बाजुरा : गौमुल गाउँपालिका वडा नं.६ को वडा स्तरीय प्रगति समीक्षा सम्पन्न भएको छ । वडा केन्द्रको घट्मुनामा आज भएको समीक्षामा साउँनदेखि हालसम्म सम्पादन गरेका विभिन्न गतिविधीहरु सार्वजनिक गरेको हो ।
गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाको प्रमुख आतिथ्यतामा सञ्चालन भएको समीक्षा कार्यक्रममा वडाध्यक्ष प्रकाश बहादुर रोकायाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । वडा कार्यालयबाट दिने सेवा सुविधाका बारेमा जानकारी, वडाभित्र सञ्चालित योजनाहरुको अवस्था, जनगुनासा सुन्न र आवश्यक योजना तयार गर्ने उद्देश्यसहित अर्धवार्षिक समीक्षा सञ्चालन गरिएको उनले बताए ।
प्रगति प्रतिवेदन सार्वजनिक गर्दै वडाध्यक्ष रोकायाले घटना आविको भवन निर्माणाधिन अवस्था, गैरीबाडा टोल, सालीकोट, बसाला टोलका बाटा मर्मत, वडामा विनियोजित बजेटको सामाजिक सहायता शिर्षकबाट उपचारका लागि र्मिगौला पीडितलाई २० हजार र क्यान्सर पीडितलाई २३ हजार उनका परिवारलाई उपलब्ध गरिएको बताएका छन् ।
त्यस्तै वडामा विभिन्न चाडवाडको अवसर पारी खेल क्षेत्रको विकास गर्न प्रतियोगितासहित महिला जागरणका विभिन्न कार्यक्रमहरु सञ्चालन, नवज्योति आविको भवन, देवस्थली आविको भवन निर्माण प्रक्रियामा र दडीपाटा घटाल मन्दिर पनि निर्माण प्रक्रिया तथा मनसुनजन्य विपद्बाट प्रभावित २५ घरपरिवारलाई राहत सामाग्री वितरण गरिएको बताएका छन् ।
वडाबाट ६ महिनाको अवधिमा नागरिकता सिफारिस ३० जना, अन्य विभिन्न सिफारिस १७५ जना, जन्मदर्ता २५ जना, मुत्युदर्ता ३ जना, विवाह दर्ता ५ जना, बसाईसराई २ जना, व्यक्तिगत घटना दर्ता ५ जना, सम्बन्ध विच्छेद १ जनाले सेवा लिएका छन् । भने सिफारिस तथा अन्य शिर्षकबाट ३२ हजार ८ सय ५० रुपैयाँ राजश्य संकलन वडाध्यक्ष रोकायाले बताएका छन् ।
त्यसैगरी वडाले आगामीक योजनाहरु समेत सार्वजनिक गरेको थियो । घट्मुना बसला टाडाँकोट हुँदै माझपाली जोड्ने सडक, घट्मुना सटेडा सडक, विपन्न तथा सीमान्कृत समुदायिका मानिसहरुलाई सीपमूलक तालिम दिईने, सीमधारमा माछापालन व्यवसाय गर्न आवश्यक पहल गर्ने, सुन्तला पकेट क्षेत्रका लागि सम्बन्धित निकायमा पहल गर्ने, माथि बसाला पर्यटकीय गन्तव्यको लागि पहल गर्ने आगामीक योजनामा राखिएका छन् ।
सालीकोटको नयाँ बस्तीमा खानेपानी तथा शौचालयको व्यवस्था गर्ने, विभिन्न हिंसाहरु अन्त्य गर्न संस्थासंग सहकार्य गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, वडाभित्रका महिला समूह, युवा क्लव, बाल क्लवलाई सक्रिय बनाउँने, स्वास्थ्य शिविर सञ्चालन गरिने, सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ताका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने समेत आगामीक योजनामा राखिएका छन् ।
वडाको अर्धवार्षिक समीक्षासंगै गाउँपालिकाले हालसम्म गरिरहेको कार्यको जानकारीसहित आगामी दिनमा गर्नुपर्ने कामहरु र नागरिकका सरकाप्रति जिज्ञासा, सुझाव सल्लाह, प्रतिक्रिया संकलन गर्ने उद्देश्यका साथ सबै वडामा सञ्चालन गरिएको अभियान सम्पन्न भएको छ ।
कार्यक्रममा सबै वडाका बासिन्दाले प्राय स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, विद्युत, सिचाईका क्षेत्रमा आफ्ना जिज्ञासा राखेका थिए । आजको अन्तरक्रियामा समेत सोही क्षेत्रका प्रश्नहरु राखिएका थिए । जवाफमा गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले गाउँपालिकामा विकास निर्माणका गतिविधी निरन्तर भईरहेका र थप समस्यालाई समाधान तर्फ लैजान आफूहरु प्रतिवद्ध रहेका बताएका छन् ।
गाउँ टोलमा सडक विस्तारदेखि बाकी रहेका विद्यालय भौतिक संरचना, ढल निकास, खानेपानी मर्मत लगायतका विकासमा आफू गम्भीर रुपमा लागिरहेको बताउँदै साना योजनाहरु विभिन्न संस्थासंग समन्वय, सहकार्य तथा साँझेदारी गरी समस्याको समाधान गर्ने बताएका छन् ।
घट्मुना हुँदै टाडाँकोट जोड्ने सडक कहिले निर्माण हुन्छ ? भन्ने नागरिकको प्रश्नमा अध्यक्ष रोकायाले सडक ४ वटा वडामा विस्तार भईसकेका तथा बाकी २ वडा कार्यालयलाई सडकको पहुँचमा जसरी भएपनि यस वर्षभित्रै जोड्ने र त्यसपछि गाउँ टोलमा सडक विस्तार गर्ने योजना रहेको बताएका छन् ।
सबै वडामा सडक विस्तारपछि घट्मुना–टाडाँकोट सडकलाई पहिलो प्राथमिकतामा राखेर निर्माण कार्य गर्ने बताएका छन् । सबै भन्दा पहिला सुधार गर्नुपर्ने क्षेत्रको पहिचान गरी त्यसलाई नै प्राथमिकरणमा राख्दै क्रमःस निर्माण कार्य गर्ने गरिएको उनले बताए ।
देशमा आर्थिक संकट निम्तिदै गएकाले गाउँपालिकामा आउँनुपर्ने बजेट काटिनु तथा पालिकामा भनेजति राजश्व संकलन नहुनू र दायित्व थपिदै जानुले विकास निर्माणका काम गर्न कठिनाई भईरहेको उनले बताएका छन् । जनताका थप आधारभूत आवश्यकताहरु सकेजति याे कार्यकालभित्रै पूरा गर्ने लक्ष्य रहेको उनको भनाइ थियाे ।
वडाध्यक्ष प्रकाश बहादुर रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथिमा गाउँपालिका अध्यक्ष हरि बहादुर रोकाया रहनुभएको थियो । भने अतिथिमा उपाध्यक्ष सीता थापा, वडा नं.५ का वडाध्यक्ष कलक सिंह, ४ का वडाध्यक्ष अमर बहादुर विक, नेकपा एमाले जिल्ला कमिटी सदस्य गिता रोकाया लगायत रहनुभएको थियो ।
वडा सचिव कमला रेग्मीले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्य, विद्यालयका प्रअ, विभिन्न संस्थाका प्रतिनिधि लगायत स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया