बाजुरा : बडीमालिका नगरपालिकाले आफ्नो १० औं स्थापना दिवस भव्यताका साथ मनाएको छ । नगरपालिकाको रुपमा घोषणा भएको १० वर्ष पुरा भएको अवसर पारी स्थापना दिवस मनाएको हो । नौ वटै वडाका मौलिकता पहिचान झल्किने गरि साँस्कृतिक झाँकी र विद्यालय स्तरीय साँस्कृतिक कार्यक्रम सहीत दिवस मनाएको नगर प्रमुख अमर खड्काले बताएका छन् ।
बडीमालिका नगरपालिका २०७१ मंसिर १६ गते घोषणा गरिएको हो । सरकारले घोषणा गर्दा मार्तडी, जुगाडा र बुढीगंगा गाविसलाई समावेश गरेर नगरपालिका बनाएको थियो । जतिबेला राज्यले बडीमालिका सहीत ६१ वटा नगरपालिका थपेको थियो । बाजुरा जिल्लाको सदरमुकाम मार्तडी समेत यही नगरपालिकामा पर्ने गर्दछ ।
नगर प्रमुख अमर खड्काको अध्यक्षतामा स्थापना दिवस बनाइएको हो । जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले उद्घाटन गरेको दिवसमा सिंगो पालिकाको सँस्कृति, परम्परा, रितिरिवाज झल्किने प्रस्तुती प्रर्दशन गरिएको छ । भने विद्यालय स्तरीय नृत्य प्रतियोगीता पनि सञ्चालन गरिएको छ ।
नगरका पूर्व नगर प्रमुख पदम बडुवाल, उपप्रमुख कविता विष्ट, एमाले सचिव काँशी, विक, काँग्रेसका नेता गोपाल कार्की सहित दलका नेताहरु, पालिकाका जनप्रतिनिधी, कर्मचारीको पनि भव्य सहभागीता रहेको थियो । पालिकाले १० वर्ष पुरा गरेको अवसरमा सार्वजनिक विदा दिएरै दिवस मनाएको छ ।
नगरको समृद्धि र विकासको सपना सुनाउने र महशुस गराउने गरि दिवस आयोजना गरिएको नगर उपप्रमुख नन्दा कुमारी थापाले बताएकी छन् । थापाले स्वागत मन्तव्य सहित बडीमालिकाका समृद्धि सबैको सपना र संकल्प हुनपर्ने बताएकी छन् । नगर प्रमुख अमर खड्काले पनि बडीमालिका आत्मनिर्भर, स्वच्छ सफा र समृद्ध हुनुपर्ने योजना सहित अघि बढीरहेको बताएका छन् ।
नगरपालिकाको १० वर्षे यात्रामा तरकारी खेतीको आधुनिकरण, व्यवसायीक खेती, पर्यटन विकास, पशुपालनबाट राम्रो आम्दानी र स्वास्थ्य क्षेत्रमा प्राप्त सफलताले खुसी मिलेको नगर प्रमुख खड्काले बताएका छन् । प्रविधी मैत्री विकासमा पनि बडीमालिकाले राम्रो सफलता हाँसिल गरेको र मार्तडी बजारको आधुनिकरण, व्यवस्थित शहर, शैक्षिक सफलता र सबै वडा केन्द्रमा सडक सञ्जाल जोड्न पनि पालिका सफल भएको बडीमालिकाले प्रगतिमा देखाएको छ ।
भोटे सेलो, अनन्ते, गौरा, भुवा नाँच, लाखे, डेउडा, हरिनो सहितका झाँकीहरु प्रस्तुत गरिएको छ । सबै वडाबाट स्थानीयको व्यापक उपस्थिति सहित दिवस मनाइएको छ । पालिकाले आयोजना गरेको १० वर्षयताकै व्यापक उपस्थिति र भव्य कार्यक्रमको रुपमा दर्शकहरुले प्रतिक्रिया दिएका छन् ।
देउडा सहीतका प्रस्तुत गरिएका गीत मार्फत स्थानीयले अझै विकासको गति बढाउनु शुभेच्छा समेत दिएका छन् । दिवसकै अवसर पारी नगरको विकासमा योगदान गर्ने पत्रकार, शैक्षिक अभियान्ता, कर्मचारी, कलाकार र सफल उद्यमीलाई सम्मान गरिएको छ ।
शुभराज पाध्याय, प्रकाश थापा, बिमला पाध्याय, लक्ष्मीराज पाध्याय, मदन विक, केशे नाथ, सहितलाई सम्मान गरिएको छ । रमेश विकले सञ्चालन गरेको कार्यक्रम खुला मञ्च मार्तडीमा आयोजना गरिएको छ ।
प्रतिक्रिया