गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:४२
Dho

सुदूरपश्चिममा यसरी मिलाइँदैछ सुरक्षा व्यवस्था

गाैमुल खबर गाैमुल खबर
बिहीबार, बैशाख २२, २०७९
सुदूरपश्चिममा यसरी मिलाइँदैछ सुरक्षा व्यवस्था

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख मोहनकुमार आचार्य बुधबार बाजुरा जाँदै थिए। प्रदेशको निर्वाचन सुरक्षाको योजनाको निगरानी तथा अनुगमनका लागि डीआइजी आचार्य जिल्ला भ्रमणमा रहेका हुन्। उनी सुदूर पहाडका जिल्लाको सुरक्षाको अवस्था बुझ्न व्यस्त छन्। उनले  भने, ‘बाजुरा जाँदैछु। म सबै ठाउँ पुगेको छु। बझाङ, डडेल्धुरा, बैतडी, दार्चुला पुगे, आज म बाजुरा जाँदैछु। भोलि म दीपायल फर्किन्छु।’ उनी जिल्लाको प्रहरी नेतृत्वलाई सुरक्षा ब्रिफिङ्ग गर्न जिल्ला दौडमा रहेका हुन्। 

प्रदेशमा भयरहित वातावारणमा निर्वाचन गर्नका लागि तयारी तीब्र पारिएको हो। प्रदेशका ८८ वटै स्थानीय तहको निर्वाचनको सुरक्षा योजना पनि तयार पारिएको प्रदेश प्रहरी कार्यालयले बताएको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी निर्वाचन भयरहित वातावारणमा सम्पन्न गराउनका लागि खटिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता एसएसपी भोला रावलले बताए।

‘सुदूरपश्चिममा ९ वटा जिल्ला र ८८ वटा स्थानीय तह छन्,’ रावलले भने, ‘मतदान स्थल ११ सय ३७ र मतदान केन्द्र २१ सय तीन छन्। स्थानीय तह निर्वाचन विस्तृत सुरक्षा योजना बमोजिम प्रत्येक मतदान केन्द्रमा ६ हजार बढी नेपाल प्रहरी, १० हजार एक सय ६१ को संख्यामा म्यादी, प्रत्येक गाउँपालिकामा २ वटा मोबाईल र प्रत्येक जिल्ला प्रहरी कार्यालयमा दुई वटा रिजव टोलीको व्यवस्था गरिएको छ।’

प्रदेशमा संविधान र निर्वाचनको बिरोधी पार्टी तथा समूह नभएकाले सुरक्षा चुनौती नरहेको सुरक्षा अधिकारीले बताएका छन्। तर सम्भावित सुरक्षा जोखिमका लागि तयारी अवस्थामा रहेको सुरक्षा अधिकारीहरुको दाबी छ। प्रदेश प्रहरी प्रवक्ता रावलले भने, ‘भारतसँग जोडिएको जिल्लामा आवतजावत हुनसक्ने भएकाले, ४८ घण्टा अगाडि बोर्डर सिल गर्ने तयारी छ।’

यस्तै नेपाली सेना वैशाख १ गतेबाट स्थानीय तह निर्वाचन लक्षित सुरक्षामा छ। प्रहरी र म्यादी प्रहरी पहिलो सुरक्षा घेरा, सशस्त्र प्रहरी दोस्रो र सेना तेस्रो घेरामा हुने छ। सेनाले मतदानस्थलसँगै मतपेटीका ढुवानीको सुरक्षा दिनेछ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता एसएसपी रावलले राजनीतिक दलहरुसँग पनि सुरक्षाका लागि छलफल गरिएको बताए। मतदान सकिएपछि पनि नेपाली सेना, सशस्त्र प्रहरी सहितको सुरक्षा व्यवस्था हुने उनले बताए।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले वैशाख १ गतेबाट सेना परिचालन गरिएको बताए। ‘स्थानीय निर्वाचन २०७९ को एकीकृत सुरक्षा योजना, जुन गृह मन्त्रालयको संयोजगत्वमा केन्द्रबाट बनेको छ। त्यस्मा भएको व्यवस्थाअनुसार नेपाली सेनालाई दिएको जिम्मेवारीहरु हामीले बहन गर्दैछौ,’  सेनाका प्रवक्ता सिलवालले भने। 

चुनावका लागि राष्ट्रिपतिबाट चैत मासान्तमा सेना पचिालनको अनुमति प्राप्त भएको उनले बताए। 

सुदूरपश्चिम प्रदेशका ८८ पालिकामा प्रमुख, उपप्रमुख तथा ७ सय ३४ वडा अध्यक्ष र २ हजार ९३६ वडा सदस्य चयनका लागि वैशाख ३० मा निर्वाचन हुनेछ। त्यसका लागि प्रदेशका झण्डै साढे १६ लाखले मतदान गर्न पाउने छन्।

प्रतिक्रिया