बाजुरा : साँफे मार्तडी सडकखण्ड अन्तर्गत जडाङ्गामा ३ वर्षदेखि थन्किएको बेलिब्रिज अन्ततः बुढीनन्दा नगरपालिकाको दानसाँगु खोलामा सारिने भएको छ ।
बेलिब्रिज दानसाँघु खोलामा जडान गर्ने गरी सर्भे गरिएको छ । सडक डिभिजन कार्यालय साँफेबगरबाट खटिएको प्राविधिक सहितको टोलीले बेलिब्रिज जडान गर्ने गरी सर्भेको काम सम्पन्न गरेको हो ।
मार्तडीदेखि कोल्टी सडकमा नियमित सवारी साधन चल्न लागेको एकदशक पुग्न लागेको छ ।हिउँदको समयमा नियमित कोल्टीसम्म यातायात सञ्चालन भएपनि वर्षातका ४ महिना दानसाँगु खोलामा पुल नहुँदा सवारी साधनहरु सञ्चालनमा कठिनाइ हुँदै आएको थियो ।
सडक डिभिजन कार्यालय अछामले जडाङ्गामा रहेको उक्त बेलिब्रिज पुललाई दानसाँगु खोलामा जडान गर्ने गरी पुल निर्माणका लागि सर्भे गरिएको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताएका छन ।
दानसाँगु खोलामा बेलिब्रिज जडानका लागि सर्भेको काम सम्पन्न भएको नगर प्रमुख बोहराले भने, यो वर्षभित्र जडान गर्ने गरी काम अगाडी बढाउने योजना छ ।
२०७७ सालको बाढीका कारण बेलिब्रिज बगाएपछि फेरि अर्को बेलिब्रिज जडान गरिएको थियो । बुढीगंगा नदिमा पक्की पुल निर्माण भएपछि बेलिब्रिज प्रयोग बिहिन बनेको छ ।
दानसाँघु खोलामा बेलिब्रिज पुल निर्माण सम्पन्न भएपछि पूर्वी उत्तरी क्षेत्रका ४ स्थानीय तह र छिमेकी जिल्ला मुगु र हुम्लाका नागरिकलाइ समेत सहज हुने भएको छ ।
प्रतिक्रिया