गाैमुल खबर डटकम बुधबार १९, मङि्सर २०८१ ०३:०१

गौमुल-२ मा एकिकृत स्वास्थ्य शिविर सञ्चालन

प्रमित वि.क. प्रमित वि.क.
मङ्गलबार, मङि्सर १८, २०८१
गौमुल-२ मा एकिकृत स्वास्थ्य शिविर सञ्चालन

बाजुरा : गौमुल गाउँपालिका २ मा एकिकृत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा वडाको समन्वयमा मंगलबारदेखि निःशुल्क शिविर सञ्चालन गरिएको हो ।

निःशुल्क स्वास्थ्य शिविर सबै स्थानीयको पायक पर्ने मल्लोदुगुन स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख हरिशचन्द्र विकले जानकारी दिएका छन् । एकिकृत शिविरमा आँखा परीक्षणदेखि अन्य विभिन्न रोगहरुको उपचार सेवा प्रदान गरिने उनले बताए ।

विशेषज्ञ चिकित्सकद्धारा उपचार प्रदान गरिने शिविरको आज एक औपचारिक कार्यक्रमकाबीच वडाध्यक्ष देवबहादुर रोकायाले उद्घाटन गरेर सुरुवात गर्नुभएको हो । शिविरमा आज पहिलो दिन २ सय जना भन्दा बढीले सेवा लिएका छन् ।

जस मध्ये गर्भवती भिडियो एक्सरे ६ जना, खकार परीक्षण ४२ जना र ६१ जनाको आँखा परीक्षण गरिएको छ । घट्मुना आधारभूत अस्पतालका मेडिकल अधिकृत डाक्टर रामानुज हाथी र बाजुरा जिल्ला आँखा अस्पताल केन्द्रका डाक्टर अंकित बानियाँ लगायत स्वास्थ्यकर्मीको टोली उपचारमा खटिएको छ । 

दुर्गम गाउँबस्तीका अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, भौगोलिक कठिनाईका कारण सहजै रुपमा अस्पतालमा आएर स्वास्थ्य परीक्षण गर्न सक्ने अवस्था नभएकालाई लक्षित गरी गाउँमै सेवा दिएको वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता देवबहादुर रोकायाले बताएका छन् ।

गाउँमै शिविर बसेपछि सेवा लिने स्थानीयवासीको उपचारका लागि भिडभाड लागेको छ । दुर्गमका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गर्न गाउँपालिकाको पहलमा समय समयमा विभिन्न खालका निःशुल्क शिविर सञ्चालन गरिदै आएको उनले बताए ।

वडा नं.२ का स्थानीयले स्त्रीरोग सम्बन्धी चेकजाँच तथा उपचार, आँखा परीक्षण, भिडियो एक्सरे लगायत अन्य सामान्य स्वास्थ्य जाँच तथा उपचार सेवा पाएका छन् । साथै चिकित्सको सल्लाह अनुसार औषधी समेत वितरण गरिएको प्रवक्ता रोकायाले बताए ।

गाउँमै विशेषज्ञ चिकित्सक सहीतको निःशुल्क शिविर सञ्चालन गरिएपछि याहाँका नागरिकलाई निकै राहत मिलेको स्थानीयले बताएका छन् । मल्लोदुगून स्वास्थ्य केन्द्रमा आजबाट सुरु भएको शिविर भोलीसम्म सञ्चालन हुनेछ । 

सेवा लिन बाकी रहेका सम्पूर्ण नागरिकलाई घरआगनमै सहज स्वास्थ्य सेवा लिन वडाले अनुरोध समेत गरेको छ । भने शिविर मंसिर २० र २१ गते वडा नं.१ को अम्लिस आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालन गरिने बताईएको छ ।  

प्रतिक्रिया