गाैमुल खबर डटकम बिहीबार २९, फागुन २०८१ ११:०८

भूकम्प प्रभावित क्षेत्रको यथार्थ तथ्याङ्क संकलन गरिने

भूकम्प प्रभावितलाई एकद्धारा प्रणालीबाट राहत र उद्दार
बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, पुष ०८, २०८१
भूकम्प प्रभावित क्षेत्रको यथार्थ तथ्याङ्क संकलन गरिने

बाजुरा : शनिबार बिहाना ४ बजेर १४ मिनेटमा गएको भूकम्पका कारण जिल्लाका केही ठाउँमा क्षति गरेको छ । बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकामा भूकम्प गएको हो । जगन्नाथ गाउँपालिका–५ गोत्री केन्द्रविन्दु बनाएर ५.२ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको थियो । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा विभिन्न तरिकाले भूकम्प प्रभावित क्षेत्रको तथ्याङ्क आएका कारण यथार्थ तथ्याङ्क संकलन गर्ने गरी टोली खटिने भएको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जगन्नाथ गाउँपालिकामा २,३,४ र ६ नम्बर वडाको आसपास र बुढीनन्दा नगरपालिका तथा स्वामीकार्तिक खापर लगायतका पालिकामा भएको क्षतिको यथार्थ तथ्याङ्क संकलनमा पूर्ण, आंशिक र सामान्य क्षतिको संख्या वडा, पालिका, नेपाल प्रहरी र रेडक्रसबाट यकिन गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलले बताएका छन् ।

बैठकमा भूकम्प प्रभावित क्षेत्रमा जिल्ला प्रशासन कार्यालयबाट ५० थान कम्मल र ५० थान त्रिपाल, रेडक्रसबाट ९ थान त्रिपाल जगन्नाथ गाउँपालिका मार्फत एकद्धारा प्रणालीबाट वितरण गर्ने, पूर्ण रुपमा क्षति भएका घरमा बस्नै नमिल्ने घरको संख्या एकिन भएपश्चात २०८० सालमा गएको जाजरकोट केन्द्रविन्दु भएर जिल्लामा भएको ठुलो क्षति भएकोले सोको लागि दोस्रो किस्तातर्फ शिर्षकमा रकम प्राप्त नभएमा ०८१ पुस ६ गतेको भूकम्पबाट प्रभावित भएकालाई तत्काल अस्थायी घर, टहरा निर्माणका लागि पहिलो किस्ता २५ हजार सोही रकमबाट उपलब्ध गराउने र थप मन्त्रालयमा माग गर्ने निर्णय भएको छ ।

जिल्लामा मनसुनजन्य र भूकम्पका कारण अन्य राहतका लागि पटक पटक मन्त्रालयमा माग गरेको भएपनि हालसम्म प्राप्त नभएकोले पुनः रकम माग गर्ने, जिल्लामा चिसो, हिमपात बढ्दै गएकोले गत पुस ६ गतेको भूकम्प प्रभावितलाई समेत राहत वितरण गर्नका लागि एकसय थान कम्मल र त्रिपाल माग गर्ने समेत निर्णय गरिएको मण्डलले बताएका छन् ।

त्यस्तै खप्तड छेडेदह गाउँपालिका–६ नाईनामा समयमै पहिरो रोकथाम नभएका कारण गाउँमा नै क्षति भई ठुलो विपद्पर्ने सम्भावना भएकाले पहिरो तत्काल रोकथामका लागि सडक डिभिजन कार्यालय र भौतिक पूर्वाधार कार्यालय साँफेबगरमा अनुरोध गर्ने निर्णय बैठकमा भएको छ ।

बैठकमा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया, बडीमालिका नगरपालिकाका उपप्रमुख नन्दा थापा, गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापा, खप्तड छेडेदह गाउँपालिकाका उपाध्यक्ष विशु नाथ, माओवादी केन्द्रका चन्द्र थापा, एकिकृत समाजवादीका जिल्ला अध्यक्ष पुर बहादुर रावत, सुरक्षा निकायका प्रमुख, रेडक्रस, सरकारी तथा गैर सरकारी कार्यालय प्रतिनिधि लगायत पत्रकारको सहभागीता रहेको थियो ।

प्रतिक्रिया