बाजुरा : सुदूरपश्चिमको विकट पहाडी जिल्ला अछामको चौरपाटी गाउँपालिका–४ पायलस्थित पित्रेना गाउँमा जन्मिएका युवराज खत्री युएईमा हुन गइरहेको अन्डर १९ एसिया कपको लागि १५ सदस्य नेपाली टोलीमा आफ्नो स्थान बनाउँदै युएई पुगिसकेका छन्। सानैबाट निकै मेहनती र अनुशासित युवराजको बाल्यकाल निकै रोचक र संघर्षपूर्ण रहेको कुरा उनका दाइ जीवन खत्रीले बताए।
अछाम जस्तो विकट पहाडी जिल्लामा जन्मिएका युवराज सानैबाट मेहनती र लगनशील थिए। उनका बुवाले अछाममा गरेको क्रिकेटप्रतिको योगदान पनि स्मरणीय नै छ। त्यही प्रभाव र लगावसँगै युवराजले पनि आफ्नो क्रिकेट यात्रालाई दौडाइ रहे। उनको पुरै गाउँको क्रिकेटप्रतिको लगावले युवराजलाई सानैबाट क्रिकेट प्रेमी मात्रै बनाएन क्रिकेटमै भविष्य छ भन्ने विश्वाससहितको अभ्यास पनि दिलायो।
पहाडमा खेल मैदान र खेल्ने सामग्रीको अभावका कारण उनी आफ्ना दाइहरूसँग सानो पिपलको बोटमा पुरानो मोजाभित्र कागज भरेर बनाएको बल र जङ्गलबाट हातले बनाएर ल्याएका ब्याटले खेल्दै क्रिकेटमा रमाइ रहे र क्रिकेट जीवनको सुरुवात गरे। आज प्राप्त भएको सफलतामा तिनै मोजाका बलको सुगन्ध मगमगाई रहेको छ।
क्रिकेट बुझेको परिवार, क्रिकेटमा भविष्य खोजिरहेका युवराज र क्रिकेट र पढाइमा कुनलाई जोड दिने भन्ने अन्यौलता र छलफलकै बिच युवराजलाई क्रिकेट रोज्यो र उनी आठ वर्षको उमेरमै क्रिकेटलाई खाज्दै काठमाडौँ पुगे, जहाँ क्रिकेटले उनलाई पर्खिरहेको थियो।
अछाममा क्रिकेटको राम्रो विकास नभएको तथा राम्रो प्रशिक्षण गर्ने ठाउँ नभएकाले उनले सानै उमेरमा घरपरिवारलाई छोड्नु परेको थियो । काठमाडौँमा युवराजको क्रिकेट जीवन सङ्घर्षमा बित्यो । काठमाडौँ पुगेपछि एन्जल स्पोर्ट्समा क्रिकेट खेल्न भर्ना भए र पढाइको लागि तारकेश्वर स्थित मनमैजु भन्ने ठाउँमा रहेको एन्जल्स हार्ट स्कुलमा भर्ना भए।
पढाइमा अब्बल युवराज अन्य खेलमा पनि उत्कृष्ट
उनको खेल देखेर स्कुल र एकेडेमीले उनलाई राम्रो सपोर्ट गर्यो । बिहान स्कुल जाँदा स्कुल ड्रेस लगाएर झोलामा क्रिकेट खेल्ने ड्रेस बोकेर स्कुलबाटै एकेडेमी प्रशिक्षण गर्न जान्थे र बेलुकी कोठामा फर्किन्थे। सुरुमा दायाँ हाते ब्याट्सम्यान र दायाँ हातेमिडियम फास्ट बलिङबाट करियर सुरु गरेका युवराज पछि गएर दायाँ हाते लेग स्पिन बलर भए र दायाँ हाते ब्याट्सम्यान भए।
नेपाली स्टार ब्लर सन्दीप लामिछानेको जस्तै एक्सन हुँदाखेरि उनलाई सानैदेखि लिटिल स्यान्डी भनेर भन्थे । नेपाली बलर सन्दीप लामिछाने र भारतीय ब्याट्सम्यान विराट कोहलीलाई आफ्नो आइडल मान्ने युवराज सन्दिपको जस्तै बलिङ र विराटको जस्तै ब्याटिङ गर्ने इच्छाका साथ एकेडेमी पुग्थे।
उनका बुबा लोकेन्द्र खत्री, पूर्व नेपाली अन्डर १९ टिमका खेलाडी राजबिरसिंह, पूर्व नेपाली अन्डर १९ टिमका कप्तान तथा पूर्व नेपाली राष्ट्रिय खेलाडी राजु रिजाल र एन्जल स्पोर्ट्सका कोचहरूको प्रशिक्षणले युवराजको क्रिकेट राम्रो हुँदै गयो।
१३ वर्षको कलिलो उमेरमै युवराज काठमाडौँ जिल्लाको सिनियर टिममा, १४ वर्षको उमेरमा बागमती प्रदेशको अन्डर १५ टिमको कप्तान भन्न सफल भए। त्यसपछि १४ वर्षको उमेरमै सुदूरपश्चिमको सिनियर टिममा छनोट भए तर राष्ट्रिय क्रिकेट खेल्न १५ वर्ष पूरा भएको हुनुपर्ने आइसिसीको नयाँ नियमले उनले सुदूरपश्चिम प्रदेशको सिनियर टिमबाट उक्त प्रतियोगिता खेल्न पाएनन् त्यस लगत्तै भएको अन्डर १५ प्रतियोगितामा उपकप्तानसहित सुदूरपश्चिम टिममा पर्न सफल भए।
त्यस लगत्तै अन्डर १९ सुदूरपश्चिम टिममा पनि छनोट भए। उक्त प्रतियोगिता सुदूरपश्चिम प्रदेशले जितेको थियो। त्यसपछि डडेलधुरामा भएको अन्डर १९ क्षत्रिय खेलबाट राम्रो प्रदर्शन गरेर युवराज अर्कोपटक सुदूरपश्चिम प्रदेशको अन्डर नाइन्टिन टिममा छनोट भए।
हालै सुदूरपश्चिमले जितेको विराटनगरमा सम्पन्न अन्डर १५ राष्ट्रिय प्रतियोगितामा युवराजले ब्याट र बल दुबैबाट राम्रो प्रदर्शन गर्दै नेपाल अन्डर नाइन्टिन नेपाल टिमको १८ सदस्य टोलीमा आफ्नो स्थान बनाउन सफल भए।
त्यस लगत्तै १८ सदस्य टोलीलाई १५ सदस्य टोलीमा झार्दा युवराजले १५ जना भित्र आफूलाई उभ्याउन सफल भए। आठ वर्षदेखि क्रिकेट एकेडेमी भर्ना भएका युवराज हाल कक्षा १० मा अध्ययनरत गर्दै १७ वर्षका भएका छन्। उनी नेपाली अन्डर १९ टिमका कलिला खेलाडी पनि हुन्।
प्रतिक्रिया