गाैमुल खबर डटकम शुक्रबार ३०, फागुन २०८१ ११:४४

चार वर्षसम्म पनि बाजुराका बाढी पीडितले राहत पाएन, राज्य हालसम्म बेखबर

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, पुष २२, २०८१
चार वर्षसम्म पनि बाजुराका बाढी पीडितले राहत पाएन, राज्य हालसम्म बेखबर

बाजुरा : चार वर्ष पहिला बुढीगंगा नदीमा आएको बाढीका पीडितहरुले राज्यबाट कुनै प्रकारको सहयोग नपाएपछि आक्रोशित बनेका छन् । चार वर्ष बितिसक्दा पनि पाउनु पर्ने र राज्यले दिनु पर्ने सहयोग नपाएको उनीहरुको दुखेसो छ । २०७७ साउन २५ गते राती बुढीगंगा नदीमा भिषण बाढी आएको थियो । 

बाढीले गौमुल गाउँपालिका र बडीमालिका नगरपालिका क्षेत्रका नदी किनारा बस्तीहरुमा ठूलो क्षति भयो । १ जनाको ज्यान गयो । १ सय ५० बढी परिवार विस्थापित बने । ३७ परिवारका घर नै बगाएर लग्यो र सयै रोपनी खेतवारी बगाएर क्षति पुग्यो ।

बाढी गएको पछिल्लो दिन तत्कालिन सरकारका गृहमन्त्री रामबहादुर थापा बादल सहीत टोली आएर प्रभावित क्षेत्रको स्थलगत अनुसन्धान समेत गर्यो । तत्काल उद्दार, राहत र सहयोगको कामका लागि बचन पनि दियो । 

तर चार वर्ष बिते, घरबार विहिन बनेका परिवारले राज्यबाटै कुनै प्रकारको राहत र सहयोग पाउन सकेका छैनन् । तत्कालिन प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेको पालामा क्षति विवरण संकलन गरियो । एक वर्षपछि पुष्करबहादुर खड्का प्रमुख जिल्ला अधिकारी हुँदा प्रति परिवारलाई ३५ हजार दिएर घर निर्माण गरिदिने आश्वासन दिएपनि अझै कुनै रकम पाउन सकेका छैन् ।

बाढीले बडीमालिका १, २, ३, ४ र ८ र ९ का ३७ परिवार पूर्णरुपमा विस्थापित बनेका थिए । उनीहरुलाई ५ लाख दिने सहमति गरिएको थियो । राज्यले मनसुनजन्य प्रकोपको क्षतिबाट घर क्षति पुगेका परिवारलाई हिमाली जिल्लाको हकमा ५ लाख दिने प्रावधान छ । राज्यले नीति कागजमा देखियो, तर कार्यान्वयन हुन सकेन् । चार वर्षको अवधीमा १४ बढी पटक पीडितहरु जिल्ला प्रशासन कार्यालय पुगिसकेका छन् । 

बडीमालिका-२ का वडा अध्यक्ष डम्मर महतले आफै पीडितलाई बोक्ने प्रशासन पुग्ने र गुनासा सुनाउने, आश्वासन सुन्ने र फर्किने काम भएको गुनासो गरे । सबै सिडीओ सावसँग भेट्ने, गुनासो गर्ने र फर्किने बाहेक उपलब्धी नभएको अध्यक्ष महतको भनाई छ । राज्यले पीडामा थप पीडा दिएको आक्रोश सहीत पीडितहरु जिल्ला प्रशासन कार्यालय घेराउ र धर्नाको तयारीमा छन् । 

सोमबार जिल्ला प्रशासन कार्यालय पुगेर पीडितहरुले प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायलाई फेरि आक्रोश पोखेर चेतावनी दिएका छन् । हप्तादिनभित्र पाउनु पर्ने रकम नपाए धर्ना बस्ने चेतावनी सहीत पीडितहरु फर्किएको बडीमालिका-८ का वडा अध्यक्ष चन्द्रबहादुर थापाले बताएका छन् । पीडितहरु पनि बडीमालिका २ र ८ नम्बर वडाका बढी छन् । 

स्थानीय ३७ परिवारले घर निर्माण गरिसकेका छन् । कसैले सहकारीमा ऋण निकालेका छन् । कोहीले सापटी मागेका छन् । तर कोहीले साहुलाई पैसा आउने आश्वासन सहीत उदारो मागेका छन् । घर निर्माण गरिसकेको पनि कसैका २ कसैका ३ वर्ष बढी भइसकेको छ । प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले घरको अनुगमन समेत गरिसकेको अवस्था छ । 

तर दिने भनिएको रकम दिन प्रशासन कार्यालय तयार छैन् । माथिबाटै नआएपछि दिन नसकिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले बताएका छन् । २०६७।७७ पछिको मात्रै मनसुन जन्य प्रकोपकै पीडितलाई दिनु पर्ने रकमको मात्रा नौ वटै पालिका गरेर १५ करोड बढी हुन आउँछ, तर मन्त्रालयले नपठाउँदा समस्या भएको अधिकारी पाध्यायको गुनासो छ ।

जिल्ला सबैजसो सर्वपक्षिय, सर्वदलिय र विपद व्यवस्थापन समितिको बैठकमा माग गर्ने, अनुरोध गर्ने सधैं निर्णय गर्ने गरिएको छ । क्षतिको विवरण, स्थानीय पीडितका नाम सहीतको खाता खोलाएर नम्बरहरु मन्त्रालयमा बुझाइ सक्दा पनि निकाशामा ढिलाई भएपछि पीडितहरुलाई दिन नसकिएको अधिकारी पाध्यायले बताएका छन् ।

चार वर्षबितिसक्दा पनि एक जना पीडितले राज्यले पाउने सुविधा, सहुलियत र सहयोग रकम नपाउनु दुखत विषय भएको बडीमालिका २ का वडा अध्यक्ष डम्मर महतले सुनाए । पीडित वडा कार्यालय आएरै घेर्छन्, अवस्था नाजुक छन् । उदारो दिने साहुले सताएको अवस्था छ । ऋणको व्याज थपिदै गएको स्थिति देखिन्छ, राज्यले सहयोगका नाममा सास्ती दिने र पीडितलाई थप पीडा दिए जस्तो व्यवाहार देखाएकोमा जनप्रतिनिधी पनि आक्रोशित छन् ।

३७ जनाका नाम सहीत बैक खाता नम्बर बुझाएको पनि २ वर्ष बित्यो । सरकारकै गृहमन्त्री हेलिकप्टर सहीत अनुगमनमा आएको र वास्तविकता देखिसकेको अवस्था समेत यतिसम्मको बेवास्ता र लापरवाहीले नागरिकलाई राज्यप्रतिको अविश्वास बढेको दुखेसो पीडित कर नाथको छ । 

पीडितहरु केही समय अरुको घरमा बसे । त्यसपछि कसैले टिनको टहरा बनाए, त केहीले गोठछाना रोजे । अवस्था सामान्य हुदै गयो, राज्यले ५ लाख दिने भएपछि घर निर्माण कार्य अघि बढाए । तर चार वर्षबितिसक्दा पनि राज्यको सहयोग आइपुगेको छैन्, यो भन्दा अर्को धोका र पीडा केही हुन सक्दैन्, भन्छन्, पीडित टेकबहादुर महत । 

घरवार विहिन बनेका अधिकांश पीडितहरुका कमाइ खाने खेत समेत बगाएर क्षति पुगेका छन् । बाससँगै गासको समेत ती परिवारका लागि समस्या छ । बाढी पीडित बनेपछि मात्रै जिल्ला प्रशासन कार्यालयमा ५ जना सिडिओ फेरिसकेका छन् । नगरपालिकाको पहिलो सरकार फेरिएर दोस्रो सरकार आइसकेको छ । तर आफ्ना समस्या र सवाल पुरानै रहेको दुखेसो अमरबहादुर महतको छ । 

जिल्ला प्रशासन कार्यालय यो समस्या देशभरीकै भन्दै पन्छिने गरेको देखिन्छ । प्रमुख जिल्ला अधिकारीले मात्रै चाहेर हुने विषय होइन्, अर्थ मन्त्रालय नै जिम्मेवार र जवाफदेही हुनु पर्ने हो । राज्य नै नागरिक प्रति गैर जिम्मेवार र समस्याको सारथी, पीडामा साथ दिने अभिभावक बन्न नसकेपछि नागरिक निराश हुनु बाहेकको विकल्प देखिदैन् । 

प्रतिक्रिया