काठमाडौं : सुनको मूल्यमा ऐतिहासिक गिरावट आएको छ । सरकारले भन्सार दर ५० प्रतिशत घटाएसँगै नेपालमा मूल्य घटेको हो । अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य घटेपछि नेपालमा एकै दिन प्रतितोला १५ हजार ९ सय रुपैयाँ सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार प्रतितोला सुनको मूल्य १ लाख ६७ हजार २ रुपैयाँ तोकेको थियो ।
सोमबार घटेर प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । ‘मूल्य घट्नुको पहिलो कारण भन्सार दर नै हो, त्यसपछि अन्तर्राष्ट्रिय बजारभाउ । अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रतिऔंस सुन २७२६ अमेरिकी डलरमा कारोबार भएको थियो, सोमबार घटेर प्रतिऔंस २६७० डलरमा झर्यो,’ महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने, ‘त्यसैले नेपालमा पनि भारी गिरावट आएको हो ।’
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भन्सार दर २० प्रतिशतबाट १० प्रतिशत कायम गरेको थियो । नेपाल र भारतबीचको भन्सार दर एउटै बनाउन १० प्रतिशत गर्ने निर्णय भएको हो । आर्थिक वर्ष ०८१/८२ को बजेट भाषणबाट सरकारले भन्सार दर ५ प्रतिशत बढाएर २० प्रतिशत बनाएको थियो । तर व्यवसायीले भन्सार घटाउन माग गर्दै आएका थिए ।
केही महिनाअघि नेपाल सुनचाँदी व्यवसायी महासंघको प्रतिनिधिमण्डलले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँग भेटेर भन्सार दर समायोजन गर्न आग्रहसमेत गरेका थिए । अन्तर्राष्ट्रिय बजारमा मूल्य अझै अनिश्चित छ । भाउमा उतारचढाव भइरहेको छ । सोमबार राति १० बजे मूल्य थप घटेर प्रतिऔंस २६३२ अमेरिकी डलरमा कारोबार भइरहेको थियो ।
‘एकै दिन १५ हजार ९ सयले भाउ घट्दा ढिक्का सुन खरिद गर्न चाहने धेरै देखिएका छन्,’ महासंघका एक अधिकारीले भने, ‘व्यवसायीले महँगोमा किनेको सस्तोमा बेच्न चाहेका छैनन् ।’ नेपालमा वाणिज्य बैंकले मात्रै सुन आयात गर्ने अनुमति पाएका छन् । सुनको भाउले कीर्तिमानीमाथि कीर्तिमानी बनाएपछि बैंकहरूले थोरैथोरै आयात गरेका थिए ।
वाणिज्य बैंकहरूले तिहारताका ३२ किलो सुन आयात गरेका थिए । त्यस बेला व्यवसायीले महँगोमा खरिद गरेको सुन सोमबार सस्तोमा बिक्री गर्न चाहेनन् । ‘अब बैंकहरूले सुन आयात गरेपछि मात्रै बजार चलायमान हुन्छ, सर्वसाधारणलाई दिन सकिन्छ,’ ती व्यवसायीले भने ।
भाउ घटेपछि बैंकले पनि सुन आयातको प्रक्रिया थालेका छन् । उनीहरूले आयातको पालो लगाइदिन बैंकर संघलाई आग्रह गरेका छन् । ‘बैंकको सुन बिक्री नहुँदा बैंकहरूले आयात गर्न चाहेनन् । सस्तो भएपछि बैंकहरूले इच्छुक छन्, पालो लगाइदिन आग्रह गरेका छन्,’ संघले भनेको छ ।
प्रतिक्रिया