ।
तालिममले रोजगारी सिर्जना हुने विश्वस रहेको उनले बताए । तालिम वडा नं.२ मा रहेको दहकोट मावि र वडा नं.१ को अम्लिसमा बसञ्चालन भएको छ । गाउँपालिकाले आत्मनिर्भर बनाउने उद्देश्यसहित हरेक वर्ष विभिन्न सिपमूलक तालिम प्रदान गर्दै आईरहेको छ ।
प्रतिक्रिया