बाजुरा : नेकपा एमालेबाट निष्कासित पूर्वउपाध्यक्ष भीम रावल र स्थायी कमिटी सदस्य कर्णबहादुर थापा एकसाथ धनगढी पुगेका छन् । शुक्रबार विहान श्रीएयरको जहाजमा एउटै सिटमा बसेर रावल र थापा धनगढी पुगेका हुन् ।
रावल एमालेबाट निष्कासन भएपछि नयाँ पार्टीको अभियानमा लागिरहेका छन् । थापा भने रावलाई कारबाही गर्न नहुने पक्षमा थिए । धनगढी विमानस्थलमा रावलका समर्थकले भव्य स्वागत गरेका थिए । भने थापा एक सरकारी गाडीमा धनगढीतर्फ लागेका थिए ।
नेता रावल पार्टीबाट निष्कासित भएपछि पहिलो पटक गृहप्रदेश सुदूरपश्चिमको यात्रा सुरु गरेका हुन् । रावलको स्वागतका क्रममा विमानस्थलमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी समेत गरेका थिए ।
नेता रावल र थापा एउटै जहाजको एकै सिटमा बसेर धनगढी आएपछि उनीहरुलाई महत्वका साथ हेरिएको छ । नेता रावलले आफ्नो नेतृत्वमा नयाँ पाटी स्थापना गर्ने बताउँदै आएका छन् । विहीबार मात्रै पार्टीको नाम र अवधारणपत्र सार्वजनिक गरेका थिए ।
उनको पार्टीको नाम मातृभूमि जागरण अभियान नेपाल रहने जनाएको छ । रावलको नयाँ अभियानमा थापाले पनि साथ दिन्छन् त ? भन्ने प्रश्न कतिपयको मनमा लागेको छ । गृहप्रदेश एकसाथ आएपछि रावल र थापाका समर्थकले निकै महत्वका साथ हेरेका छन् ।
प्रतिक्रिया