बाजुरा : गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले आर्थिक गतिविधीमा जोड दिन नागरिकलाई आग्रह गरेका छन् । वडा नं.५ को वार्षिक प्रगति समीक्षा कार्यक्रम तथा अन्तरक्रियामा सामाजिक रुपमा काम लाग्ने सबै विकास निर्माण कार्यहरु स्थानीय सरकाले गर्ने बताए ।
कार्यक्रममा अध्यक्ष रोकायाले स्वास्थ्य, शिक्षा, विद्युत, खानेपानी, सडक जस्ता आधारभूत आवश्यकताको विकास आज नभए भोली सरकार जसरी पनि पूरा गर्ने भएकाले त्यतातिर ध्यान नदिएर आफ्नो जीवनशैली परिवर्तन गर्न लाग्नुपर्ने बताएका छन् ।
आत्मनिर्भर बन्न आर्थिक गतिविधी हरेक परिवारबाट सुरुवात गनुपर्ने बताउँदै आलु, मसला, सीमि, जस्ता बाली र विभिन्न खालका फलफूलहरु उत्पादनलाई बढवा दिन र माटो सुवाउँदो बाली लगाउँन प्रत्येक घरपरिवारले सोच्ने बेला आएको बताएका छन् । त्यसका लागि विउँवीजन, माटो परीक्षण लगायतका सम्पूर्ण प्राविधिक कुराहरु गाउँपालिकाले गरिरहेको र गर्ने बताए ।
प्रतिफल दिने खालका कामहरु गर्न सुझाव दिँदै माटोमा के लागाउँदा उत्पादन वृद्धि हुन्छ भन्ने कुरा आफूहरुले सोचेपछि छिटो प्रतिफल दिनुका साथै छिटो आर्थिक गतिविधीमा जोडिन सहजता हुने बताएका छन् । पछिल्लो समय हरेक व्यक्ति अल्छि भएको बताउँदै अल्छी नहुन र गाउँपालिकालाई यो प्रकारको खेती गर्छु भनेर माग गरेपछि प्राविधीक र विउँ विजनको व्यवस्थापन पालिका गर्न तयार रहेको बताएका छन् । माटाे परीक्षण गरी कृषि क्षेत्रमा आत्मनिर्भर बनाउँन आम्दानी बढाउँने खालका विभिन्न कार्यक्रम सञ्चालन गरेपनि लगानी अनुसारको प्रतिफल आउन नसकेको बताए ।
भौतिक संरचना निर्माण बाहेकका कामहरु नागरिकले आफैले गर्नुपर्ने भएपनि गर्न नसकेको बताउँदै गाउँमै उद्योगहरु सञ्चालनमा जोड दिनुपर्ने बताए । गाउँपाकिालले हरेक वर्ष विभिन्न आत्मनिर्भरसहित आर्थिक रुपमा सम्पन्न बनाउँन तालिम सञ्चालन गरेको भएपनि परिणाम शुन्य देखिएको बताए । अब तालिमको सदुपयोग गरी व्यापार व्यवसायी तिर लाग्न सुझाव दिएका छन् ।
अबका मागहरु वडाका योजनाहरु छनोटमा उद्योग सञ्चालन गर्ने इच्छुक व्यक्तिहरुले मलाई यो प्रकारको प्रविधि चाहियो भनेर माग गर्न आग्रह गर्दै अध्यक्ष रोकायाले गाउँपालिकाको अबको लक्ष्य भनेको मानवीय विकास गर्न रहेकाले नीति निर्माण सहीत अगाडी बढ्ने बताएका छन् ।
अन्तरक्रियामा नागरिकले सडक, खानेपानी, ढल निकास जस्ता थुप्रै विकास निर्माण कार्यहरु हुनुपर्ने जिज्ञासा राखेका थिए । जवाफमा अध्यक्ष रोकायाले गाउँ टोलमा सडक विस्तारदेखि बाकी रहेका विद्यालय भौतिक संरचना, ढल निकास, खानेपानी मर्मत लगायतका विकासमा आफू गम्भीर रुपमा लागिरहेको बताएका छन् । विभिन्न संस्थासंग समन्वय, सहकार्य तथा साझेदारी गरी समस्याको समाधान गर्ने बचन दिएका छन् ।
सडक ४ वटा वडामा विस्तार भईसकेको बताउँदै अब बाकी २ वडामा सडक पहुँचमा जसरी भएपनि यस वर्षभित्रै जोड्ने बताउँदै त्यसपछि गाउँ टोलमा सडक विस्तार गर्ने योजना रहेको बताएका छन् । वडा नं.५ को कोट हुँदै अन्तर जिल्ला बझाङ जोड्ने सडक र टाडाँकोट हुँदै अर्को वडा जोड्ने सडकलाई पहिलो प्राथमिकतामा राख्ने उनको भनाइ छ ।
सबै भन्दा पहिला सुधार गर्नुपर्ने क्षेत्रको पहिचान गरी त्यसलाई नै प्राथमिकरणमा राख्दै क्रमःस निर्माण कार्य गर्ने गरिएको बताए । देशमा आर्थिक संकट निम्तिदै गएकाले गाउँपालिकामा आउँनुपर्ने बजेट काटिनु तथा पालिकामा भनेजति राजश्व संकलन नहुनू र दायित्व थपिदै जानुले विकास निर्माणका काम गर्न कठिनाई भईरहेको बताएका छन् ।
यसैबीच अन्तक्रिया कार्यक्रममा वडाको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै वडाध्यक्ष कलक बहादुर सिंहले वडाका विभिन्न गतिविधी नियमित भईरहेको बताएका छन् । वडामा कोट बाटो निर्माण, असनदेव मन्दिर निर्माण, सुरुफूले, पडीकोट बाटो मर्मत, चैत सिचाई कुलो मर्मत गरिएको उनले बताए ।
आन्तरिक शुल्क अन्र्तगत सेवा शुल्क १२ हजार, चरिचरन शुल्क ५० हजार ७ सय ५० रुपैयाँ राजश्व संकलन भएको र नागरिकता सिफारिस, विवाह दर्ता, जन्मदर्ता, नाता प्रमाणित र बालबालिका गरी ५७ जनाले सेवा लिएको वडाध्यक्ष सिंहले बताएका छन् ।
आगामीक दिनमा वडाको सेवालाई छिटो छरितो र सेवाग्राही मैत्री बनाउँने लक्ष्य रहेको उनको भनाई रहेको थियो । वडाध्यक्ष सिंहकै अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रमको प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकाया रहनुभएको थियो ।
गाउँपालिका जिन्सी शाखा प्रमुख गणेश बहादुुर रोकायाले सञ्चालन गर्नुभएको कार्यक्रममा वडा नं.४ का वडाध्यक्ष अमर बहादुर विक, नेकपा एमाले गौमुल गाउँ कमिटी अध्यक्ष मोहन रोकाया, कार्यपालिका सदस्य, वडा सदस्य, गाउँपालिकाका कर्मचारी लगायत स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।
प्रतिक्रिया